प्रोफेसनल कामको 'अनप्रोफेसनल' आग्रह


प्रसंग १ - डोजर इञ्जिनियरिङ्ग
--------------------------------

कुरो, सुरुबाटै सुरु गरौँ।
एस.एल.सी पछि I.E. पढ्न पोखरा लामाचौरको ईञ्जिनियरिङ्ग क्याम्पस भर्ना भएको थिएँ। बिषय थियो 'ईलेक्ट्रोनिक्स'। पढाई सुरु भएको थिएन। तर भर्ना गरेदेखि नै आफूलाई हल्का 'ईन्जिनियर फ़िलिङ्ग' आईसकेको थियो। ई वाज अलमोस्ट यान इन्जिनियर। 
पोखरा पढ्न थालेको बर्षदिन जस्तोमा जाडो बिदा पारेर घर आएको थिएँ। गाउँमा बाटो बन्ने भयो। बुलडोजर चल्यो। त्यत्रा बडे बडे ढिस्का डोजरले सम्मै पार्यो। घरजत्रो भाँडो भिर भिरै कुद्यो। चिलाउनेका रुख, कटुसका झाडी स्वाहा पार्यो। दुनियाँ चकित! चौतारामा तास खेलेर बिताउने टोलि, पँधेरामा गफ गरेर बिताउने जमात, केटाकेटी, बुढाखाडा, सबैको नयाँ दिनचर्या सुरु भयो-  दिनभरी डोजरले बाटो खनेको हेर्ने। डोजरको ड्राईभर नयाँ सेलिब्रेटी थियो। 


एक बिहान गाउँका भद्र भालाद्मीहरु चौतारामा भेला भएका थिए। ठ्याक्कै के मुद्दाको छिनोफानो गर्न भेला भएका थिए, बिर्सिएँ। अनेकथरि प्रसंगबिचमा यत्तिकैमा कसैले फ्याट्ट भन्यो - "ल, बल्ल हाम्रो गाउँको इन्जिनियर आयो, केटो तगडा छ। लौ लौ भन, यो बाटो कत्तिको मिलेको छ?"। 

बुढाहरुको गफ सुन्न हुलमुलमा पस्ने बित्तिकै जिम्मेवारी लगाईदिए, म जिल्ल परें। न आफ्नो बिषय, न सामान्य आईडिया। "काका, बाटो नाप्न त जिल्लाका ओभरसियर छँदै छन् नि, म त इलेक्ट्रोनिक्सको मान्छे, भर्खर I.E फर्स्ट ईयर….", मधुरो स्वरमा यत्ति भन्दै थिएँ, फेरी अर्को प्रश्न आयो - "अब कताबाट बाटो लाँदा राम्रो हुन्छ, लौ सर्बे गर त।" 
वरिपरि हेरें, सबैका आँखा मै तिर छन्। ठुलो प्रेसर पर्यो आफ्नो क्षमतामाथी। अब के गरौँ? जे त पर्ला भनेर मुख फोरें- "काका मेरो बिषय यो होईन। मेरो ईलेक्ट्रोनिक्स हो।" एकै सासमा भनें। माहौल फेरी शान्त भयो। प्रश्नको अपेक्षित उत्तर पाएनन। मलाई आफ्नो इज्जत जोगाउनु पनि थियो। सिधै 'आउँदैन' भन्नलाई क्षमता पनि थिएन। निधारबाट पसिना आउला आउला जस्तो भयो। आफूसंग असम्बन्धित कुरो मलाई आउँदैन  भनेर स्विकार्नु हाम्रो 'जिन'मै थिएन। सिभिल पढ्ने साथीहरुले थियोडोलाईट बोकेर हिंडेको देखेको थिएँ। अब हल्का त्यसकै गफ दिउँ जस्तो लाग्यो, तर खासै कन्फ़िडेन्स आएन।

 "अनि इन्जिनियर पढेर यत्ति भन्न सौदैनस त जेठा?" गाउँका अर्का भलाद्मीले प्रश्न झोसे। अब भने सबैको नजरमा मेरो इन्जिनियरिङ्ग पढाई सुलीमा चढ्ला जस्तो भयो। के को इलेक्ट्रोनिक्स, के को सिभिल, के को कम्प्युटर, 'सल्यानटार सम्मै' थियो। 
"ए.…. के काम लाग्यो त नि खै तैंले इन्जिनेर पढेको? बरु त्यो डोजरको डाइबरले राम्रो पढेछ। छेउकुना मिलाएर त्यत्रो मिसिन घरर चलाउन जानेको छ। तँ त स्कुलमा मात्र फर्स्ट-ब्वाई रैछस", उनले घोर निराशा प्रकट गरे। उनकै समर्थनमा अरु दुइ-चार थान टाउका हल्लिए। मैले डोजरको ड्राइभर, इलेक्ट्रोनिक्स र सिभिलको फरक छुट्याउन प्रयत्न गर्न थालें, तर म भुरोको कुरा त्यस उपरान्त खासै सुनुवाई भएन। एकजना भारतीय पेन्सन थाप्ने काकाले 'हुन त इन्जिनियरका पनि धेरै हाँगा हुन्छन है' भन्न खोज्दै थिए, त्यत्तिकैमा डोजर ड्राइभरको साथी (सायद त्यो बेलाको असिस्टेन्ट हुनपर्छ) आईपुग्यो र सबै उतैतिर झुम्मिए। 
"लामा सरको खाना खाने टाईम हुन आँट्यो, कुखुरो खोज्नपर्ने भयो", उसले महत्वपूर्ण सुचना जारी गर्यो। वडाका गन्यमान्य र हर्ताकर्ता कुखुरो खोज्न लागे। ड्राइभरलाई 'सर' भनेको पहिलोपल्ट त्यहिबेला सुनें। भेला तितरबितर भयो। एकजना बुढा हजुरबुबाले आफ्नो टेक्ने लौरो डोजरतिर सोझ्याउँदै भने- "बडा यत्रा कुरा गर्छौ, हेरी ऊ.…. त्यस्तो पढाई पढ्नपर्छ, छोरो भएर जन्मेपछि।" 

आफुलाई भने त्यत्रो मान पाईने 'डोजर इन्जिनियारिङ्ग' नपढेर जाबो इलेक्ट्रोनिक्स पढेकोमा ठुलो ग्लानि भयो।    

 * * *       


(प्रसंग-२ चाहिँ कम्प्युटर इन्जीनियरिङ्ग पढ्ने त्यस्ता साथीहरुमा समर्पित रहेनछ जसका आफन्तले हरेकपल्ट उनीहरुको घर पस्दा "यो कम्प्युटर अलि छिटो चल्ने बनाइदे" भनेर हैरान पार्छन) 

धर्मको कुरा, शर्मको कुरा

सधैँको जस्तो एउटा साधारण दिन थियो। हतार हतार ट्रेन समात्नु अनि केही स्टेसन पर ओर्लिएर अर्को बस समात्नु। त्यसपछि झन्डै १० मिनेट हिँड्नु। यत्ति गरे पछि कार्यस्थल पुगिन्छ। 'कार्यालय' भन्न मेरो नेपाली 'माईण्डसेट'ले दिँदैन। किनकी घुम्ने कुर्ची पछाडी मैलो तौलिया झुन्ड्याएको छैन। पहिलो कुरो त कुर्ची नै छैन। खैर, म अहिले ट्रेनको आरामदायी सिटमा छु।
'म भर्खर ट्रेन चढेँ, अब केही बेरमा काममा पुग्छु, खाजा बाहिरै खाएँ' लगायतको पछिल्लो विवरण श्रीमतीलाई फोनमा पेश गर्दै थिएँ। आफूतिर फर्केको अघिल्लो सिटमा दुई जवान आएर बसे। खासै नोटिस गर्नुपर्ने केही छैन। वास्तवमा यात्रा गर्दा कसैको आँखा तिर झुक्किएर हेरेमा तुरुन्तै अन्त मोड्ने चलन छ। सबै भन्दा सभ्य तरिका भनेको गाडीमा चढ्ने बित्तिकै दायाँबायाँ नहेरी कुनै काम नभए पनि मोबाईल झिकेर घोसेमुन्टो लगाउनु हो। विदेश आएर सिकेको पहिलो 'सो कल्ड' सभ्यता यहि हो मैले फोन राख्ने बित्तिकै यूट्युब खोलेँ। हेडफोन लगाएँ। गोपाल योन्जनले आफ्नो पछिल्लो अन्तरा गाउनै लागेका थिए, सामुन्ने मुख फर्काएर बसेका एक जवानले अघिदेखि म तिर इशारा गर्दै केही भनिरहे जस्तो लाग्यो। त्यसपछिको वार्तालाप जस्ताको त्यस्तै-  
"एक्स क्युज मी, मलाई केही भन्नुभएको हो?"
"हो, तपाईंलाई नै हो। तपाईंसंग केही समय छ भने हामी तपाईंलाई परमेश्वरको शुभ समाचार सुनाउन चाहन्छौं।"
मैले एकछिन गम खाएँ। त्यस्तो कुन समाचार रहेछ परमेश्वरले मलाई सुनाउन बाँकी? सम्पूर्ण मानिसका पाप सँगालेर मुक्ति दिन प्रभु यशु उहिल्यै क्रसमा टाँगिएका हुन्। मैले केही सोध्नुअघि उसैले सोध्यो-
"तपाईंलाई जिजस क्राइष्टको बारेमा थाहा छ?"
"तपाईंलाई जत्ति त नहोला, तर उहाँको बारेमा मलाई आवश्यक पर्ने जत्ति चाहिँ थाहा छ।" मैले बिस्तारै वरिपरि हेरेर जबाफ दिएँ। 


"त्यसोभए उहाँ किन क्रसमा चढ्नुभयो भन्ने थाहा होला, हैन?"  
"क्रसमा उँहामात्रै होइन, अरू पनि चढेका हुन्। त्यो बेला शाषकले भनेको नमान्ने सबैलाई त्यस्तै सजाय हुन्थ्यो। तर जिजस चाहिँ सम्पूर्ण मान्छेको मुक्तिको लागि चढे भनेर बाइबलमा लेखेको छ।"  

"तपाईंले बाइबल पढ्नुभएको छ?", उसले शंका मिश्रित भावमा आँखीभौं उचाल्दै सोध्यो।
"पढेको छु। 'भर्स'हरु कण्ठस्थ त आउँदैन, तर जम्माजम्मी कथाको सार जान्दछु।"
"तपाईं कुन देशबाट आउनुभएको र कुन धर्म मान्नुहुन्छ?", उसले ठाडो प्रश्न सोध्यो। प्राय मिसिनरीहरु ज्यादै नरम रुपमा प्रस्तुत हुन्थे 
"म नेपालबाट हो, र धर्मका बारेमा म भन्न चाहन्न, व्यक्तिगत गोपनीयताको कुरो हो।"

"ल ठिकै छ, तर धेरैजसो नेपाली हिन्दु हुन्छन्। मैले फिनल्याण्डमा भएको आधा नेपालीसँग कुरा गरिसकेको छु। हिन्दु भएपनि सबैले जिजसलाई महान भगवान मान्छन्। कतिले त 'बुबा आमाको करले हिन्दू संस्कार मानेको हुँ, क्रिश्चियन बन्ने सोच्दै छु' समेत भनेका छन्।"

"ए... धेरै राम्रो, नेपालीलाई राम्रोसँग चिन्नुभएछ।" मैले हाँस्दै भनेँ। (हाँस्न मन लागेर होइन, वार्तालाप नराम्रो सुनिएला भनेर)। हेर्नुस, ईतिहासमा कयौं राम्रा मान्छेहरू जन्मिएका थिए, तिमध्ये एक जिजस हुन्। समाजको लागि राम्रो गरे होलान्| तर अब उनको फुलबुट्टासहितको कथा तपाईंले यसबेला 'पि-ट्रेन'मा मलाई पढाएर खास उपलब्धि छैन। राम्रो काम गर्नेहरुलाई म नमन गर्छु। कथम कदाचित कुनै दिन, मलाई उनको बारेमा थप कुरा जान्न मन लागेछ भने, म गुगल गरौंला, त्यहाँ अथाह जानकारी छन्।"  
"त्यो त हो।" केटो फिस्स हाँस्यो।(मलाई थाहा छ, उसलाई पनि रमाईलो लागेर होइन)

चाहेको भए वार्तालाप यहीँ टुंगिन सक्थ्यो। तर म ओर्लिने स्टप आउन अँझै केही समय बाँकी थियो। गोपाल योन्जनलाई सुन्न नदिएको झोँक उतारौं भन्ने लाग्यो। 'चल भाइ अब मेरी वारि' भन्ने स्टाइलमा सुरु गरें-
"तपाईंहरु दुबैजना फिनिश हो?"
"होईन, म चाहिँ अमेरिकन हो, ऊ फिनिश हो।" अर्को साथीको सट्टा पनि उसैले बोल्यो। सुरु देखिनै चुपचाप बसेर छेउको फिनिश केटोले आफ्नो जात त जनाईसकेको थियो। ट्याउँ ट्याउँ बोल्ने चाहिँ अमेरिकन रहेछ।
"अनि कहिलेदेखि यो धर्म प्रचारको काममा लाग्नुभएको? यो जागिर हो कि स्वयंसेवा मात्रै?"
"हाई स्कूल सकेर म यसमै फुल-टाईम लागेको हुँ। जिजसको सन्देश विश्वभरि फैलाउन प्रभुले मलाई चुन्नुभएको छ। संसारको धेरै देशमा पुगेर यो पवित्र काम सम्पन्न गरेको छु, अँझै गरिरहने छु।"
"अनि विभिन्न देश चाहार्दा प्लेन टिकट, होटेल खर्च, आदि कसले व्यहोर्छ? मिसनरीमा पैसा कसरी आउँछ, थाहा छ?"
"प्रभुले पुर्याउनुहुन्छ।"
"अच्छा, यसमा थप अरू केही टिप्पणी गर्दिन। तर एउटा कुरा बताउनुस, तपाईंलाई अहिले कुनै अर्को धर्मको प्रचारक आएर अल्लाहको, श्रीकृष्णको, वा अरू कसैको गुणगान गायो र धर्म परिवर्तन गर भन्यो भने कस्तो लाग्छ?"
यसको उसले ठोस उत्तर दिएन। बरु कुरा घुमाएर उनीहरू पनि राम्रो मान्छे होलान्, सम्मान गर्छु भन्यो। अल्लाह उसले सुनेको रहेछ, श्री कृष्ण भन्न जानेन।
"यि सि-किस्न भनेका को हुन्?" मुस्लिम धर्मकै कोही होलान् भनेर डराई डराई भन्यो।
"हेर्नुस, म एउटा देशबाट, एउटा धर्मबाट आएको मान्छे, तर पनि अर्को देशका बारेमा, धर्मका बारेमा सामान्य जानकारी राख्छु। तर तपाईं एउटा किताब घोकेर त्यही साँचो हो भनेर संसारलाई सिकाउन हिँड्नु भएको छ। कमसेकम अरू धर्मका सामान्य जानकारी लिनुस। तर्क दिन पनि काम लाग्छ। खैर, तपाईंको यो पेशा राम्रो रहोस्। शुभकामना छ।"
यत्ति भनेर आफ्नो स्टेसनमा म ओर्लिन तयार भएँ। उसले अनुहार रातो बनायो। करिब ३० सेकेन्ड जति माहोल 'पज' भयो। यसलाई राम्रो सबक सिकाएँ भनेर दंग पर्दै म ट्रेनको ढोकानेर पुगेँ।
(यो घटना विवरण यत्तिकै सक्न पनि सकिन्थ्यो। धर्मको कुरो गरिहालियो, अन्तिमको शर्मको कुरो नलेखी पुरा हुँदैन)


बाहिर हेर्छु त अर्कै स्टेसन पो छ। त्यसलाई लेक्चर दिने चक्करमा एउटा स्टप काटेर आईसकिएछ। काममा ढिला हुने भईयो। मेरो अनुहार रातो भयो। मैले फेरी उल्टो जाने ट्रेन लिएँ। ति दुई केटाहरुले आशा छ, बाइबल झोलामा राखेर आफू ओर्लिने सहि स्टेसन याद गरे होलान्।           

"राजनीतिमा लाग्नुस, पछुताउनु हुन्न"।

"दाइ नमस्ते, सन्चै हुनुहुन्छ?"
धेरै पहिलेदेखिनै चिनजान भएझैं कसैले फेसबुकमा सोध्यो। "दाइ खाना खानु भयो? के छ हालखबर?" यस्ता थप म्यासेज अईरहे। नाम बिशाल गुरुङ। यो नामको मेरो कोहि साथी थिएन। नचिने पनि किन रुखो हुनु। तर पनि सकेसम्म एक-एक शब्दको उत्तर फर्काईरहें। म घरमै खाना बनाउँदै थिएँ। धेरैबेर सम्म उसको म्यासेज आएन।
"दाइ, हामी त बिजोग छौं दाइ।" खाना खाईसक्न लाग्दा फेरी उसको म्यासेज देखापर्यो।  
जसरि मान्छे आत्तिएको बेला स्वर कम्पन हुन्छ, उसका शब्द त्यस्तै थिए।
"किन के भयो र?"
"बुझ्दै नबुझी रसिया आईयो दाइ, बिजोग भयो यहाँ। काम छैन, खर्च सकियो। कुकुरको जुनी भएको छ।"
म आबद्द समाजसेवी संस्थाको पेज होस् या आफ्नो व्यक्तिगत फेसबुक, यस्ता म्यासेजहरु बारम्बार अईरहन्थे। गए बर्ष मात्रै सयौं नेपाली अबैधानिक तवरबाट युरोप छिरेर "असाईलम" आबेदन गरेका थिए। ति देशका सरकारले धेरैलाई 'शरणार्थी मान्यता दिन नसकिने' भन्दै फिर्ता पनि पठाईदिएको थियो। यो क्रम फाट्टफुट्ट अँझै देखिएको छ। त्यहि मेसोमा कति नेपाली साथीभाइले 'लुकेर बस्ने ब्यबस्था मिलाउन सकिन्न?' भन्ने आसयको म्यासेज पठाउँथे। त्यस्तै मध्ये कोहि होलान। टाईप गरेर कति सम्झाउनु भनेर "भाइ, कल गर्नुस" भनें।
"नेपालबाट रसिया कसरि आईपुग्नुभयो? मेनपावरबाट हो?"
"दाइ ठ्याक्कै १५ लाख खर्च भएको छ यहाँ आउन।"
सबैभन्दा मुख्य कुरो पैसाको थियो, उसले पहिला त्यहि सुनायो।
"मेनपावरबाट होइन दाइ। मेरो काठमाण्डौमा एकजना एकदम मिल्ने दाइ हुनुहुन्थ्यो। एकदमै माइ-डियर दाइ। आम्मा कसम खान सक्छु, मलाई कहिल्यै नराम्रो सोच्न सक्नुहुन्न उहाँले। तर मलाई यहाँ ल्याउने त्यो दाइको साथीले हो। दाइको साथी मस्कोमा रहेछ। महिनाको ८० हजार हुन्छ भन्यो। आउन त 'वार्किङ भिषा' मै आएको नि। काम सुरु गरेपछी बस्नलाई फ्ल्याटनै दिन्छ भन्यो। हिउँ परेको बेला बिदा हुन्छ भन्यो। अँझ दाइ त्यसले त २-४ बर्षमा यहिँको खैरेनी केटि बिहे गर्न मिल्छ भन्यो।" प्रसंग अघिपछि केहि हिसाब नगरेर उसले एकै सासमा सुनायो|
"अनि रसियन एम्बेसीमा के भनेर भिषा लाग्यो त? केहि सोधेन?"
"तिनीहरुको सबै सेटिंङ हुँदोरहेछ। नक्कली कम्पनि, नक्कली कर्मचारी, नक्कली छाप, सब चिज नक्कली। काठमाण्डौको रसियन दुताबासले एक शब्द पनि नसोधी भिषा दियो। भिषा लागेको दिन १५ हजारको पार्टी गरें दाइ। उँड्ने दिन एयरपोर्टमा तिनीहरुको एजेन्टले 'तिमिहरुको त अब लाईफ बनिहाल्यो, हामीलाई यसो चिया खाजा' भन्दै ५/५ हजार मागे। लौ त नि, डलर छापिहालिन्छ, यो नाथे ५ हजारको के लोभ भनेर खुसि खुसि तिनीहरुको खल्तीमा हालियो।
अहिले सम्झिंदा हाँसो लाग्छ, दुखको खाडलमा जाक्किन जाँदा पनि टिप्स र बक्सिस दिंदै पो आएछौँ।"
म हाँसे, उ पनि फिस्स हाँस्यो।

"आफू कुन ठाउँमा जाँदै छु, पछि काम कस्तो पाईन्छ, केहि बुझ्नुभएन?"
"तिनीहरुको एजेन्टले भनेको बिश्वास गर्न परिहाल्यो, हामीले कसरि बुझ्ने विदेशको कुरो दाइ।" उसले बडो बालसुलभ स्वरमा भन्यो।
मलाई अलिकति झोंक चल्यो, थोरै कड्किदै सोधें- "तपाइँलाई फेसबुक चलाउन आउँछ?"
"किन नआउनु दाइ यो जाबो फेसबुक, भाईबर, ट्वीटर, जम्मै चलाउन आउँछ। आइ.ए. सम्म त पढेको छु नि।"
"अनि इन्टरनेट खोलेर सबै गर्न आउँदो रहेछ, आफू कहाँ जाँदै छु, त्यहाँको कुन कम्पनि हो, त्यसको वेबसाईट मागेर हेर्न जान्नुभएन? दुताबासमा भिषा एप्लाई गर्दा काम, बस्ने ठाउँ, इन्सुरेन्स, सबै कुरो खुलाएको हुन्छ त।"
"कहाँ त्यस्तो झन्झट गरियो र, आफ्नै हितैषी ब्रदरले ओके भनेपछि ओके भनेर झ्याप्पै हिंडीयो नि! रसियाको राजधानी शहर हो, ठाउँ एकदम राम्रो छ। काम टन्न पाईन्छ। लगभग युरोप जस्तै हो, अलि अलि जाडो हुन्छ भनेको थियो उताबाट।"


अब मलाई रिसाउन नि मन लागेन। युरोपकै धेरै देशमा उच्च शिक्षा हासिल गर्न आउनेहरुले त झन्झट नहोस भनेर कन्सल्ट्यान्सीलाई झन्डै एक लाख बुझाउँछन्। जसको काम भनेको नयाँ ईमेल एकाउन्ट खोलेर युनिभर्सिटीमा ईमेल पठाउने मात्रै हो। सबै कुरो त वेबसाईटमा स्पष्ट उल्लेख हुन्छ। अधिकांस समय फेसबुकमा झुन्डिने, अंग्रेजी गीतको चार्ट अपडेट भइरहनेलाई त 'फर्स्ट ह्याण्ड इन्फर्मेसन' खोज्न जाँगर चल्दैन। 'वर्किङ्ग भिषा'मा जाने साथीभाइलाई कसरि मेसो रहोस।
"अनि अहिले कस्तो अवस्था छ त?"
"अवस्थाको कुरै नगर्नुस, हामी जस्तो त यहाँ झन्डै हजार-१२ सय रहेछन। एकदम थोत्रो बिल्डिङको अँध्यारो कोठामा राखेको छ। सानो कोठामा हामी ९ जना बस्छौं। त्यो एजेन्टले एयरपोर्टबाट ल्याएर यहाँ छोडेदेखि देखा परेको छैन। रसियनहरु पनि मिलेका हुँदा रहेछन।
आपत पर्दा नेपाली साथीभाइ गुहार्ने हो। धेरै दाइहरुले हाम्रो समस्या सुन्छन, अनि काम चाहिन्छ भने अलिकति खर्च गर्नुपर्छ भन्छन। काम मिलाइदिन्छु भन्ने नेपाली दलाल गल्लिगल्लिमा हुँदारहेछन। नयाँ नेपाली अलपत्र परेको छ भन्ने थाहा पाउने बित्तिकै वरिपरि घुम्ने, अनि 'सब मिलाईदिन्छु' भन्दै उल्टै पैसा माग्ने। उता फेरी रसियन पुलिसले देख्यो कि दुख दिन खोज्छ। हरेक पल्ट ४-५ हजार रुबल (करिब ८ हजार रुपैंया) घुस नखाई छोड्दैन। नेपालबाट ल्याएको खर्च सकियो। काम खोज्न भाषा आउँदैन। बल्ल बल्ल एक ठाउँमा इन्डियनको पसल रहेछ। अनेकौं बिन्तिभाउ गरेपछि काम दियो। दिनभरि काम गरेपछि बेलुका त २ प्याकेट पाउरोटी दिएर यहि हो तेरो ज्याला भन्यो। बढी बोलिस भने पुलिस बोलाईदिन्छु भन्यो, उपाए केहि नदेखेपछि मनमा राँको बालेर चुपचाप त्यहि २ प्याकेट लिएर गईयो।
यताबाट अब पोर्चुगल भाग्न मिल्छ, स्विडेन गए मोज हुन्छ, लाट्भिया त काईदा छ, भन्नेजस्ता हल्ला बिहान बेलुकै साथीहरु सुनाउँछन्। कहिले पोर्चुगलको कार्ड मिलाईदिन्छु, कहिले स्पेनको कार्ड मिलाईदिन्छु भन्दै अनेकौं नेपाली देखापर्छन, रसियन मुस्तण्डेका साथमा। खै, कहाँ गए गजब हुने हो, कुन बिरानो मुलुक पसे मोज हुने हो, मेसोमेलो आएको छैन। आफ्नै घरको भात खाएर 'गम्छा हालेको कुर्चीमा' बस्ने सहकारीको जागिर छोडेर आईयो, अब त दिनको एक पल्ट त्यहि भात मात्रै खान पाए नि हुन्थ्यो झैं लाग्छ।"
दुखको पोको फुकायो उसले।
"भाइ त्यसरी भागेर अरु देश पस्ने आईडिया चाहिँ नगर्नुहोला। युरोपमा यसै त शरणार्थी समस्याले नियम झन् कडा गर्दैछ, त्यसमा पनि भोकै, प्यासै यो चिसोमा भागेर हिंड्दा बाटोमै कतिको मृत्यु भएको छ। हावा, पानी, वाताबरण फरक छ। कति जना रोगि भएर फर्केका छन्। अघिल्लो महिनामात्रै एकजना नेपालीको मृत्यु भएर नेपालमा लाश फर्काउन चन्दा उठाउनु पर्यो। मृत्युको कारण अज्ञात भनिएको छ। नेपाली दाजुभाइलाई त्यो अबस्थामा देख्दा दुख्ख लाग्छ। नेपालका परिवार सम्झिनुस, आफूलाई मायाँ गर्नेहरु सम्झिनुस। बैधानिक बाटोबाट विदेश जाँदा धेरै सजिलो हुन्छ। अर्काको देशमा बिहान बेलुका लुकेर हिंड्ने, लुकेर काम गर्ने गरेर कति पैसा जोगिन्छ होला र! जुन दिन फेला पार्छ, त्यहि बेला डिपोर्ट हान्दिन्छ।
बैधानिक तरिकामा आउनेलाई सहयोग गर्न सकिन्छ, तर अबैधानिक तरिकाले पस्नेलाई सहयोग गर्न खोज्दा आँफै फसिन्छ। नेपाल फर्किनुस। केहि समय परिवारसंग टाईम बिताउनुस। भर्खर २२ बर्ष पुग्दै हुनुहुन्छ, थोरै मिहेनत गरि अईएल्ट्स, टोफेल दिनुस, अनि राम्रो कलेज छानेर एप्लाई गर्नुस। युरोप वा अमेरिकामा कहिँ भर्ना पाउनुभयो भने पढाई पनि हुन्छ, काम पनि हुन्छ। हैन भने कुनै राम्रो मेनपावर छान्नुस, श्रम स्वीकृति भएको देशमा बैधानिक हिसाबमा काम गर्न जानुस। १५-१६ लाख तिरेर, त्यैपनि लुकेर भागेर किन अर्काको देश पस्ने? हार्ने ग्यारेन्टी भएको जुवा खेलेझैं भयो यो त।"
यस्तै यस्तै बातचित धेरैबेरे चलिरह्यो।

ऊ अलिकति कन्भिन्स भए झैं लाग्यो। अब नेपाल फर्केर के गर्ने त? अर्को प्रसंग सुरु भयो।
फर्केर केके गर्न सकिन्छ भनेर आफ्नो विकल्पहरु पनि सुनायो। तिनै धेरै बिकल्पमध्ये किन किन मलाई चाहिँ ’राजनीति गर्नुस’ भन्न मनलाग्यो। "बिध्यार्थी राजनीति अलिअलि गर्नुभएकै रहेछ कलेजमा। गाली खान, तालि खान शरम पक्कै लाग्दैन होला। यहाँ फोकटमा रसियनमा गाली खानुभन्दा त नेपाली गाली पचाउन सजिलो।" मैले यस्सै जिस्क्याउनकै लागि डाइलग मारें।
"ह्या दाइ, अब राजनीति सुरु गरेर कहिले नेता हुनु? कहिले कमाउनु, कहिले देश विदेश घुम्नु। बिहे पनि गर्नै बाँकी छ।”
"नेपाली राजनीतिमा कहिल्यै अफ-सिजन लागेको थाहा छ? कहिले कुनै राजनितिज्ञ 'डिप्रेस' भएको सुन्नुभएको छ? विदेश घुम्ने रहर रहेछ, ठिकै छ। कुनै आई.एन.जी.ओ समातेर सबै देश घुमेकै छन् नेताहरुले। न पैसाको हर्ज, न पावरको। अहिल्यै सांसद, मंत्री भईदैन। तर जिल्ला नेताको अघिपछि घुमे मात्रै पनि बाईक चढ्न र मासुभात खान पाईन्छ। राजनीतिमा लाग्नुस, पछुताउनु हुन्न। अब कुन पार्टीमा लाग्ने, कसरि घुस्ने आदि इत्यादिको लागि कोहि अनुभवी माछे समात्नुस। तैपनि सोच्ने पर्दैन, आजकल सबै पार्टी एउटै हुन, खालि झण्डा फरक हो!”
अहिल्यै नेपाल फर्केर राजनीति सुरु गर्नुस, म यहाँ इन्जिनियरिङ सकेर १-२ बर्षमा फर्किउन्जेल तपाइँ केहि न केहि पदमा पुगिसक्नुहुन्छ। सके त मैले जागिर माग्न तपाइँकै फोर्स लगाउन पर्नेहुनसक्छ!" म हासें। ऊ फेरी हाँस्यो।
सुरुमा युरोपको अरु देश कसरि छिर्ने भनेर उत्सुक रहेको मान्छे, राजनीतिको कुरो आएपछि धेरै बोलेन। उसंग अरु प्रश्न सकिएजस्तो देखियो।
"ल भाइ, जहाँ रहेपनि आफ्नो ख्याल राख्नुहोला। तपाइँभन्दा तपाइँको चिन्ता धेरै गर्ने घरका बुबाआमा सम्झिनुस।" भनेर बिदा मागें। हँसिमजाकमा यसै राजनीतिमा जान सल्लाह दिएँ भनेर आँफैलाई नराम्रो लाग्यो। फोन राखेपछि धेरैबेर म आँफै जिल्ल परेरहें।
*       *      *  
माथिको बार्तालाप भएको धेरै महिनापछि अस्ति मात्र पत्रीकामा उसको फोटो देखें, नयाँ खुलेको एउटा पार्टीको बिध्यार्थी नेता भएछ। पाखुरामा ट्याटु हानेका उसका दुई 'सहयोगी' पछाडि उभिएका थिए। अब आउने चुनाबमा उसको पार्टीले बहुमत ल्याए देश कसरि बदलिन्छ भनेर जोडदार भाषण दियो रे!    

पोखरा ब्लुज: तुँवालोकि पूर्णिमा



'मिर्मि मुनि काली थुनेको, अन्तै मायाँ लाइछेउ रे मायाँले, साँच्चै हो कि हल्ला सुनेको'… पश्चिमाञ्चल क्याम्पसबाट 'माछापुछ्रे भ्यु-पोइन्ट' पिकनिक जाँदा यहि गीत बारम्बार बजिरह्यो। इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्को कक्षामा जम्मा जम्मी ३५ जना बिध्यार्थी, त्यसमध्य केटिहरु जम्मा ६ जना। ६ जनामा एउटी विबाहित, एउटीको ब्वाईफ्रेण्ड, एउटी चाहिं केटा देख्यो कि कुटौलाझैँ गर्ने। गाडीमा राम्रो गीत बज्दा यसो राम्री केटितिर फर्केर गाउन पनि थोरै 'अप्सन' बाँकी थियो। बसभरिका जम्मै तोर्पे केटाहरु तिनै बाँकी रहेकातिर फर्केर गला खोलि खोलि गाउने। कसको सुनुन, कसको नसुनुन! जम्मै केटाहरुलाई आफ्नो इम्प्रेसन तिनै तिर देखाउनु छ। कता हेरुन, कता नहेरुन! खैर, यो प्रसङ्ग अहिलेलाई यत्ति। सबै इञ्जिनियरिङ् कलेजको यहि हविगत हो।  
*  *  *
पोखरा पहिलोपल्ट छिर्दा म निरास भएँ। कोत्रे काट्ने बित्तिकै जम्मै बाटो मलाई पोखरा-पोखरा लाग्न थालेको थियो। हरेक मोड काटेपछि 'अब फेवाताल देखिन्छ' भनेर आँखा तन्काउँथें। बसले बिजयपुर खोला तर्यो, तैपनि फेवाताल आएन। पर परसम्म डाँडातिर आँखा लगाएँ, माछापुछ्रे पनि छैन। त्यो दिन तुँवालोले ढाकेको रहेछ। मेरो आँखाभरि टिभीमा देख्ने गरेको फेवाताल र माछापुछ्रे, म स्वयम् पोखरामा पदार्पण गर्दा देखिएनन। तैपनि सबै दृश्य आँखाभरि खिचीरहें। मोबाइल भन्ने आएकै थिएन, रिल-वाला क्यामरा पिकनिक र दशैँमा मात्र हुन्थे। एक जोडी आँखाले खिचिरहें। पोखरा आएपछि त माछापुछ्रे देखिनुपर्ने। अमरसिंह चोक आइपुग्दा सम्म मलाई बिश्वासै लागेन, म पोखरा जाँदै छु भनेर। मैले छेउकै सिटमा रहेको एक मान्छेसंग सोधें- 'दाइ पोखरा आउन अब कति बाँकी छ?'। तिनले हाँस्दै भने- 'खै भाइ, हाम्रो पोखरा त यहि हो, तिम्रो पोखरा कहिले आउँछ कुन्नि'! धन्न अरु कसैले सुनेन त्यो, नत्र मलाई बसभरिका मान्छेले उडाउँथे। कहिल्यै पोखरा जान नपाएर अत्तालिएको मलाई पोखरामा त हरेक दिन फेवातालमा नुहाएर माछापुछ्रेमा लुगा सुकाउँछन् जस्तो लाग्थ्यो।  


भर्ना हुने म्यादको अन्तिम दिनको अन्तिम मिनेटमा मेरो इञ्जिनियरिङ्को पढाई पक्का भएको थियो। 'स्कोलरसिप'मा नाम निस्किए पनि समयमै खबर नहुँदा गोरखा छोप्राकमा मलाई ढिला गरि थाहा भयो। ४ बज्न १० मिनेट बाँकी छँदा प्रशाषन शाखाका सरले बल्लबल्ल फोटो टाँस गरि भर्ना रकम बुझेपछि मैले धेरै लामो सास फेरेको थिएँ। पैसाको जोहो कसरि गरियो, त्यता नजाउँ। बुद्धिसागरको कर्णाली ब्लुज जत्रो अर्को 'भर्ना ब्लुज' बन्छ मेरो। भर्ना गरेर फर्किंदा औध्योगिक क्षेत्रमा रहनुभएका मामाले खल्तीमा ५०-५० का सातवटा नोट हालिदिनु भयो, बाटोखर्च भनेर। त्यति धेरै 'बाटोखर्च' मैले अहिलेसम्म पाएको थिईन। जिन्सको खल्तीभित्रको सानो गहिरो खल्तीको भित्रपट्टि पट्याएर राखें। त्यो दिन, न गाडीको कन्डक्टरसंग भाडामा दोहोरि खेलें, न बाटोमा सबभन्दा सस्तो खाजा रोजें।

त्यसको केहि महिनापछि पातला ओढ्ने ओछ्याउने, केहि थान खेस्रा कापी, राम्रा बलपेन, मनपर्ने गीतका २ वटा चक्का, केहि जोर लुगाकपडा, र अन्य त्यस्तै चिजबिज पोको पारेर दोस्रो पल्ट लामाचौर उत्रिएँ। खुट्टामा सजिला जुत्ता थिए। ‘गोल्डस्टार’ लगाउँदा हेप्छन भनेर, उही मुल्यमा आउने कुनै ब्राण्ड थियो, गोल्डस्टार नलेखेको। इञ्जिनियरिङ् अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस (बोलीचालीको भाषामा डब्लु.आर.सी) को गेटबाट झन्डै पाँच मिनेट भित्र सेती खोलाको डिलनेरै भएको होस्टेल देख्दा सुरुमा त हराउँछु कि जस्तो लाग्यो। पाँचवटा ब्लक थिए, हरेकमा ३ वटा तला, हरेक तलामा २८ वटा कोठा। मान्छे नहुने हो भने त सबै भूतबङ्गला जस्ता देखिन्थे। तर बिद्यार्थीको चहलपहल यति हुन्थ्यो कि २४ सै घण्टा कोहि न कोहि पढाईको प्रेसरले भट्किरहेका हुन्थे। त्यहाँको होस्टेल बसाईको लगभग सबै कथा हिन्दि फिल्म 'थ्री इडियट्स' जस्तै छ। बाथरुमको पालो, पानीको दुख, लुकेर बाल्ने हिटर, कौसीमा चल्ने 'स्टिम इन्जिन', एक्जामको चटारो, साथीहरुको प्रतिस्पर्धा, रिजल्ट आउने दिनको रौनक, केटिको निहुँमा हुने मारमुंग्री, आदि इत्यादि। झण्डै ३ वर्षको होस्टेल बसाई समग्रमा ३ घण्टाको रोमान्चक फिल्मझैं रह्यो।

पि.एन क्याम्पस वा बिन्दबासिनीतिर झरेको दिन बगरबाट धेरैजसो हामी हिंडेरै लामाचौर पुग्थ्यौं। कि त हाम्रो खल्तीमा पैसा हुन्थेन, कि त गाडीको पुरानो खलासीसंग हाम्रो लफडा परिसकेको हुन्थ्यो। के.आइ.सिंह पुल हुँदै उकालोमा लेफ्ट-राइट-लेफ्ट राम्रै चल्थ्यो। ५ रुपैयाँ साधारण भाडामा बिध्यार्थी कार्ड देखाउँदा ३ रुपैयाँ तिर्नुपर्थ्यो। त्यहि ३ रुपैयाँ तिर्दा पनि कार्ड सक्कली/नक्कली छुट्याउँदै र बाझाबाझ गर्दै हामी उपल्लो दीप पुग्थ्यौं। त्यहाँसम्म पुगेपछि हिंडेर क्याम्पस पुग्न धेरै लाग्दैनथ्यो। "साला, भोलि ‘डब्लु.आर.सि’कै बाटो आउँछस होइन, पख टायर बल्छ ह्याँ ह्वारह्वार", यो बाक्य त्यो रुटमा हिंड्ने हरेक जसो गाडीका कन्डक्टरले सुनिसकेका हुन्थे। अरु सबै बेलामा ज्ञानी र 'हल्का पढन्ते' टाईपमा गनिए पनि भाडा तिर्ने बेलामा चाहिँ कलेजका हुल्लडबाजकै ग्यांङ्मा मिसिन्थें। ‘पाखुरा सुर्किने’ दलमा मिसिए पछि ज्ञानी भएर पछाडी उभिए पनि भाडा छुट पाइन्थ्यो।  
*  *  *
पहिलो सेमेस्टर म गाउँबाट पहिलोपल्ट सहर पसेको केटोझैं जिल्ल परेर हराएँ। पढाईमा अब्बल नभए पनि ७५ % कटाएँ, राम्रै बिद्यार्थीमा गनिन्थें। दोस्रो सेमेस्टरमा म पूर्णिमाको साथी भईसकेको थिएँ। कसरि भएँ, मलाई याद छैन। इन्ट्री खासै फिल्मी रहेन। पूर्ण चन्द्र जस्तै उज्याली पूर्णिमाका अक्षर सुन्दर थिए। उसको अनुहार दुरुस्तै अक्षर जस्तै थिए, बान्की परेका। उ सुन्दर थिई। हामी धेरै प्राक्टिकलहरुमा संगै हुन्थ्यौं। ग्रुप् वर्कमा, कक्षामा, पिकनिकमा, क्याफेमा संगै हुन थालेपछि एकाएक 'नोटिस' हुन थालें। पूर्णिमा भन्दा झन्डै दोब्बर हाइटको त्यो लम्बु केटा को हो भनेर अरु डिपार्टमेन्टका केटाहरु गम्भीर 'इन्क्वाइरि'मा लागे। एक्लै दुक्लै बाटो हिंड्दा घुरेर हेर्न थाले। ह्या... मलाई बाल! म उसको कोइ न कोइ। कागलाई बेल पाक्यो, हर्ष न बिस्मात। म वास्ता नगरी हिंड्न थालें।
पूर्णिमा र म मिलेर पुरानो उखानलाई अलिकति मिलायौं। म काग पनि थिईन, उ बेल पनि थिईन।
“हन?”- यो चाहिँ उसको थेगो। “हैन?” भन्न कहिले जानिन।  
उसका र मेरा अक्षर मिल्थे। नपत्याउने गरि दुरुस्तै मिल्थे। गोला गोला सर्लक्क परेका अक्षर कक्षामा सबभन्दा फरक थिए। लेक्चररले एकपल्ट त दुवैजनालाई अफिसकोठामा बोलाएर झाँको झारे- "जाँचमा किन तैले उसको नाम लेखेको? दुबैजनाको उत्तर एउटाले लेख्ने? दुबैको पेपरमा जिरो हाल्दिन्छु"। हामी ट्वाँ पर्यौं। उनकै अगाडी अफिस कोठामा दुवैजनाले लेखेर नदेखाएसम्म मानेनन्। दुवैजनाको अक्षर एउटै ढाँचाका भए। उनको चित्त बुझ्यो।

पूर्णिमा मलाई नयाँनयाँ कुरा सुनाउँथि। साथीहरुका बारेमा, सम्बन्धका बारेमा, उसको परिवारको बारेमा, उसको पोखराको बारेमा। बेलाबेलामा उसको ब्वाईफ्रेण्डको बारेमा पनि सुनाउँथि। म सबै कुरा ज्ञानी भएर सुनिरहन्थें। कहिलेकाहिँ भन्थी- "तँ अरुभन्दा फरक छस"। त्यसो त सबैजना एक अर्का भन्दा फरक हुन्छन। "हैन क्या, तँ अरुभन्दा फरक छस। अहिले बुझ्दैनस, पछि बुझ्छस"। म जिल्ल पर्थें। एउटै उमेर, एउटै पढाई, उस्तै भोगाई, फेरी किन उसले धेरै कुरा थाहा पाई, मैले पाइन?
म पनि पत्रपत्रिकामा झुन्डिने मान्छे। म उसलाई अन्तर्राष्ट्रिय राजनीति, बिज्ञान, माओबादि युद्ध, आदि बारे सुनाउन थालें। अब ज्ञानी भएर सुन्ने पालो उसको थियो। बिशेषगरि गोरखाका प्रसंग उसको लागि नयाँ थिए। अब एक अर्काको लागि सुनाउने नयाँनयाँ बिषय निस्किन थाले। गफ त कहिल्यै नसकिएला जस्तो हुन लाग्यो। पहिलो बर्षको जाँच सकिएपछि जाडो बिदा भयो। सबैजना घर जान तम्सिन थाले। मलाई भने झोला बाँध्ने जाँगरै चलेन। उद्घोषण तालिम सिक्ने भनेर बसें। यता पूर्णिमासंग गफ नै सकिएको छैन, यत्तिकै छोडेर कता जाउँ। फर्केर आउँदा मैले भन्दा धेरै कुरा जानेकी रहिछ भने? बर्बादै हुन्छ। मसंगै होस्टेलका अन्य ५-७ जना साथीहरु पनि सिक्ने भए। हामी हुल बाँधेर हरेक दिन उद्घोषण तालिम दिने ठाउँ न्युरोड पुग्थ्यौं।  
कलेजको बिदा सुरु भयो। तर पूर्णिमा र मेरो व्यस्तता सुरु भयो। हामी दिनभर कलेजमा बिताउन थाल्यौं। कहिले कुनै ल्याबको अगाडी, कहिले कुनै ल्याबको। ३१२ रोपनी क्षेत्रफलमा फैलिएको ठुलो क्याम्पसको महत्व हामीले बल्ल बुझ्यौं। उसले पटकपटक मलाई उसको ब्वाईफ्रेण्डसंग भेटाउँछु भनि। तर त्यो दिन कहिल्यै आएन। उ घरबाट जहिले पनि जाडो महिनामा ‘एक्स्ट्रा कोर्स’ छ भनेर आउँथि। हरेक दिन ट्याक्क १० बजे। म खाना खाएर तयार भएर बस्थें। कलेज परिसरका सबै सिंढी र चौरमा अड्डा जमाएर बसियो। मित्रता- रबरमा बाँधेको डल्लो जस्तो थियो। कहिले एकदम नजिक, कहिले हुत्तिएर कहाँ हो कहाँ टाढा।
धर्म, राजनीति, युद्ध, पढाई, फिल्म, गीत, प्रेम, परिवार, साथीभाइ, लगभग सबै कुरामा बहस हुन्थ्यो। तर अन्त्यमा उ र म एउटै टिममा हुन्थ्यौं, प्रतिपक्षका को हुन्थ्यो, अहिले याद छैन। केहि दिनमा ति सकिएपछि हाम्रो अड्डा बाटुलेचौर बन्यो। त्यहाँ पनि अलि अफ्ठ्यारो लागेपछि हामी कालीखोलाको जिर्ण झोलुङ्गे पुलमा झर्यौं। एउटा चिप्स, दुई वटा चाउचाउ, एउटा कोक लिएर कालीखोला झरेपछि हामी साँझ ४ बज्ने बेलामा उठ्थ्यौं। कुरा सुनेरै महान बन्ने भए बिचका केहि फक्लेटा झरेका त्यो थोते झोलुङ्गे पुल सबैभन्दा ज्ञानी हुन्थ्यो होला। जाडो बिदा सकियो। अहँ, गफ सकिएन।
*  *  *
"…. अन्तै मायाँ लाइछेउ रे मायाँले, साँच्चै हो कि हल्ला सुनेको"।
माछापुछ्रे भ्यु प्वाइन्ट पिकनिक जाँदा बसमा कुन चाहिँलाई औधि मनपरेछ क्यारे, घुमाई घुमाई १७ चोटी बजायो। धेरै जना केटाहरुले भाका मिलाउँदै पूर्णिमा तिरै हात सोझ्याएर आफ्नो कला देखाए। तर उ मलाई पुलुक्क हेर्थी। मैले अरु केटीहरुसंग बोले भनेर उसलाई बेलाबेलामा रिस उठ्थ्यो। आँफुलाई पछिल्लो पल्ट एउटी पहिलो बर्षकि केटीले दिएकी प्रेमपत्र जस्ताको तस्तै पूर्णिमालाई लगेर बुझाएको थिएँ। संगै खोलेर पढ्दै हाँसियो। एकपल्ट झर्किएर भनि- "जस्तो पायो त्यस्तो केटिसंग संगत नगर्नु, तिम्रो लागि केटि म छानिदिन्छु"। मैले ज्ञानी भएर टाउको हल्लाएँ - “हस”।
“छेउको सिटमा आउ न"! नबोलीकनै उसले बोलाई। मैले पनि कसैले नसुन्ने गरि सुनें। धेरै नजिक भएपछि २० हर्ज देखि २० किलोहर्ज बिचको ‘फ्रिक्वेन्सी रेन्ज’नै नचाहिने। हातमा रबर बाँधेर डल्लो घुमाएजस्तो हाम्रो मित्रता, यो बेला खुम्चिएर एकदम नजिक थियो। पिकनिक सार्है रमाइलो रह्यो। धेरैका लागि अविस्मरणिय। त्यो दिनको पिकनिकको कथा आफ्नो ब्याचका साथीहरु अहिले पनि हाल्छन।
एकदिन होस्टेलमा धोएर सुकाएको सर्ट चिसोले नसुकेर साथीको कालो सर्ट लगाएर गएको थिएँ। त्यो दिन पूर्णिमा मेरो प्रशंसा गरेको गर्यै भई। "भोलिपल्ट नि यहि सर्ट लगाउ है, म क्यामरा लिएर आउँछु, तिम्रो फोटो खिचेर म घरमा राख्छु। सधैंलाई सम्झना हुन्छ"। म मक्ख परें। बेलुका आफ्नो सुक्न लागेको सेतो सर्ट फेरी पानीमा भिजाएँ। साथीसंग बहाना बनाएर उही सर्ट ढल्काएर गएँ। तर पूर्णिमाले क्यामरा नै ल्याईनछ। अँझ उसलाई त हिजो भनेको कुरा यादनै रहेनछ। मेरो उत्साहको मिटर जिरोमा झर्यो। मैले केहि प्रसंग नै नझिकी चुपचाप फर्किएँ। उसले फेरी एकपल्ट रबरको डल्लो टाढा हुत्त्याई।

पहिलो सेमेस्टर देखिने मेरो नम्बर बढ्ने क्रममा रह्यो। दोस्रो बर्षदेखि सबै सेमेस्टरमा लगभग ८०% को हाराहारीमा रह्यो। उत्तरार्दतिर पढाईमा मजा आउन थाल्यो। संगैका साथीहरु सार्है मिहेनती र मिलनसार थिए। मित्रता र प्रेम बिचको फरक मार्कशिटले स्पष्ट देखाउँदै थियो। अन्तिम बर्षमा एउटा एफ.एम. मा कार्यक्रम चलाउन थालेको थिएँ। साथीहरु मिलेर आफ्नै पहलमा रोबोट पनि निर्माण गर्न लागेका थियौं। अब उसको र मेरो गफ पनि लगभग सबै सकीइसकेका थिए। कालीखोलाको बुढो झोलुङ्गे पुल खोलाले लग्यो कि के भयो, वास्ता भएन। भविष्यका नयाँ पुलहरु बन्दै थिए। एकदिन महेन्द्रपुलको सस्तो बजारबाट प्लास्टिकका जुन र तारा ल्याएँ। आँफु सुत्ने ठिक मथिल्लोपट्टि टाँसेको थिएँ। बत्ति निभाएपछि पिलिक्क हरियो बलेका जस्ता देखिन्थे। एउटा चन्द्रमा मेरो सिरानी माथितिर बस्यो, भित्ताभरि ताराहरु। मलाई अचम्मसंग रमाइलो लाग्यो।    
पढाई सकिनेबित्तिकै उ आफ्नो ब्वाईफ्रेण्डसंग बिहे गर्ने योजना सुनाउँथि। म त्यो पनि रमाइलै मानेर सुनीरहन्थें। उ आफ्नो नयाँ जीवनको रमाइला योजना सप्रसंग व्याख्या गरिरहन्थी। त्यो पनि ज्ञानी भएर सुनें। साथीसंग माग्न नपरोस भनेर मैले पैसा जोगाएर कालो सर्ट किनेको थिएँ। तर त्यसमा उसको कुनै चासो हुन्नथ्यो। चासो नदेखाएकोमा मेरो गुनासो पनि रहेन। कुनै अपेक्षा नराखिकनै नजिक रहनु काइदाको चिज रहेछ। जतिखेर पनि सजिलै ‘बाई’ भन्न सकिने!  
पोखरा बसाईको अन्तिम दिन झोला मिलाउँदै गर्दा प्लास्टिकका जुन उप्काउन मनलाग्यो, तर अँह, त्यसै छाडीदिएँ। त्यो ठाउँमा म जस्तै अर्को कोहि पुग्दा, त्यहि टिलपिल गर्ने जुन र तारा देखोस। पोखरा छोडेर बिजयपुर खोला तरिसक्दा पहिलोपल्ट पोखरा आउँदाजस्तै तुँवालो थियो। तर त्यसबेला माछापुछ्रे र फेवाताल खोज्न जरुरि रहेन। मलाई थाहा थियो, माछापुछ्रे र फेवाताल कहाँकहाँ बस्छन भनेर।

*  *  *

एक NRN अनुभव

'हेल्लो साथी, हामीले एउटा नयाँ बिजनेस सुरु गर्ने बिचार गर्दैछौं, यसो ८-१० लाख सहयोग गरिदिनुपर्यो।'
"भाइ, यहाँ एउटा राम्रो जग्गा फेला परेको छ, सबै ब्यवस्था भयो तर अलिकति (त्यस्तै ५-७ लाख) पुगेन, अर्को हप्तासम्म यसो पुग्न दिन सकिन्छ त?'
 
यस्ता सन्देशहरु आजकल प्राय: हप्ताको एक दुर्इवटा इमेल वा फेसबुकका इनबक्समा आराख्छन्। आफ्नै साथीभाइ, नजिकका आफन्त हुन, ठाडो भाषामा नकार्न सकिन्न। तर "हस" भन्नको लागि आफ्नो कमाईले दिँदैन। अँझ नेपाल जानेबेलातिर त साथीभाइको डिमाण्डको लिस्ट हेर्दैमा दुर्इ दिन लाग्छ। यो आम कथा हो सबै प्रवासीको। आफूले किनेर नचलाए पनि नेपालका अधिकांश आफन्तजनका हातमा नयाँ मोडेलका स्मार्टफोन, क्यामरा र ल्यापटप पुर्‍याएकै छन् बाहिर हुने नेपालीले। नेपालमा प्राकृतिक बिपत्ति पर्दा, आफ्ना गाउँ जिल्लामा केही आयोजना बन्दा, प्राय सबै प्रवासीले आफ्नो गच्छेले भ्याएसम्म सहयोग गरेकै छन्। आफूलाई भने यी सबभन्दा एक कदम अघि बढेर "एन.आर.एनको मान्छे भएर पनि यति जाबो पैसा सहयोग गर्न नसक्ने" भन्दै नराम्रो स्माइलीसहित म्यासेज आउँदा एकछिन खिन्न हुन्छ। 

प्रवासी नेपालीहरु एक सुत्रमा बाँधिउन्, हक अधिकार सुनिश्चित होस्, सहयोग गर्दा पनि एक ढिक्का भएर गर्न सकियोस, आफ्नो कला संस्कृति जीवन्त राख्न सकियोस भनेर गैर आवासीय नेपाली संघ (एन.आर.एन) गठन भएको हो। तर यसबारेमा आफूलाई विदेश आउनु अघि खासै थाहा थिएन। एन.आर.एन भनेका उपेन्द्र महतो र जिवा लामिछानेहरु हुन्, जोसंग गनेरै नसकिने पैसा हुन्छ भन्ने मान्यता थियो। पत्रिकामा एन.आर.एन सम्बन्धि समाचार आउँदा टाँसिएर आउने जम्मा दुर्इवटा प्रसंग हुन्थे- एउटा, लाखौँ करोडौंको सहयोगको कुरा, अर्को दोहोरो नागरिकता। दोहोरो नागरिकता किन मागिरहन्थे, सरकारले चाहिँ किन दिँदैनथ्यो, त्यो चासोको बिषय थिएन। जे होस्, करोड करोडका दरले मुलुकमा पैसो भित्रिएको छ, त्यो कुरा रमाइलो लाग्थ्यो। इन्जिनियरिङको पढाई सकिनै लाग्दा बडेमानका सपना एउटा ल्यापटपमा कोचेर साँझपख शंकमुलको मम: पसलमा बसेर हामी तर्क बितर्क गर्थ्यौं, युरोप अमेरिकामा कार्ड बनाएर बसेका मान्छे यो जाबो झुसे नेपालको नागरिकताको लागि किन रोइकराई गरेका होलान? विदेशमा कार्ड बनाएर 'सेटल' हुन छोडेर नेपाली नागरिकताको माया गर्नु त मूर्खता हो भन्ने निष्कर्ष निस्किन्थ्यो। नेपाल के कति कारणले बस्न लायक छैन भनेर हामीसंग १०१ कारणहरु थिए। मम:को अर्को बाहान तयार नहुन्जेल थियो त्यो गफ। हररर बाफ उड्ने गरी ढकनी खोलेपछि विदेशका सबै सपना मम:का डल्ला र सुपमा मिसिन्थे।  
 
केही समयअघि युरोपको सबभन्दा सिरानको देश फिनल्याण्ड आउने मौका जुर्यो। भन्नै पर्दैन, युरोपका लगभग सबै देशको अंग्रेजी भाषासंग खासै साइनो छैन। कामको लागि सबैभन्दा अप्ठ्यारो यहिँबाट सुरु हुन्छ। बस्न, खान, काम खोज्न, ठेगाना थाहा पाउन विदेशमा सबैभन्दा भरपर्दा माध्यम र सहयोगमा जुट्ने पुराना साथीभाइ हुन। नभए, साथीको साथी। त्यो पनि नभए साथीको काकाको छोराको साथी। अन्त्यमा कोही नभेटिए हामी नेपाली नाता खोज्नमा सिपालु छौं, एउटै जिल्ला, मिल्ने थर, एउटै अन्चल, जसरी पनि साइनो गाँस्छौ। यस्तो बेलामा एउटा आश संधै रहँदोरहेछ, एन.आर.एन जस्तो संस्थाले फ्याट्ट एउटा काम खोजेर लगाइदिए त हुने नि। एन.आर.एन भनेको पैसावालहरुको क्लब हो, नेपालका मन्त्री, सांसद समेत किन्ने हैसियत राख्छन्, आफ्नै प्राइभेट जेट चढेर नेपाल जान्छन्, आदि जस्ता कथाहरु नेपाल हुँदा सुनेको हो। तर त्यसैबखत संजोगले भेटिएका एकजना एन.आर.एन फिनल्याण्डका सदस्य आफै काम खोज्दै भौंतारिंदै रहेछन्। पढाई सकिएको रहेनछ, बस्ने ठाउँको पनि टुंगो रहेनछ। उनको कथा पनि सुनिसकेपछि लाग्यो, अहो.… बिजोग रहेछ।
 
विदेश गएपछि त कुनै नेपालीको सम्पर्कमा रहन्न, गुमनाम भएर बस्छु, सकेसम्म धेरै विदेशीको संगत गर्छु भन्ने लाग्थ्यो। असलमा आफ्नो सजातीय गुण निस्कियो। आएकै २ महिनामै दशैं कार्यक्रममा सरिक भएको थिएँ। टिकाको दिन स्काईपमा घरमा टिका लगाएको हेरेर भक्कानिएँ। अनि नेपाली खोज्दै कार्यक्रमस्थल पुगें। मादल ठोकेर झ्याउरे भाका बज्न थालेपछि आफ्नो घर गोरखा छोप्राक पारिपट्टिको गुरुङ गाउँ सालबोटको झल्को आयो,अनि मनलाई आनन्द मिल्यो। पहिलोपल्ट एन.आर.एन लाई धन्यबाद दिएको त्यही बेला थियो, घरै बिर्साउने रमाइलो कार्यक्रम गरेकोमा। 
 
अहिले आँफै एन.आर.एन फिनल्याण्डको केन्द्रीय समितिमा रहेर काम गर्न थालेको ३ बर्ष पुग्यो। समितिमा रहेका सबै पदाधिकारीलाई हेर्छु, कोही पनि नेपालमा बसेर आफूले अन्दाज गरेको पैसावालहरुको क्लबका सदस्यजस्ता लाग्दैनन्। न यिनको भुँडी छ, न पैसा र पावरका ठूला ठूला कुरा गर्छन्, न एक पक्ष र अर्को पक्ष भन्दै मारामारी गर्छन्, न कोषमा लाखौँ पैसा छ। बर्षभरिमा कोषाध्यक्षले बार्षिक आय व्यय सुनाउँछन् र भन्छन् 'एन.आर.एन फिनल्याण्डको कोषमा अब २५० युरो बाँकी छ'। नेपालमा कुनै आर्थिक सहयोग जुटाउन परेमा मात्रै चन्दा संकलन गर्ने प्रावधान छ। त्यही पनि उठाएको केही महिनाभित्रै पठाइसक्नु पर्छ। महिनामा एकपल्ट हुने साधारण मिटिङमा कालो चिया पनि आफै जुटाउनुपर्ने अवस्था आउँछ धेरैपल्ट। नेपालमा बार्षिक सम्मेलन हुँदा, युरोपियन क्षेत्रीय भेलाहरु हुँदा सम्पूर्ण खर्च आफैले ब्योहर्नु पर्ने हुन्छ। तलबबाट खर्च बचाउन सकिन्छ भने सम्मेलनमा भाग लिन जाने, नत्र 'प्राबिधिक कारण' देखाउँदै क्षमायाचना गर्नुको बिकल्प रहँदैन। अधिकांश सदस्य ३०-३५ बर्षका हुनुहुन्छ, एकाध मात्रै ५० आसपासका। रेस्टुरेन्ट ब्यवसाय प्रतिनिधित्व गर्दै केही अनुभवी र खारिएका सदस्यहरु हुनुहुन्छ। पेशागत रुपमा हेर्दा इन्जिनियर, प्रोफेसर, नर्स, निजी कम्पनीका जागिरे र केही स्वतन्त्र ब्यवसायी छन्। नेपालबाट अहिलेसम्म कुनै राजनीतिक दलका नेता निम्त्याइएका छैनन्। कहिँ कतै सहयोग जुटाउन परेको खण्डमा खेलकुद, सांस्कृतिक कार्यक्रम, साहित्यीक जमघट, आदि गरिन्छ र रकम जम्मा गरिन्छ। रमाइलो र समाजसेवा संगसंगै अघि बढ्दैछ।
 
केही वर्षअघि स्पेनको बार्सिलोनामा युरोपियन क्षेत्रीय सम्मेलन थियो। पद र प्रतिष्ठाकै लागि ठूला होटलको बसाई, जम्बो टोलीको सहभागीता र ठूलो रकम दान दिने घोषणा गर्ने चलन रहेछ। केही प्रतिनिधिले कुनामा लगेर सोधे- 'तपार्इहरुको एन.आर.एन कुन पार्टीको हो? हामी अवाक भयौं र भन्यौं- यो पनि कुनै पार्टीको हुन्छ र ? हामी त स्वतन्त्र पेशाकर्मी र ब्यवसायी छौं, राजनीतिको कुरो अहिलेसम्म निस्किएको छैन।' त्यसपछि अनेक पार्टीका अघोषित एजेन्टले संगठन खोल्न लबिङ् गर्न थाले। कसैको अफर स्वीकार नगरेपछि एक प्रतिनिधिले गायत्री मन्त्र कानमा फुकेझैं भने- 'यसरी त एन.आर.एन चल्दैन। राजनीतिक दलसंग आबद्ध हुनुपर्छ, फाइदा लिन जान्नुपर्छ, नत्र तपाइहरुलाई कसैले गन्दैन।' हामी जिल्ल परेर फर्कियौं। 
 
फिनल्याण्डमा एन.आर.एन स्थापना भएको करिब ६ बर्ष भएको छ। थोरै जनसंख्या, बजेट अभाव, समाजसेवामा आउन चाहनेहरु कमीऽ आदि कारणले अमेरिका, बेलायतहरुमा जस्तो अपेक्षाकृत हल्लाखल्ला छैन। हरेक चिजमा ग्ल्यामर चाहिँदो रहेछ, कि त पावर, कि त पैसाको। सहयोग गर्न तम्सिने सहृदयी मनहरुमात्रै बोकेको संस्थाको रंग 'ब्ल्याक एण्ड व्हाइट' हुँदो रहेछ। 'ग्ल्यामर'वालाहरुको चाहीँ रंगीन। त्यसैमाथि आम दाजुभाइहरुले यति ठूलो अपेक्षा राखिदिनुहुन्छ राजदूताबासले गर्न नसक्ने कामहरु पनि एन.आर.एन ले नै गरोस भन्ने सोचिदिनुहुन्छ। देश अनुसार नाफारहित संस्था स्थापना गर्न पाउने भिन्दाभिन्दै स्थानीय नियमहरु हुन्छन्। यसका आफ्नै अधिकार र कानुनी सीमाहरु छन्। कति साथीहरुले बुझेर, कति साथीले नबुझेर सबै संस्थालाई एउटै नराम्रो ट्याग भिराइदिन्छन्। कुनै बेला रमाइलो लाग्छ, कुनै बेला नरमाइलो। आफ्नो कला, संस्कृति र भाषाको न्यास्रो मेटियोस् भनेर बेला बेलामा नेपालका कलाकारहरु निम्त्याइन्छन्। धेरै युवा समेटिने गरी भलिबल, फुटबल, म्याराथन जस्ता खेलकुद प्रतियोगिताहरु हुने गर्दछन्। साहित्यीक  जमघट र हाजिरी जवाफजस्ता कार्यक्रमहरु हुन्छन् जसकराण फरक स्वाद होस्। रमाइलोसंगसंगै उठेको रकमले नेपालमा स्कुल बनेका छन्, अपाङ्गका लागि छात्राबास बनेका छन्, भूकम्पपीडितलाई सहयोग जुटेको छ, बिचल्लीमा परेकालाई घर फर्काइएको छ। तर पनि हामी नेपालीलाई व्यक्तिगत आक्रोश पोख्न र 'फ्रस्टेसन' उतार्न केही न केही चाहिँदो रहेछ। नेपालमा नेतालाई गाली गर्दा मन हलुङ्गो हुन्छ, बिदेशमा एन.आर.एन जस्तो संस्थालाई।
 
धेरै देशबाट समाचार आइरहन्छन्- एन.आर.एनको चुनावमा मारपिट, विवाद, घोटालाको कुरा। देशको घिनलाग्दो राजनीतिबाट आजित भएर, परिवारबाट धेरै टाढा, बडो दु:ख गरेर आर्जेको रकम, अलिकति राम्रो कामका लागि खर्चिन पनि फेरी उही घिनलाग्दो खेलको विधि? यसले एन.आर.एन मात्रै होइन, नेपाल र नेपालीका हितका लागि खोलिएका जुनसुकै सँस्थामा पनि विश्वास राख्ने ठाउँ रहँदैन। ७० भन्दा बढी देशमा फैलिएको ठूलो संस्थाको एउटा सानो इकाईको एउटा कान्छो सदस्य, जो आफ्नो पढाई र कामबाट बचेको समय, पैसा र श्रम खर्चंदै यसमा लागेको छ, केही सीमित व्यक्तिहरुको आचरणले सिङ्गै संस्थाप्रति आम मानिसको बेफ्वाँकको नकरात्मकता देख्दा निको लाग्दोरहेनछ। 

* * * 

[पौष १२ को सेतोपाटी मा प्रकाशित - http://goo.gl/DjMGVp


नेपाली चेली “खादिजाह तामाङ्”

“दिदि नमस्ते”, 
“सलाम वालेकुम खाबीर भाइ”
मैले दुबैलाई पालैपालो अभिबादन गरें। “आफ्नै नेपाली भाइ आउँदा नि के हिजाब लगाईराख्नु” भन्दै दिदीले टाउकामा बेरिराखेको कालो रंगको हिजाब निकालिन। निकै फुर्ति साथ चिया बनाइन र सोफामा बसेर मिठो हाँसो धेरैबेर जारी राखिन। दिदीका श्रीमान अब्दुल-खाबिर। एकजना नेपाली साथिको माध्यमबाट मायाँ तामाङ् दिदीको कथा सुनेर ठेगाना पछ्याउँदै हेलिसिन्कीबाट पश्चिमी सहर तुर्कु पुगेको थिएँ।
साढे २ घण्टाको इन्टरसिटि-ट्रेनको रफ्तारसंगै कतिखेर मायाँ दिदीको घरमा पुगेर उनकै मुखबाट कथा सुन्ने होला भनेर खुल्दुली थियो। मसंग प्रश्नहरुको पोको थियो। उनको फ्ल्याटमा पस्ने बित्तिकै  पिंजडामा पालेको एउटा सुगाले स्वागत गर्यो।
युरोपमा बिरलै देख्न पाइन्छ यस्तो। कोठाभरी मुस्लिम रितिरिवाज झल्किने सजावट थियो। दुध र चियापत्ती हालेर निकै बेर उमालेर बनाइएको नेपाली बासनाको चियाबाट गफको मेलो सुरु भयो।
“दिदीको खास घर चाहिँ कता अरे?”
“जन्मेको त सिन्धुपाल्चोक जिल्ला भन्ने ठाम हो। अरु त जहाँ बस्यो, त्यहिँ घर”।
“रेफ्युजीको पनि घर भन्ने हुन्छ र?” ठट्टा मिसिएको लवजमा दिदिका श्रीमान खाबिरले थपे। ठट्टा होइन, त्यसमा पीडा मिसिएको थियो।
“हामी ३ दिदीबहिनी र एउटा भाइ थियौं। बुबा ठेकी, मदानी बनाउने काम काम गर्नुहुन्थ्यो। भाइ सानैमा भागेर इन्डिया गएको थियो। बर्षौंसम्म आस मारेका थियौं। तर एकदिन अचानक आइपुग्यो। इन्डियामै काम गर्दो रहेछ । १५-१६ को कलिलो केटो, तर कामले होला, छिप्पिएको जस्तो देखिथ्यो। अलि काले भएछ। गर्मि ठाम। साथमा एउटा इन्डियन मान्छे पनि साथे ल्याएको थियो। उसको उमेर झन्डै २२-२३ हुनपर्छ। हाँसोउठ्दो गरि नेपाली बोल्न खोज्थ्यो।
भाइ र उसको साथे झन्डै एक महिना घर बसे। रहँदा बस्दा सबै घुलमिल भइयो। भाइ भन्दा धेरै जेठो, कालो कालो अनुहार अनि राम्रोसंग बात गर्न पनि नजान्ने त्यो खाबिर भन्ने साथेसंग मेरो मन नजानिँदो तरिकाले बसिसकेको रहेछ। ‘अब हिन्दुस्तान फर्किने हो बाउ’ भनेर भाइले सुनाएपछि पो मलाई थाहा भयो। त्यो खाबिरे हो कि अबिरेको उल्का मायाँ लाग्न थालेछ। धत्, के भएकी म? कहाँको कहाँको देशी, फेरी न भाषा मिल्छ, न जात। यो भन्दा त पोहोर जात्रामा जिस्क्याउने बिरे मुर्दार ठिक थियो। अँह, मनले मानेन। आखिरमा भाइले जिम्मेवारी लियो।
‘हिन्दुस्तानमा संगै काम गर्ने, संगै बस्ने जिग्री हो मेरो, तलमाथि गर्यो भने यसको म नली खुट्टो भाँचीहाल्छु नि!’ यति भनेपछि मन ढुक्क भयो। एकजोर कुर्ता सुरुवाल र स्कुलको आकाशे रंगको सर्ट अनि फरक पोको पारेर म निस्किएँ। मसंग नयाँ लुगा भन्नु त्यत्ति थिए। बाउले अन्माउन मानेनन् । अक्षेता मुछेर टिको टाँसीदिए, हातमा ५० रुपैयाँ थमाईदिए अनि खाबिरलाई टुटेफुटेको हिन्दिमा खै केके भनेर जिम्मा लगाए। गाउँका कसैले निको मानेनन्। म भने बुरुक बुरुक गर्दै अघि लागें। भिर, खोला, पाखामा म अघिअघि थिएँ। बजार आयो, गाडी देखिए, अनि म पछि भएँ। भाइ र खाबिर अघि भए। अहिले सोचेर ल्याउँदा, त्यहि दिनमात्रै रहेछ म अघि लागेको। जीवनमा त्यसपछि, सधैं पछिपछि मात्रै हिंडीरहें।
मिनिबस, बयलगाडा अनि बोर्डर काटेपछि लामो रेल चढाउँदै मलाई दिल्ली पुर्याए। दिल्लीमा मैले दुनियाँ देखें। भाइ र खाबिर संगै बस्थे, संगै काममा जान्थे। मलाई हिन्दि आउँथेन, बाटो थाहा थिएन, खाना पकाउने बेलामा स्टोभ जलाउन आउँथेन। सबभन्दा ठुलो कुरा, अब मेरो जिन्दगी के हुन्छ भन्ने थाहा थिएन। लहडै लहडमा सिन्धुपाल्चोककि तामाङ्की छोरी, अब्दुल खाबिर भन्नेसंग बिहे गरेर आएकी छु। बिहे पनि के भन्नु, घामट बनेर टिको थापेर आएकी छु। नाम सुन्दै आफ्नो दुलाह जस्तो लाग्दैन। मनले कसरि अपनाउने, तनले कसरि अपनाउने।
मान्छेको भिडभाड, नबुझिने भाषा, बिरसिला मान्छे, सबै देख्दा जिन्दगीलाई के सारो खेलाँची गरेछु जस्तो लाग्यो। तर भाइ पनि साथै हुनाले मनलाई ढाडस भयो । भाइले सम्झाईरहन्थ्यो- चिन्ता नगर, खाबिर राम्रो आद्मी छ। तलाई मायाँ गर्छ, सुखसंग पाल्छ। 

दिल्लीमा झन्डै २ बर्ष बिते। रहँदा-बस्दा मायाँ फेरी पलायो। उता सिन्धुपाल्चोक हुँदा पलाएको मायाँ होइन रहेछ, अर्थोकै केहि रहेछ। २-४ पैसा पनि भयो, अब नेपालनै गएर बिहे गर्छु, गृहस्ति सुरु गर्छु भनेर भाइ नेपाल फर्कियो। हाम्रो लवाई खुवाई राम्रै थियो। हप्तादिनमा सिनेमा हेर्न पनि गइन्थ्यो। हिन्दि मजाले बुझ्ने भैसकेको थिएँ। मुस्लिम धर्मको २-४ कुरा पनि खबिरले सिकाइसकेको थियो। गाउँका रितिरिवाज, धर्मकर्म धेरैझसो छुटीसकेका थिए। दशैँ, तिहार, इद, बकर-इद सबै बराबरजस्तो मनाइन्थ्यो। भाइ नेपाल फर्केपछि नेपाली चाडबाड छुटे।”
“अनि तपाईलाई चाहिँ कस्तो लाग्यो त खाबिर भाइ?” म बिस्तारै खाबिर तिर फर्किएँ। चियाको सुर्को लिन कप उचालें, तर अघिनै रित्तिइसकेछ। फेदका चिसा दुई थोपा मुखमा परे। त्यो देखेर मायाँ दिदीले अर्को लट चिया बसालिन, यता खाबिरले आफ्नो भर्सनको कथा अघि बढाए।
“मान्छेको दिल अजीबको हुँदो रहेछ। कहाँकहाँ पहाडमा गएर, आफ्नै दोस्तको बहिनि बिहे गरेर ल्याएँ। मैले आफ्नो मजहब (धर्म) र संस्कार बिर्सिदिएँ। उसको सादापन र निश्चलताले मलाई सधैं तानिरह्यो। दिल्लीका दिनहरु रमाइला थिए। मेरो असली घर अफगानिस्थानको कान्दाहार हो। सानैमा भागेर काम खोज्न हिन्दुस्तान गएको थिएँ। यो कुरो मैले कसैलाई भनेको थिइन। हिन्दि राम्रो थियो, लवाइ खवाई मिल्थ्यो, त्यसैले कसैले शंका पनि गरेनन्।
घरमा मैले बिबाह गरेको थाहा दिइसकेको थिएँ। जुन मजहबको भए पनि बुहारी अपनाउने बचन दिए। दिल्लीकै एउटा मस्जिदमा मायाँको नाम फेरेर ‘खादिजाह’ राखियो। उसले पनि हिजाब लगाउन अफ्ठ्यारो मानिन। आखिर दुखसुख साथ् भोग्नु छ, जुनी संगै काट्नु छ, बिश्वास उत्तिकै छ। यो लगाउने लुगा र पकाउने कुरोले के फरक पार्ला र ! उसको समझदारी देखेर जिल परें। उसको मुस्लिम नाम खादिजाह हो, जसको अर्थ हुन्छ ‘बिश्वास गर्न लायक’।
हामी दिल्ली छोडेर अफगानिस्थान उँड्यौ। मेरो जन्मस्थान कान्दाहार टेके देखि नै हाम्रो जीवनको अर्को संघर्ष सुरु भयो। परिवारले मलाई घर बोलाउन फकाई फकाई बुहारी अपनाउँछौं भनेर बोलाएको रहेछ। तर घर पुगेपछि खादिजा (बोलीचालीको भाषामा)लाई राम्रो ब्यबहार गरेनन। आफ्नै परिवारले त केहि भनेनन्, तर वरपरका आफन्तले अर्कैसंग निकाह गरिदिने कुरो झिके। कोहि त हिंस्रक भएर आइलागे।
यतिका बर्ष परिवार, समाजबाट टाढा बस्दा मैले मेरै संस्कार चिन्न भुलेछु। धर्मले मानिसलाई त्यस्तो बनायो कि खै, खराब मानिसहरु मिलेर त्यस्तो धर्म बनाए, मैले सोच्न सकिन। बिचरि कुन संस्कारबाट आएकी, रमाइलो गरेर पहाडमा नाच्दै हिंड्थी, अहिले वरपरका छरछिमेक यसलाई मार्नुपर्छ भनेर ढुङ्गो टिप्छन। सुनेर कस्तो लाग्दो हो बिचरा। तैपनि म हारिन, डटेर मायाँलाई नछाड्ने प्रण गरिरहें। बिस्तारै मेरा बहिनिहरुसंग मायाँ झुम्मिदैं गई।
बाबुआमाले पनि राम्रो मान्दै गए। अन्तत: मुस्लिम परम्परा अनुसार हाम्रो फेरी बिबाह भयो। परिवारमा अलिकति खुसि छायो। तर त्यसले गर्दा वरपरका छरछिमेकसंग दुश्मनी बढ्यो। एकथरि कट्टरबादी मानिसहरु गुटबन्दि गर्न थालेका थिए देशमा। हतियार लिएर हिंड्थे। पछि तिनै जमातले तालिवानको नाममा आतंक मच्चाउन थाले। यो १९९४ को कुरा थियो। सबै महिलाले बुर्का लगाउनै पर्ने कडा उर्दी जारी भयो।
तामाङ्की छोरी, गोरी गोरी पुक्क गाला भएकी मायाँ, अब खादिजा बनेर कालो बुर्काभित्र कैद भई। हामी तालिवानको निशानामा पर्यौं। साँझ बिहान हिंडडुल गर्न मुश्किल हुनथाल्यो। त्यो हिन्दु केटिलाई देश फर्काइदे, अनि मात्र तिमीहरु बाँच्न पाउँछौ भनेर हाम्रो नाममा सुचना टाँसे। परिवारको जीवन रक्षाको लागि बुबाले टाउको निहुर्याउनु भयो। म अँझै हार्नेवाला थिइन। त्यसको केहि दिनमा एक जत्था तालिवानी हाम्रो घरतिर आउँदैछन् भन्ने खबर पायौं। मायाँलाई लिएर म तत्काल भागें। लुक्दै छिप्दै चोर बाटोबाट तिन चार दिन लगाएर ईरान पुग्यौं। हिन्दुस्तान भाग्ने बाटो सहज भएन।”
खाबिर भाइले यसरि सुनाइरहँदा मैले मायाँ दिदीलाई पुलुक्क हेरें। कतैबाट उनि खादिजाह जस्तो लागिनन। सोफाको कुनामा आडेश लागेर यी जम्मै घटनाहरु फ्ल्यासब्याकमा हेरेझैँ सुनिरहेकी थिइन्। ” अफगानस्थान हेरीकन त्यो बेला इरान अलि रंगीचंगी थियो। अकबर-हासेमी सत्तामा थिए। ईराकसंगको युद्ध सकिएर केहि बर्ष यतादेखि पुनर्निर्माणमा थियो देश। अमेरिकी फिल्मका पोस्टर कहिँकहिँ देखिन्थे। खुला अर्थतन्त्रको नीति आयो भन्ने चर्चा सुनिन्थ्यो।
बिदेशी चहलपहल बढ्दै थियो। महिलाहरुले हिजाबबाट अलिकति कपाल र ओठमा लिपिस्टिक पनि लगाउन पाउने नियम थियो। हामीले चैनको सास फेर्यौं। उता कान्दाहारमा पनि परिवार सुरक्षीत नै रहेको थाहा पायौं। आफ्नै परिवारले मायाँ र म कतै मारियौं भन्ने हल्ला चलाएछन, अनि मात्र तालिवानिले छोडीदिएछन। राजधानी तेहरानमा लुकिछिपी गर्न मिल्ने राम्रै काम पनि पाइयो। मायाँ दिनभरि घरै बस्थी।”
“अनि त्यो इरानी बोर्डरको कुरा सुनाउनु नि”, मायाँ दिदि एक्कासि उत्साहित हुँदै सम्झाईन्। “ए अँ, कान्दाहारबाट भाग्दै हामी इरानी बोर्डरमा पुगेका थियौं। बुर्काले छोपिएर मायाँलाई ठ्याक्कै मुस्लिमजस्तै बनेर पार गर्नुथियो। तर त्यतिनै बेला उनि चिप्लिएर लडिन, सायद धेरै डराएर अत्यासले गर्दा होला। बुर्का उल्टिएर उनको अनुहार देखियो। हाम्रो सातो उँड्यो। आजै अन्तिम दिन रहेछ भन्ने लाग्यो। दुइजनाले बेस्सरी अँगालो मार्यौं।
अब गोली हान्छन्, नभए पनि कोर्रा त पक्कै लगाउँछन् भनेर आँखा चिम्म गरेर अँगालो मारिरह्यौं। ‘तिमीहरुलाई लाज लाग्दैन अँगालो मार्न?’ भन्दै परबाट कसैले करायो। तर ईरानी पुलिसले देखेकै रहेनछ, खालि अँगालो मारेको मात्रै याद गरेछ। हामी मनमनै मक्ख हुँदै अघि बढ्यौं।
तर हामीलाई तेहरानमा पनि धेरै समय बस्न गाह्रो भयो। हासेमी सरकारको त्यहाँका कट्टरताबादीले बिरोध गर्न थालेका थिए। प्रसिद्ध पत्रकारहरुको हत्या हुन थाल्यो। गल्लीहरुमा दंगा भड्किने खतरा भयो।  देश ऋणमा डुब्दै गयो भनेर प्रदर्शनहरु हुनथाले।
मान्छेहरुका लाश साँझ बिहान चोकमा भेटिन थाले। प्रहरी प्रशाषन निरिह थियो। हेर्दाहेर्दै शान्त समाज अराजक र हिंस्रक देखिन थाल्यो। र अन्त्यमा एकदिन, त्यहाँबाट भाग्नैपर्ने स्थिति आयो। हामी ईराक पस्यौं। थाहा थियो, ईराक हाम्रो लागि बस्न लायक ठाउँ होइन, तर के गर्नु ज्यान जोगाउनुनै त्यतिबेलाको पहिलो काम थियो। हामी बुढाबुढी जहाँ गए पनि एकअर्काको खुब ख्याल गर्थ्यौं। पहाडकि छोरी, खेल्दै, रमाइलो गर्दै हुर्केकी, खोलाको चिसो पानी खाएर हिंडेकी मायाँलाई घरि घरि हेर्थें, के दुख दिएँ यसलाई भनेर ग्लानि हुन्थ्यो। तर उनि पटक्कै दुखि थिइनन। हजुर हुँदासम्म मलाई कसैदेखि डर लाग्दैन भनेर अँगालो मार्न आउँथिन्।
बग्दादमा हामी धेरै बस्न सक्दैनौं भन्ने थाहा थियो। सद्दाम हुसैन शक्तिमा थिए। सुन्नी मुस्लिमहरु थोरै संख्यामा भए पनि शिया जातीलाई देखि सहन्नथे। सद्दामले धेरै ठाउँमा शियाहरुको कत्लेआम गरेको कुरा सुनिन्थ्यो। त्यहाँको बसाई धेरै कष्टकर रह्यो। बिस्तारै हाम्रो सम्पर्क बिदेशी संस्थाका मानिसहरुसंग भयो। एउटा नर्वेजियन संस्थाको सहयोगमा हामी शरण माग्न नर्बे पुग्यौं। त्यहाँ पुग्दा, त्यहाँको लवाई खवाई हेर्दा हामीलाई मरभूमीबाट स्वर्ग आएझैं लाग्थ्यो।
शरणार्थीको रुपमा मान्यता पाउन केहि महिना लाग्ने देखियो। त्यतिन्जेलसम्म खान/बस्न भत्ता पनि पाइयो। राम्रो घर, कसैबाट डराउनु नपर्ने अवस्था, मिठो खाना, रमाइलो ठाउँ, हरिया पार्क, अहो.…अब हामीलाई यत्ति भए जिन्दगीमा केहि चाहिन्न जस्तो लाग्थ्यो। तर बेला बित्त्दै जाँदा यो सब कुराहरुको केहि अर्थ देखिन छाड्यो। न आफ्नो पहिचान छ, न खुसि बाँड्न परिवार छ, न आफ्नो निश्चित राष्ट्रियता छ। झरी परेको बेला जहाँ ओत लाग्ने ठाउँ देख्यो, त्यहि टाउको घुसारे जस्तो जिन्दगी भयो।
केहि महिनापछि हामीलाई शरण दिन नमिल्ने बताइयो। अब कता जाने फेरी, धर्मसंकट आइलाग्यो। लाग्यो, हामीले अघिल्लो जन्ममा ठुलै पाप गरेका रहेछौं। कहिँ, कतै आशा देखिन्नथ्यो। तर जब अफ्ठ्यारो स्थितिमा मायाँले मलाई केटाकेटिलाई जस्तो अब सब ठिक हुन्छ, हामीलाई अल्लाहले हेर्छन भनेर फकाईफुल्याई गर्थी, मलाई लाग्थ्यो, अघिल्लो जुनीमा मैले ठुलै पुण्य गरेको रहेछु।
हामी उत्तरी बाटो हुँदै फिनल्याण्ड पस्यौं। यहाँ पनि उसैगरि शरण माग्ने प्रक्रियामा गयौं। केहि समयमै हामीले शरणार्थीको मान्यता पायौं। कार्ड पनि दिए। अब यो मुलुक छोडेर जान पर्दैन भनेका छन्।”
“धन्न अहिलेसम्म अल्लाहले हेरेका छन्”। ६० काट्नै लागेका अब्दुल-खाबिर भाइले लामो सास तानेर भित्तातिर छोडे।
उमेरले  ५० टेकेपनि उमेरभन्दा निकै बुढी देखिने मायाँ दिदिले मधुरो स्वरमा भनिन -“खै अल्लाहले हेरे कि, शिवजी ले हेरे, अहिलेसम्म कुनै कुराको पछुतो छैन जिन्दगीमा। यस्तो राम्रो लोग्नेमान्छे पठाईदिएका छन्। अब बाँकी जुनी काट्न यत्ति भए मलाई केहि चाहिन्न।”
“अब यो मुलुकले शरण दिएको छ, खान दिएको छ, केको अल्लाह र शिवजी नि, क्राइष्टले हेरे भनौं न”। खाबिर भाइ रमाईलो मुडमा आए। कुराको बिट मारेर निस्किने बेलामा मायाँ दिदीले ढोकैनिर आएर भनिन- भाइ, अर्को दशैंमा टिका लगाउन आउ है ! दशैं नमनाएको ठ्याक्कै २२ बर्ष भयो।”
गएको २२ बर्षमा मायाँ तामाङ्ले कुरानको कति श्लोक घोकिन, बुर्काको जालीदार प्वालबाट कति चिहाइन, कतिपल्ट जीवनको अन्तिम दिन आजै हो भन्ने ठानिन, ‘मायाँ’ बाट ‘खादिजाह’ भइन होला। तर टिकाको रंग र जमराको बासना भुलेकी रहिनछन्।

* * * 

[पोखराबाट निस्किने समाधान दैनिकमा प्रकाशित : http://goo.gl/YyrRT4 ]