गजल

आधा छु एक्लो छु, खै के को माझमा छु
सुन्यता वरिपरी छ, लाग्छ सधैं साँझमा छु
मदिराको साथ लिदाँ, नजाती मनले हेर्छन
त्यसै बैरी देख्ने, यही पापी समाजमा छु
रात रात बिताँउछु, खेल्दै शब्दसँग
गजलभित्रै रुमल्लिने, फजुल कामकाजमा छु 
आधा छु एक्लो छु ,खै के को माझमा छु
सुन्यता वरिपरी छ, लाग्छ सधैं साँझमा छु



एक्लोपन

आफुले नरोजेको कुरा
आफुले नखोजेको कुरा
किन अङगाल्न खोज्दैछौं
किन प्यारो मान्दैछौं,
यो एक्लोपन !
अमुर्त कला जस्तै 
नबुझिने मन,
हेर्यो ... फर्कियो ;
बादलका टुक्रा जस्ता
'नमिल्दा समानता'
अजिब समयको 'प्लट'  ;
चैतमा ,
कस्तो खहरे यो ;
सबै भढारिदियो
सबै बगाइदियो
माया जति,
बाँकी रह्यो
नरोजेको कुरा
नखोजेको कुरा
यो एक्लोपन !

म बडो 'कन्फ्युज' छु

हाँस्दा हाँस्दै
रुन मिल्ने,
रुदा रुदै
हाँस्न मिल्ने,
सजिलोपन !
मेघ गर्जिदां
बिजुली चम्किदा
टाँसिन मिल्ने ,
दर्केको झरिमा
ओत लाग्न मिल्ने
अली ठुलो छाती !
आफ्नो माया
देखाउन मिल्ने,
अर्काको रिस
पोख्न मिल्ने
'फ्लेक्शिवल' मन ;
देउताले बनाइ दिएको
आफुले मेहनतले भेट्टाएको
यो
छ फिटको ज्यान,
यस्तै यस्तै....
भन्थ्यौ तिमी
छाती माथि रुन्थ्यौ ,
कहिले ओठका
कहिले आँसुका ,
तातोपन ताजै छ !
अहिले ....
यो मोडमा
म बडो 'कन्फ्युज' छु
त्यो व्यङ्ग्य थियो कि
वास्तविकता !