के के फिर्ता चाहन्छौ तिमी !

के के फिर्ता चाहन्छौ तिमी
त्यो स्वछन्द हाँसो
त्यो सुँक्क सुँक्क रोदन
या,
घन्टौं खर्चेर बुनिएका
भबिश्यका सुन्दर सपना,
के के फिर्ता चाहन्छौ तिमी
त्यो जन्मदिनको उपहार

या,
सबै सँग लुकाएर

दिने गरेको प्यार
माया गर्न ,

केबल माया गर्न
भोगेका दु:ख पिडा,
देख्न,
केबल एक झल्को
हिंडेको बाटो सिधा
के के फिर्ता चाहन्छौ तिमी,
समाजसँग मानेका ति
लाज, डर र त्रास
परिवारको स्वीकृति
एउटा सुन्दर घरको आस !
मेरा लागि तिमी ;
कहिले साथी
कहिले प्रेमिका
कहिले आमा
कहिले पथप्रदशक
कहिले अर्धाङिनी जस्तै  .....
कुन चाँही भोगाइ
फिर्ता चाहन्छौ तिमी !
अरुले चित्त दुखाइदिदां
सँगइ बसेर रोएको
आफ्नै मन मैँलिदा
साना खुशीले धोएको;
तिमीले दिएका
सबै चिज छन म सँग !
मिठा स्‍मृति
सुन्दर न्यानोपन
एक दर्जन सपना
राम्रा उपहार

अब्यक्त तिरस्कार
सबै छन म सँग
भन,
के के फिर्ता चाहन्छौ तिमी !