कलेजमा कफि-गफ

"पढेर के हुन्छ ?"
रोजिन बेकरीका सबै कुर्सी भरिए । चियाको अर्डर भयो, अनि सुरु भयो गफ । उता क्लासमा सर पसेको देखियो, पढाउन ।

"पढेर कामै छैन यार !", पढाइप्रतिको वितृष्णा एउटाले मुख खुम्च्याउँदै ओकल्यो ।
"यस्तो पनि सिलेबस, यस्तो पनि कोर्ष ?", सबैलाई मोह विदेशको, विदेशी पढाइको (विदेशी कमाईको) । एकैछिनमा समोसा आयो तात्तातो । सबैले हात लम्काए । प्रसंग मोडियो, "लभ आजकल कस्तो लाग्यो ?" गफका लहर फरक-फरक, छिन-छिनमा । जय नेपाल हलको टिकटको पैसाको कुरो, फोर-डि फिल्मको कुरो । सबैको निष्कर्ष निस्कियो- "टिकट अलि महँगो नै हो ।" भृकुटी मण्डपको प्रदर्शनी चाहिं सबैले हेर्ने नै भए, त्यहाँ प्रवेश निःशुल्क छ रे ! खै अरु के-के कुरा भएर हो, फेरि कुरो आइपुग्यो पढाइको । "इन्जिनियरिडमा यो विषय कामै छैन, त्यो विषय पढेर के उपलब्धि छ खै !" पढेर काम छैन भनेर प्रमाणित गर्नमै सबैको तर्क सोझिएझैँ लाग्दै थियो । "नेपालमा बसेर काम छैन", सबैको कुराको थिम निस्कियो ।

कलेज छेउको क्याफे, रोजिन बेकरी । क्लास भएन, सर ढिला आउनुभयो, पढाएको बुझिएन, अलि जाडो भा'जस्तो भयो, धेरै पानी पर्‍यो, घाम चर्को लाग्यो, फिल्म हेर्ने योजना बनाउनुपर्‍यो ...अरु यस्तै-यस्तै सबै बहानाहरुलाई फिट हुने ठाउँ, क्याफे । कलेजभित्रकै क्यान्टिनमा चाहिं कर्मचारीहरु बाहेक अरु छिरेको खासै देखिन्न । चिया मीठो नभएर भने होइन, कारण कलेजभित्र 'सूर्य' लाग्दैन । त्यसको लागि बाहिरै निस्कनुपर्छ, तर खुल्ला ठाउँमा हैन अलि कोल्टोमा । क्लासमा विद्यार्थी अलि थोरै देखिए । सरलाई शङ्का लाग्यो, हान्निएर क्याफेतिर गए । फरकै परेन, सबै अटाइ-नअटाइ त्यहीँ थिए ।

प्रसंग उपराष्ट्रपतिको । "बल्ल ठीक भो, सर्वोच्चले गर्नुपर्ने नै त्यही थियो नि", एउटा कुर्लियो । कसैले मौन सहमति जनाए, कसैले अझ कुरा थपे, ठूलो स्वरमा । राजनीतिक कुरो आएपछि सबैको इनर्जी एकाएक ह्वात्तै बढ्छ । एउटाले माओवादीको कुरो झिक्यो । सुजाता कोइराला र झलनाथको पनि कुरो उठ्यो । "माओवादीले अब गर्ने भन्या आन्दोलनले माखो मर्ने होइन", यसमा चाहिं सहमति-विमति सबै सुनिए । सँगै बसेर चिया खान सुरु गरेका जिग्रीहरु एकछिनमै सदनका सत्तापक्ष र प्रतिपक्ष झैँ देखिए ।

"होइन क्लास भइरहेको छ कि क्या हो अहिले ?" एउटा अलि पढ्ने जस्तोले सुस्तरी बोल्यो । "पढ्ने चाहिं को-को रहेछन्...हा हा हा...हाम्लाई के को बाल् !" पत्रिकाको दाइँ छ, टेबलभरि । मुख्य पृष्ठको ठूलो फोटो, केटीहरुले आँखा तन्काए । "ओह् ...नो, कस्तो घिनलाग्दो फोटो !" नाक तीन ठाउँमा फोल्ड भयो । जाजरकोटकी झाडापखाला पीडित एक महिलाको फोटोले त्यति मुड बनाएन । अन्तिम घुट्को चिया पिएपछि फेरि अर्डर गरे- "दाइ, अर्को एउटा अलि दूध धेरै राखेर, मीठो बनाउनु त !" समाचारमाथि टिप्पणी गर्न माहिर छन् सबै । सबको आ-आफ्नो लजिक छ । कुरा सुन्दै जाँदा पसले दाइलाई लाग्दो हो- यी विद्यार्थीहरु सारा संसार जान्ने छन्, खालि एउटा कुरा छोडेर ..., आफूले पढ्ने विषय !

कृतिकाले राशिफल खोज्दै थिई । आँखा पर्‍यो प्रथम पेजको देब्रे कुनामा । "होइन यो... यस्तो कार्टुनहरु के बनाएको, केही बुझिन्न यार !" उसको चित्त बुझेन । "अन्त, मान्छेको फिगर पनि के बनाको ...कच्याक कुचुक परेको, अलि दाम्मी बनाउनु नि !" टाढा भएपनि मेरो छेवैकोले 2x मा जुम गरेर हेर्‍यो, राजेश केसीको कार्टुन रहेछ । म बोल्न खोज्दै थिएँ, उसैले उछिन्यो - के गर्छौ त अब ,यसमा सैफ र क्याटरिनाको फोटो बनाउँदैनन्, फेरी तिमीहरुले खोज्ने जस्तो ....पनि बनाउन मिलेन...हा हा हा....।" उसको पछिल्लो नन-भेजले कसैलाई खासै असर परेन । तर पसले दाइलाई के घत परेछ, हाँस्दा चिया नै छचल्काए ।

राशिफल फेला पर्‍यो । उसको 'प्रियजन भेट' रहेछ । मेरो 'कर्मप्राप्ति'। " अनि मेरो ?" अर्को कुर्सीछेउबाटै लम्कियो, "मिष्ठान्न भोजन ।"
"अनि मेरो ?"
"धर्म बढ्ने ।"
"अनि मेरो ?... ... ? ",प्रायः सबैको जिज्ञासा आए ।
'व्यर्थ भ्रमण'...'परिवार सुख'.....'पराक्रम बढ्ने'....'सन्तान सुख'....
"ह्या..जे पायो त्यै !", सबैभन्दा पहिला उसैले ओठ लेप्र्याई । तैपनि राशिफल चाहिं हेर्नैपर्ने ।

"ओहो...११:३० भइसक्यो ।" मर्निड कलेज सकिन लाग्यो ।
"सरको लेक्चर सकिया हो ?"
"अँ भर्खरै सकियो रे", कसैले परबाट खुलासा गर्‍यो । सबैको आ-आफ्ना गफका प्रसंगको विस्तारै बिट मारियो । केटा हो, साँझतिर यसो बसन्तपुर जाम् है, पढ्दा-पढ्दा कति 'ह्याङ' हुने ? आँखालाई पनि अलि राहत हुन्छ...हा हा..ग्यादर हुने है !" असहमतिको कुरै थिएन ।