आउ रोपाईं गरौं

आउ रोपाईं गरौ,
दबदबे हिलो नभएर के भो
आली र समाहा नभएर के भो
मनको बाँझो टारीखेत
अहिले अली अली भिजेको छ,
कयौं रातका आँशु साक्षी छन
आउ रोपाईं गरौं !
मायाका बिउ
छिप्पीसकेका छन
बिचारका ब्याड
किन जर्जर हुन दिने,
साउन लाग्ला भदौ लाग्ला
खडेरीमा गाह्रो हुन्छ फेरी,
म सम्याउदैं छु छेउ कुना
संगै रोपौ न है
आउ रोपाईं गरौं !

सुन्दरता

न बैंसको उन्मुक्तता
न यौबनको मादकता
न जवानीमा मोहकता
म देख्छु फेरी पनि 
उनको सुन्दरता !
न उछ्रिन्खल आधुनिकता
न पुरातन संकीर्णता
न हीउँ जस्तो चेहरा
म देख्छु फेरी पनि 
उनको सुन्दरता !
एउटा आम सरलता
चेहरामा निर्दोशता
मनको मधुर्यता
म देख्छु फेरी पनि 
उनको सुन्दरता !