ती मध्य एक म

न्यू रोडको साँझ
धकेल्दै,ठेल्दै,पन्छाउँदै
हिप्पीहरुको निर्लज्ज ड्यास
हतारमै फ्याँक्छन् सरी
हतारमै बल्छ स्ट्रीट ल्याम्प
हतारै हतार मान्छेलाई
ती मध्य एक म ।
रोजिन बेकरी
शंखमुल चोक
एक मुस्लो धुँवा
चिया र चुरोट
इन्जिनियरहरुको हुल
ती मध्य एक म ।
नोकियाको मोबाइल सेट
अनगिन्ती मिसकल
थोरै मेसेज थोरै कल
कतिले फर्काउँदा हुन्
कतिले लत्याउँदा
ती मध्य एक म ।
मास्टर कन्ट्रोल रुम
चौविसै घण्टा
अन इयर छ जिन्दगी
सबैको गुनासो सबैसंग
थोरै खुसी थोरै उदास
ती मध्य एक म ।