गाउँ जस्तै गाउँ


' बिदा स्वीकृत भयो ? '
सुदिप हाँस्दै निस्कियो हाकिमको कोठाबाट ,'बल्ल बल्ल मिल्यो यार '। घडीको सुइसँगै बाँधिएर चलिराख्नुपर्ने यो काठमाडौंको जीवन । धेरै समयपछि घर जाने मूड  बनाउँदा पनि अर्कै आनन्द आउने । अनि जाने  दिनको त्यो विहान हिजोअस्ती जस्तो पक्कै थिएन ।
'दाई यता यता…भाडा मिलाइ दिई हाल्छौं नी'
'कता जाने दाईहरु कप्फर्ट गाडी छ हाम्रो जाम जाम'
'दाई हाम्रो गाडी भाले हो क्या सुपरफाष्ट छ आउनुस् आउनुस्',  छैउमै आएर एउटा करायो । गाडी पनि भाले पोथी हुँदोरैछ ! पहिलो पल्ट सुने बेफिक्री  हाँसियो । यात्रुको तानातान ,एकछिन अलमलमै बित्यो । एउटाले सुदिपलाई झन्डै पोखराको गाडीमा हालेको, ऊ मुश्किलले उम्केर आयो । एकछिनको गलफत्ति पश्चात गाडीको निर्णय भयौ । झोलाको थान्को लागाएपछि खलासीले मेरो कानैमा आएर भन्यो- ' यो भाडाको कुरो चै अरुलाई नभन्नु होला नी ।'  एका विहानै दुई 'टुरिष्ट पारामा' कलंकी पुगेका हामी दुईले गाडीको छनौट भने 'नेपाली पारामै' गर्यौं । केहीबेर अझैं यात्रुको  बल्छी थापे पछी बल्ल गाडी हिंड्यो गोरखाको यात्रामा ।
              झण्डै ४ घण्टा भन्दा अलि बढि समयपछि हामी गोरखाको १२  किलो बजारमा उत्रियौं । हिउँदमा भएको भए कच्ची बाटोमा धुलो उडाउँदै केही घण्टा जीपको मच्चाईले घर पुग्न सक्थ्यौं । यो झरि र हिलोमा त्यो सम्भव भएन । त्यहाँ वरपरका लाई सोधियो, दरौदी खोला बढेर वारपार छ रे । हाम्रो लेफ्ट- राइट- लेफ्टको विकल्प भएन । कुनै नयाँ विदेशी गाउँ घुम्न आएझै हामी क्यामरा तेर्स्यादै  हिड्यौं । बाटोमा भेटिने रुख, चरा, स्कूले केटाकेटी, भैसी, खेतको आली, पानी लगाउने कुलो, धान काट्दै गरेका खेताला ,दरौदीको बगर..... सुदिपले केही बाँकी राखेन । आफू जन्मे हुर्के बढेको ठाउँ त्यही हो, बन जंगल तिनै हुन् ,काली भैंसी र गोठ पनि उस्तै छन् , सुसेली मार्दै 'छोई'  खेल्ने ठूलो बरको रुख त्यस्तै छ । तिनमा फोटो खिचौं  खिचौं लाग्ने त्यस्तो के नै छ र , तैपनि समयको यो अन्तराल वा भोगाइको यो कालखण्ड र अनुभवले शायद तिनको मोहनी रुपलाई कैद गर्नुको बेग्लै मजा आउँछ आजकल । फेरि पहिले जस्तो रिल धुलाउन पर्ने क्यामरा कँहा हो र ! अहिलेको डिजिटल युगमा बेहिसाव खिचे हुन्छ देखे जति मन लागे जति ।
'ब्याट्री सकिएला ....अनि कति ढिलो हिड्या ! ३/४ घण्टाको बाटो छ । यतै रात पार्ने हो र ? ' म सुदिपसँग झर्किन्छु । बाटो काट्दै गर्दा गाउँठाउँका दृष्य त छँदै छन् समाजका फेरिएका संस्कृती र जीवनशैली हाम्रो गफका विषय बन्दै थिए ।
             गाढा नीलो फ्रक  र आकाशे सर्ट हातमा केही दोब्रिएका कापी किताब सहित एक हुल विद्यार्थीहरु फाँटको सम्म बाटोमा  भेटिए । धेरैजसो ९-१० कक्षा पढ्ने जस्ता देखिने केटीहरु मध्ये केहीका हातमा मोबाइल पनि देखियो । सुदिपको क्यामरा जुम भइहाल्यो । 'कोही छुट्लान् कि' भने जस्तो गरेर ऊ पालैपालो फोटो खिच्दै थियो । सबै खितित्त हाँसे । हाम्रो स्कूले जीवन जस्तो डर लाज र संकोच उनीहरुमा अँह फिटिक्कै देखिएन । नयाँ मान्छे देख्यो कि भाग्ने, लजाउने वा लुक्ने कसैले गरेनन् । केही कानेखुशी अनि मकै भुटेजस्तै फुल उठेका हाँसो;  हामी मख्ख पर्दै थियौं ।
'दाइहरुको पनि फोटो खिचिदिउँ ',  एउटीले जिस्काई ।
'कस्तो ह्याण्डसम हो क्याप लाउने दाई !'  हाँसोको फोहोरा सुदिपतिर सोझियो ।
'आबुई केटीहरु त क्या फरवार्ड पो रहेछन्' , ऊ झस्कियो । 'अलि राम्रा केटीहरुले जिस्काको भए नी एउटा कुरा  ……'। उसले अन्तिम पल्ट क्लिक गर्यो । 'राम्रा केटीहरु त जहाँका पनि उस्तै त हुन् भाउ खोजिहाल्ने',  हामी मुख विगार्दै अघि बढ्यौं ।
           हाम्रो गफको फेरले कहिले अफिसको ड्युटी छुन्थ्यो त कहिले सुनिललाई परेको 'डि.भि' । ह्याप्पी फ्राइडे  पार्टीदेखि गुगलको 'एन्ड्रोइड', रोबोटको डिजाइनदेखि नम्रता श्रेष्ठको भिडियो, रातभरिको फोन वार्तालाप ,त्यो फिलिपिनो केटी, कलेजको प्रोजेक्ट रिपोर्ट ,अफिसका हाकिम ,नयाँ फेसबुक 'फण्डा', 'काली'को आठौ फष्ट लभ, मोबाइलको बि.टि.एस ……। केही पनि बाँकी राखेनौं हामीले । मिल्ने जति सबै रङले बनाएको 'कोलाज' जस्तै थिए हाम्रा गफका प्रसंगहरु । केही पनि सिक्न, जान्न र गर्न नछोड्ने हाम्रो पनि त 'उग्र जिज्ञासु' बानी ।
              करिब एक घण्टाको हिडाइ पछि हामी थकाई मार्न चोरकाटे बजार नजिकै पुग्यौं। कुमाले दाइको घर नजिकैको बरको छहारीमा  सुस्ताउन पाउँदा ठूलो राहत मिल्यो । तर नजिकै मकैबारीमा कोही गुन गुन गरेजस्तो सुनियो । एउटा हातमा खन्दै गरेको कोदालो र अर्कोमा मोबाइल;  ४०- ५० की देखिने एक जना महिला र १०-१२ वर्षकी बालिका,  पालै पालो फोनमा कुरा गर्दैथिए । म पहिले पोखरामा इन्जिनियरिङ पढ्दै गर्दा घरबाट बुबाले फोन गर्न एक दिनको बाटो धाएर आँबुखैरेनी पुगेको मलाई थाहा छ । अहिले छोप्राकको मकैबारीमा नोकियाको यो भाँडोको कमाल हामीलाई कम्ती रोचक लागेन । हामी उत्सुक भयौं ।
उनका श्रीमान् मलेसियामा रहेछन् ।
'फुन पनि उता टै पठाइद्या  हुन्……'। महिला दंग देखिन्थिन् । 'अँ ......यस्का बाऊ क्या; कहिलेकाँही यता ट, नत्र धेरै त उतै ट' फुन गर्छन् ।  उनी यसो भनेर मुस्कुराइरहँदा  उनका निधारबाट ओर्लेका पसिना गाला छेउ छेउ बाट तर्किदैं थिए । तर उनको सन्तुष्ट अनुहारले भने 'विदेश जाँदा लिएको ऋण बाँकी छैन' भनेझै लाग्थ्यो । रेमिट्यान्सको यो प्रभाव यहाँ जस्तै धेरै गाउँहरुमा प्रत्यक्ष यस्तै देखिदै छ आजकल ।  गरिबी ३१ प्रतिशतबाट घटेर २४ को आसपास पुगेको छ रे ।
सुदिप लामै इन्टरभ्यू लिने सुरमा थियो
'श्रीमान् बाहिर गएको कति भयो...
उता के काम गर्दा रैछन्....
छोराछोरी कति जना , कतिमा पढ्छन् ..?' 
क्यामरा निकाल्न हामीलाई बेर लाग्दैन । उसले खिचेको फोटोको क्याप्सन पनि त्यही जुरायो  टेक्नोलोजी मिट्स पिपल !
                   आमा छोरीलाई मकैबारीमै छोडेर हामी बाटो लाग्यौं । स्याउलाले छाएको भट्टीमा सुकुटी र च्यूरा फाँको  मारेर हामी बिस्तारै उकालो लाग्यौं । 'त्यो दुइवटा डाँडा काटेपछि त घरको छानो देखिन्छ '। खुइय गर्दै गरेको सुदिपलाई मैले ढाडस दिए । पानी पर्ला पर्ला जस्तो तर मलिनो आकाश; यो यात्रा यसै पनि शितल थियो । पहिले द्धन्दकालमा जस्तो साँझ नपर्दै घर पुग्नुपर्ने त्रास थिएन । स्कूले केटाकेटीहरु, बुढासँग कुरा गरिरहेकी माहिली दिदी, बाटामा  भेटिएका भरिया दाइहरु भट्टी पसलकी ठूल्दिद....,  मलाई लाग्यो अहिले मानिसहरुमा द्धन्दकालिन सन्त्रास छैन, अपरिचितसँग पनि खुल्दैछन् उनीहरु ।
ठाँडो बाटोमा हामी दौतरीको  'माइलेज' घटिरहँदा तलबाट एक हुल भर्खरका केटाहरु भने जोशिदै उकालो चढ्दै थिए । हामीहरु बल्ल बल्ल घिस्रीरहँदा उनीहरुले भने हामीलाई फूर्तीसाथ भेट्टाए । हामी पनि के कम, उनीहरु सँगसँगै उकालो लाग्ने सुर कसिहाल्यौ ।
               कोही एस.एल.सी मात्रै सकेका, कोही एक  दुई वर्ष गोरखा/ सरस्वती क्याम्पस पढ्दा पढ्दै छोडेका,  दर्हो पाखुरा भएका, यस्तै यस्तै थिए औसतमा । धर्ती '३ बित्ता उचाल्न' सक्ने यो युवा शक्ती !
मोबाइलका कुरा, मिसकलका कुरा, केटीका कुरा, जाँड खाएर गरेको झगडाका कुरा, साइला काका साउदीबाट फर्केको कुरा, कृष्णेको मलेसियामा एउटा औला काटिएको कुरा, अन्जु पन्तका गीत ,निखिल उप्रेतीको फाइट…… उनीहरु क्षणमै खुशी देखिन्थे अनि क्षणभरमै दुखी । बेला बेलामा एउटा शिखर चुरोट मिठो औषधी खाए झै सबैले तानातान गरर खान्थे ।   घरि घरि हामीले सोधेको प्रश्नको उत्तरभन्दा भन्दा उनीहरुलाई आफ्नै गफ प्यारो थियो, तिनले के अल्झाउँथ्यो उनीहरुलाई ! अलि माथिसम्म उनीहरुसँगै उकालो लागिसकेपछि हाम्रो छुट्टीने बाटो आयो । अन्तमा हामीले निष्कर्ष निकाल्यौ,  यसरी हस्याङ फस्याङ गर्दै उनीहरुसँगसँगै कुद्ने तागत छैन हामीसँग । बरु रोकिदै गरेको श्वासलाई एकैछिन सुस्केरा हाल्न दिनुमै हाम्रा लागि हितकर छ ! हामी छलियौं  ।
स्कूलमा माष्टरले सजिलै टेष्ट पासको सर्टिफिकेट किन नदिने होला...
मोबाइलमा ब्याट्री सधै टिकिरहने किन नबनाएको होला...
सबै नेपालीलाई एकै चोटी भिसा नलगाइदिएर ३३ दिनसम्म किन लाइनमा राखेको होला...
अलि अलि पैसा हुने मान्छे त गाउँमै  किन बसिरहेका होलान्, शहरमा गएर मोज नगरेर !
उनीहरुले नबुझेको कुरा धेरै रहेनछन्,  माथीका यस्तै केही प्रसंग बाहेक ; लाग्थ्यो यी बाहेक उनीहरु सारा दुनिया जान्दछन् । उनीहरुका कुराहरु विस्तारै ओझेल पर्दै गए, पश्चिमको घामसँगै । बसाइ सरेर ढोका लागेका केही बन्द घरहरु अनि बाली नलगाइएका बाँझा गह्राहरु टेक्दै हामी पश्चिमतिरै सोझिरह्यौं ।
सुदिपलाई केही राहत मिल्यो, मलाई पनि । 'बल्ल सकियो उकालो ,कस्तो गाह्रो यार तिम्रो घर आउन ।'  उसको थकित स्वर पनि पसिनाले निथु्रक्कै भएझै लाग्यो मलाई ।

नमस्कार, गोरखा  FMमा स्वागत छ !
प्रधानमन्त्री चुनावको लागि दौडधुप आजपनि कायमै...
दल  आजको चुनावमा पनि तटस्थ बस्ने …॥

बाटो आसपासका घरका भित्ताहरुमा झुण्ड्याइएका सबै जसो रेडियोमा जिल्लामै खुलेका  FMहरु सुनिए ।

'लौ हेर....हाम्राँ 'पस्दै नपसी लुसुक्क भाग्न पो लाको रैछ '। कान्छी काकीले आँगनको डिलमै पक्रिनु भयो । बाटैमा काकीको घर, आउँदा जाँदा सधै पस्थे,  यसपाली गफै गफमा लम्कदाँ झण्डै बिर्सेंको  ।

'गाउँको चियामा पनि काठमाडौंको फ्लेवर  ?'
'पाउडर दुध हो, मिठो लागेन कि क्या हो बाबुहरुलाई ?के गर्नु आजकाल भैसीं दुहुनो छैन ।'
'होइन ठिकै छ, काकीलाई यसै जिस्काको नी',  हामी बाटो लाग्यौं । पोलेको मकै खुवाउन पाइन भनेर काकीको कत्रो गुनासो  !
               काकीको घरको चियाको स्वादले जिब्रो त गुलियै भयो, तर मन भने अमिलिरह्यो ;  आजकाल गाउँमा अैँचोपैँचो  चल्न छोडेछ क्यारे । नत्र त दुहुना नहुँदा ओल्लो पल्लो घरबाट काम चलाइन्थ्यो । आजकाल गाउँमा काम गर्ने खेताला पाइन छोड्यो रे, काकी भन्दै हुनुहुन्थ्यो-  धान पनि एक बाली मात्रै लाग्यो रे । पोहोर परार जस्तो घर छेउको चौतारामा गफ चुट्दै तमाखु खाइरहेका हजुरबाहरु भेटिएनन् । उहाँ  भन्दै हुनुहुन्थ्यो- अहिले गाममा सबैका घराँ रंगिन टि.भि छन् ! आगो खोज्न पल्लोघर जानुको सट्टा गाउँतिर आजकल ग्याँसका सिलिन्डर खोज्न सदरमुकाम जान थालेछन् । एकलकाटे प्रवृत्ति बढेछ, म बस्ने काठमाडौंमा जस्तै ।

              घर पुग्दा अध्यारै भइसकेको थियो । पिढि उस्तै लाग्यो, पाली चै फेरिएछ । गोठमा दुई वटा भैसी अनि आँगनमा इट्टा छापिएको रैछ । पोहोर साल मैले राखेर गएको छाता जस्तो डिस्क एन्टेनामाथि दाउराको चाङ, अनि त्यसमाथिको करेलाको झाङ ,एन्टेनाको प्रयोग आमाले राम्रै गर्नुभएको रैछ ; वर्खामा दाउराको जोहोको यो उपाय गज्जव लाग्यो। त्यो देखेर सुदिप भने मुच्र्छा परेर हाँस्यो , फोटो फेरी उतारियो ।

             झ्वाँईई...य ,  दालमा घ्यू झानियो । विहान बेलुकीको क्यान्टिनको खाना खाँदा खाँदा वाक्क भएको मलाई बुबा आमासँगै बसेर खाएको यो खानाको स्वाद पनि बेग्लै लाग्नु स्वभाविक थियो । त्यसपछि एकैछिन गाउँका हालखबर एकैछिन शहरका विदेशका हालचालका प्रसंग उठे ।
'इन्टरनेट जोड्न नपाएर यो कम्प्युटरको कामै भाको छैन ।
अनि खोइ ,नयाँ एन्टिभाइरस ल्याइस  ?'
            राती अबेरसम्म बुबाको गनगन सकिएको थिएन । निदाउनै लागेको बेलामा मोबाइलको घण्टी बज्यो। म सुदिपलाई प्राय जिस्क्याउँछु ,सबैभन्दा ब्यस्त  टेलिकमको १९७ नम्बर हुन्छ  त्यसपछि तिम्रो ।  यसपालि पनि फरक खाएन । 'बेबी आई एम सरी , एट भुवन्स नाउ एण्ड टु टायर्ड अफ वाकिङ्ग । गुड नाइट एण्ड लभ यु सो मच ।'   सुदिपले मेसेज फर्कायो । म भने मेरै पुरानो गाउँ जस्तै गाउँ सम्झदै थिएँ  ।

5 comments:

  1. शब्दसंगै गाउँ घुम्नुको बेग्लै अनुभव । ...likd ur views n style....thnks for these lively feelings....

    ReplyDelete
  2. राम्रो छ भुवन,यो पढेर तिम्रो घर आफै गएको जस्तै लाग्यो ।

    ReplyDelete
  3. sathi comment nepali mai dina payako bhaye kati ramro hunthya.....


    malai lagyo techno - village lai yo article marfath dekhauna khojiyako chha.
    ani gau ma yaha bhaniya jastai aawasta chha....
    aauda din ma aajai naya-naya rachana padhna payous.
    keep it up saathi.

    ReplyDelete
  4. nice articel.
    Nepali techno - village ko roop rekha aako chha
    keep it up

    ReplyDelete