लास्ट पिरियड, लास्ट बेन्च #jptfeelings

उनलाई 'गुरुआमा'
नभने हुँदैन ?
मलाई त उनि
उनकै नामबाट
बोलाएको मन पर्छ ;
उनको सुन्दर, लामो कपाल
नाबांधेकै ठिक ,
त्यो सांबलो बर्ण
चन्चल आँखाले
टोलाएको मन पर्छ ;
त्यति कोमल शरीर
त्यति हँसिलो चेहरा
मा सोचमग्न  छु ....
कसरि हुन सक्छौ कहिलेकाँही
साँच्चै कठोर ?!

एक झोंक्का हावा
यहि बाटो आए हुने नि,
तिमीलाई छोपिदिने
त्यो कुमको पछ्यौरी
नत्र कसले उडाउँछ...
म मा त्यति हिम्मत छैन  !

ब्ल्याकबोर्ड भन्दा,
त्यसअघी उभिने
'सुन्दर आकृति'
पढ्न मन छ !
म किन नियाँलौ
नोटबुकको पाना पाना
............
धत् , यस्ता नि बिध्यार्थी ?!
माफ गर्नुस ...
मलाई साच्चै पढ्न मन छ,
नत्र ती ओठ,आँखा,बोली
किन हुन्थे
त्यति जटिल अनि मिठा ?
देवतालाई हेक्का हुनुपर्थ्यो  !

म गर्व गर्छु

म कति गर्व गरौँ 
मेरो देशको !
जहाँ गाउँका ट्रयाक्टर बलिया  
Cartoon: Uttam Nepal
उड्ने हवाईजहाज भन्दा ,
जहाँ नेताको संख्या धेरै 
'खाँटी जनता' भन्दा,
तैपनि म गर्व गर्छु साथी 
किनकि यी सबै मेरै देशमा छन् :
१५ रुपैयाको चाउचाउले
१५ लाखको घर दिने !
जुत्ता टल्काउन पालिस होइन 
'टर्च' उपहार दिने !
जनता-नेता ...
रहेनन कोही अब, 
फलामे छड 'इमान्दार' हुने |
कति राम्रो चलन, आहा !
देश बनाउने ठेक्का 
नीति निर्माताले होइन,
'सिमेन्ट कम्पनी'ले लिने !
चोर-ठगलाई जेल हाल्ने ?
धत् , त्यो उहिलेको कुरा...
मेरो देशमा नेता/पत्रकारलाई 
राख्ने अब जेल खुल्ने  !
उपभोक्ताले खाईदिन मात्रै पर्छ 
पाईखानामै सुन्दर 'मिठाई' बन्ने !
तैपनि म गर्व गर्छु ;
जे पनि बिक्ने मेरो देश !
मान्छेका सम्बेदना
नेताका नैतिकता 
बुद्धिजीविका बिचार
आफन्तका आत्मियता 
सबलाई प्रायोजन गर्न मिल्ने !
तैपनि म गर्व गर्छु साथी 
किनकि यी सबै मेरै देशमा छन्  
दुनियाँमा अन्त 
कहिँ नहुने कुराहरु || 

you and me

Compromise and
sacrifice !
two different things.
The one I did
and you , the other !

heavyfeelings


धन्न,
टेकेको जमीनले धानेको छ, 
तिम्रो यादले यति भारी बनाउँदा नि |
मेरो त वजन 
कती नै थियो र ! 

भारी मन [#heavyfeelings]

कुनै कुरा,
चियापसलको गफ जस्तै
उठाएर छोडिदिन गाह्रो |
कुनै पिडा,
'एयरहोस्टेस'को हाँसो जस्तो
खिस्स टारिदिन गाह्रो |
'जीवन, एक सम्झौता', किताबमा मात्र पढेको 
तर आँफैले भोग्दा 
कुनै उपकथाहरु... 
आँफै बन्दा एउटा सानो पात्र, 
फिल्म हेरेर निस्केझै, 
खुसुक्क हल छोडिदिन गाह्रो | 
उँडाईदिन मिल्ने धुँवाहरु छन, 
घुट्क्याईदिन मिल्ने नशाहरु छन,
टारीदिन मिल्ने हाँसो,
लत्याईदिन मिल्ने जिम्बेवारी,
बिर्सिदिन मिल्ने जन्मदिन, तिथी, मितिहरु 
नदेखेझै गर्न मिल्ने कती द्रिश्य छन ; 
तर कुनै कुरा, साह्रै गर्हौ 
थिग्रिदिने मनको पीँधमा,
न ओकल्न मिल्ने 
न उँडाउन मिल्ने 
न बगाउन मिल्ने 
तर म प्रेम गर्छु...
यी सबै सबै भारी पार्ने 
सुन्दर अनी 'मिठो बोझलाई'  ; 
यसै होइन कहिलेकाँही
यो चङ्गा मन, 'भारी' भईदिने !



माफ गर

तिम्रो पराजित मानसिकता प्रति 
मेरो साहनभुती छ,
माफ गर; म सम्मान गर्न सक्दिन | 
तर तिमी त ,
संसार जित्न हिंडेको मान्छे,
जुन छुन उँडेको मान्छे ,
किन निहुरन्छौ पृथ्वी तिर !
माफ गर; म त्यो हेराईमा  
इमान देख्न सक्दिन | 

आई एम कृष्णबहादुर कुमाल


मिति : ११ असार
स्थान : छोप्राक, गोरखा

         “यो एरियामा मैले जस्तो नम्बरी जाल कसले बुन्छ, अहिले आओस … मेरो कान काटिदिन्छु'”, कृष्णबहादुर कुमाल जंगिए | एउटा खुट्टा अलि नचल्ने ब्यथाले च्यापे पछि गाउँमै धान कुट्ने मिलको ‘ड्राईभर’ बनेका उनले, बाटो छेउको त्यस भट्टीमा कति जर्किन रित्याए, लेखा जोखा छैन | आज यिनै नम्बरी कुमाले दाई मसंग छन् | “कुमालेलाई माछा ….. आss.. बाबु कुरै नगर्नु ; कुन खोलामा कति माछा छन् हेर्दैमा थाहा हुन्छ, नाबुडी हान्नै पर्दैन |” खोलाको एउटा छेउबाट जाल हान्न सुरु गरेपछी घाम डांडा मुन्तिर नझरुन्जेल सम्म जाल हुत्ति रहन्थ्यो उनको | बेलुका आयो, अलिकति भट्टीकी मगर्नीको मा रक्सीसंग साट्यो अनि बाँकी घरमा लगेर धोक्रो पछार्यो – “ला.. बुधेकी आमा,  क्यार्नी हो गर यसलाई, आजका ‘बुदुना’ अच्छा छन्” | त्यसैले धेरथोर घर खर्च चल्यो, बुधे को स्कुल फिस तिरियो, अनि मिठो मसिनो केहि पाक्यो | गाम ठाम सुहाउँदो हुनै पर्यो, चाड पर्ब नमानी भएन, खाने मुख बढीहाल्छन …… लौ यसरि भएन सधै | किस्ने कुमालको बाटो सोझियो मुग्लान तिर | नत्र उसका सोझिने दुईओटा ठाउँ थिए, दरौंदी खोलाको किनार अनि मगर्नीको भट्टी | कहिले काहिँ जाल हान्दै ऊ लम्जुङको साँध, चेपे खोला सम्म पुगेको थियो | खै किन हो त्यहाँका देउता रिसाए , माछा परेनन | “अर्काको डांडा खोलामा यत्रो नि टेक्दीन अब ; त्यस्ता  **जी माछा हाम्राँ नि छन्”| त्यो बेला देखि पल्लो खोला जान छोडेको किस्ने, यो बेला सम्म आईपुग्दा जिन्दगीका कति खोला तर्यो , हिसाब छैन | 

           हेटौडा, बिरगंज, रक्सौल, गोरखपुर काम खोज्दै हिड्यो | अलि अलि मिसिनरी काम सिक्यो, दुख पनि गर्यो, दुनियाँ देख्यो, पुरा 'हिन्दुस्तान' चाहार्यो | तैपनि 'हाउडा'को पुल दिनमा सात पल्ट तर्दा, तल हेरेर अन्दाज गर्न बिर्सिएन-‘ यहाँका माछा चै एक-मान्छे ठुला हुन पर्छ’ | कहिले बिहारी साथी बनायो , कहिले बंगालीको गाली खायो, कहिले कोठीकी ‘लड्की’संग लठारियो, दिनभरी काम गर्यो अनि मातेर इस्टेसनमै बटारियो | “लौ किस्ने मुर्दो बिग्रिने भो यसरि त”| एक हातको औंला भरि गन्न पुग्ने गर्मि खाए पछि एक दिन ब्युँझेर, आफैलाई गाली गर्यो ; खै के सपना देखेर उठेको बिहान थियो त्यो | जम्मा भएको पैसा र लुगा पोको पार्यो अनि त्यो ‘हाउडा’ पुल अन्तिम पल्ट तर्यो | रक्सौलमा आएर अत्तर हाल्यो , दुइटा स्पिकर भएको क्यासेट किन्यो अनि छालाको कालो जुत्तालाई एकपल्ट रुमालले पुछेर आफ्नै घरको बाटो सोझ्यायो |
          “ओई … नेप्टी, थप न ह्याँ, गींलास रित्तेको देख्दिनस ?”| संघर्सको फ्ल्यास-ब्याकबाट किस्ने फर्कियो | उमेरले ५५ हान्दा, मलाई सुनाईरहेका कथामा उसको ‘रिदम’ बिगारेछ, त्यो स्टिलको खालि गींलासले | मगर्नी दिदिले हामि दुबैलाई रक्सी थपेर किस्नेतिर बाण चलाईन-
आफ्नै बुढीलाईझैँ नभन है, दिम्ला घोचाले आईले,   साउनी भन्न सौदैनौ ?”|
खै खै तेरो घोचो हेरम त , मलाई हान्ने " , झिमिक्क आँखा झिम्क्याएर किस्नेले एक मुस्लो हाँसो फाल्यो, देउराली चुरोट संगै |

रमरम रौसी लाग्या बेलाँ त, यसका गाली पनि ख्याल मिठा लाग्छन र !” ऊ रुमानी बन्यो | छोराछोरी हुर्काएर, (उसकै भाषामा) मुलुक घुमेर , दुनियाँ देखेर आएको, ५५ काटेको किस्नेलाई हँसिमजाक र गफ लडाउन कसले सक्थ्यो, अनि छेकोस पनि कसले ! इंडिया बस्दाको प्रभाव होला, म संग बोल्दा बेला बेला अंग्रेजी घुसाउथ्यो | मोटर र मेसिनको पाटपुर्जाको नाम त अंग्रेजीमै भन्थ्यो, स्पष्ट संग | पर परको गाउँमा कतै डिजेलबाट चल्ने धान कुट्ने मिल फिट गर्नु परेमा, नि:सन्देह उसकै नाम आउथ्यो | उसको काम गराई कुनै इन्जिनियर भन्दा कम हुन्न रे, उ दाबी गर्छ | उसको कुरा सुन्दै जाँदा, मेसिनको उसले जाने जति नाली बेली लगायो | मैले अलि अलि लागेको सुरमा, मेकानिकल इन्जिनियरको 'मानार्थ उपाधि' थमाइदिएँ | कुराको तालै तालमा ऊ कहिले कहिँ हात माथि उचालेर भन्थ्यो , “आई एम कृष्णबहादुर कुमाल”| उसको अर्को मन पर्ने लाईन – “एक्स क्युज मि मगर्नी , अर्को गिलास थप त” | सबै नबुझे पनि मगर्नी मुन्टो ऊ तिर फर्काएर धारे हात लाउथीन – “ बज्जेको मुखमा …….” | किस्नेका गालामा अलिकति रक्सि, अलिकति रमाइलोको रंग जम्यो |
           मलाई त्यति नै बेला उसको फोटो खिच्न मन लग्यो | “दाई, तपाईको फोटो र तपईसंगको यी सबै कुरा जस्ताको तस्तै म कम्प्युटरमा लेखौला, सबै साथीहरुले पढ्छन” मैले सम्झाएँ | कम्प्युटर र टिभीमा के के अन्तर छ, थाहा नभए पनि, यो 'चारपाटे भाँडो' कस्तो देखिन्छ भन्ने चै उसलाई थाहा रहेछ | मेरो जाने बाटो अझै एक घण्टाको उकालो बाँकी थियो, म झोला बोकेर निस्किएँ | ऊ अझै जम्ने सुरमा थियो, “बाबु बसम न एकछिन ...... आई एम कृष्ण बहादुर कुमाल …..एक्स क्युज मि , प्लिज ….बसम बसम....ओके थ्यान्क्यु .....गूड् नाईट ” | जाने जति अंग्रेजी ओकल्दै थियो ऊ, म नमस्कार गरि उकालो लागे | मलाई घर पुग्दा सम्म दुइटा कुराले रोमाञ्चित बनाईरहयो - त्यो २ गिलासको रम-रम अनि किस्नेको “आई एम कृष्णबहादुर कुमाल” |   

मेरो जन्मदिनको उपहार

        बुबा भन्नुहुन्छ, उँहाहरुको पुस्ता र हामीबीच ठुलो अन्तर छ | कति धेरै फरक छ सोच्ने तरिका, काम गर्ने शैली अनि लवाईखवाई | उहाँ सोच्नु हुन्छअहिलेकालाई अरुको परवाह छैन,  आफ्नो सुरमा मस्त छन्खालि साथीहरुसंग रमाउँछन, एकदम आफु-बादी छन् | न भावनात्मक मूल्य छ , न सम्बेदना पलाउँछ छिट्टै | केहि नयाँ नयाँ भन्दा भन्दै सबै कुरामा नयाँपन खोज्दै हिंड्छ यो पुस्ता काम केहि नयाँ , बोलाई , हिडाई अनि सम्बन्धमा पनि केहि 'नयाँपन' | हुन त समय कुनै बेला एकै ठाउँ अडिन्छ र ! यो बहावमा कति राम्रा कुराहरु बिकसित हुन्छन, कति बिकृति पनि | कति सुन्दर पक्ष्य देखिन्छन ,कति कुरूप अनुहार |
                   म अनि मेरा साथीहरु बीच उतिसारो अन्तर छैन,  काम गर्ने शैली,  सुत्ने उठ्ने रुटिनसुन्ने संगीत, लवाईको पारा, सोचाईको अन्तर,  आफ्नो क्यारिअर-मोह,  प्रेम-प्रसंग,  इत्यादी | कसैको बिगतसंग मतलब हुन्न, नामको पछाडी झुन्डिने थर संग चासो छैन , न जात न बर्ण | अझ रमाइलो कुरा त,  म आबद्ध TFC Nepal संस्थामा त साथीहरु twitter मा राखिने नामबाट मात्रै  चिनिन्छन, वास्तविक नाम पनि धेरैको थाहा छैन |
              कमाई धेरै थोरै होला, हैसियतमा अन्तर होला | तर कसलाई थाहा पाउनु छ सब ?| चियापसलबाट सुरु भएको सहयोग अभियानका यी तन्नेरी जमात, त्यस्ता बाल बच्चा खोज्दै छन, जसलाई बाबुआमाले सडकमा फालेका छन, पढ्नको मेसो छैन, खान-बस्नमा दाताहरुको भर छ | ती बृद्धा खोज्दै छन जसलाई आश्रममा धपाईएका छन, जो असक्त छन, निधारका सात पत्रे खुम्च्याईमा असाहयताको 'ट्याग' छ | तर, जिन्दगी बनाईदिने ठेक्का होइन, न त बाँचुन्जेल पालनपोषण गर्ने जिम्मा | एक-एक जनाको हैसियतले भ्याउने गरी जम्मा गरेको पैसा, खाने कुरा , लत्ता कपडा, आदिले उनिहरुको सानो गर्जो टार्न पुगोस, अलिकता खुशी थपोस, दुनियाँमा एक्लो महसुस नहोस् अनी केही सकरात्मक भावना बिकसित होस् | यस्ता अभियानहरुमा अरु धेरै मिसिउन, आ-आफ्ना मुठ्ठी थपुन, जसले कालान्तरमा ठुलो सहायता प्रदान गारोस | चाहे सुरुवात किन एउटा खेस्रा कापिबाट नहोस् | बिना लोभ-लालच अनी बोझ, सहयोग गर्न तम्सिने यो जमातलाई डोर्याउने एउटै धागो छ - आत्मसन्तुष्टी | दु:ख सुखको श्रिङ्रगार प्रत्यकका अनुहारमा लेपिएका होलान, संघर्षको निल-डाम सबैका ज्यानभरी होलान | तैपनी अर्को लड्दा उठाउनु र अरुको आँशुमा एकैछिन भएपनी साथ दिनु, कुनै सन्तुष्टीसँग दाँज्न सकिन्न | मिले सम्म आठै प्रहर कम्प्युटर भित्रै पस्न खोज्ने यो पुस्तालाई कुनै नेता अघी लगाउनु पर्दैन - संबिधान बनाउ भन्न, भ्रस्टचार नगर भन्न, देश सुधार्ने बाटो खोज्न |    
        
                         प्रसँग मेरो जन्मदिनको उपहारको | जन्मदिन नजिकिदै जाँदा email का inbox तथा facebook को भित्ता भरी 'ह्याप्पी बर्थडे' का शुभकामना ओईरिन्छन | अनी जन्मदिनमा साथीहरु मिलेर घुमघाम वा रेस्टुरेन्टमा बसेर खाई-पीई गर्नु, प्राय चलिरहने परम्परा हो | भोली-पर्सीपल्ट टेबलमा केही उपहार र कार्डहरु थुप्रीएका हुन्थे | तर गएको मेरो जन्मदिन मेरा लागि बिशेष बन्यो | त्यस दिन कुनै भेटघाट र celebration हुनु अघीनै एकजना साथीले मलाई उपहारका लागि बोलाईन, शुभकामना सहित | बनेश्वोर चोकमा कुनै 'राम्रो' ठाँउमा खान छिरौला भनेर सोच्दा सोच्दै उनले मलाई अली 'ठुलै ठाँउमा' जाँउ भनिन | दुई पाङग्रेमा खुरुरु हामी सोल्टीमोडतिर हानिँयौ | कुनै बिशेष होटेलको अन्दाज गरिरहेको म अचम्ममा परेँ, जब हामी थियौँ  एउटा अनाथ आश्रम अगाडि | मुख्य सडकबाट केही भित्र साँघुरो गल्ली हुँदै कुनामा कोप्चिएको त्यस अनाथ गृहमा प्रबेश गरिसके पछी मलाई, त्यसको बिशालता र त्यसले फैलाएको आश्रयको उज्यालो बोध भयो | केही ३० /३५ बृद्धबृद्धा र ५० भन्दा बढी अनाथ बालबलिकासगैं खाना बनाउने, बाँड्‍ने र रमाइलो गरी संगै बसेर खानु कम्ता आनन्ददायक थिएन । दिनभरी उनिहरुसंगै दुखसुख बाँड्‍दा, पिर र ब्यथाको कथाहरु सुन्दा, त्यसविच पनि ति अबोध र स्वच्छ हाँसो देख्दा, क्यारियरको टेन्सनले आफूमा कहिलेकाहिं हुने 'फ्रस्टेसन' पनि उत्रियो ।
              हुन त एक माघले जाडो जाँदैन । हाम्रो एक दिनको सहयोगले अचम्मै ठूलो गुन लाग्ने पनि होइन । तर प्रत्यकले जो ,'केही गर्न सक्ने' क्षमता राख्छ , जो युवा केही बाँड्न चाहन्छ;  उसले यस्ता सकरात्मक कदम पछ्याउने हो भने, धेरै असाह्य बृद्धबृद्धाको जीवन कष्टप्रद हुने थिएन होला । धेरै अनाथ बालबालिकाहरुले दुई छाक खाएर स्कूल जानबाट बन्चित  हुने थिएनन् होला । त्यतिनै खेर मलाई अस्ति भर्खर एक महँगो रेष्टुरेण्टमा एक प्लेट मम र चिया खाएको रु २५०(१०% कर बाहेक) तिरेको याद आयो । त्यति पैसाले त सरकारी स्कूल जाने एउटा विद्यार्थीलाई एक महिनाको कापीकलम पुग्ने पो रहेछ । एउटा जन्मदिनमा साथी-भाइ बटुलेर साधारण रेष्टुरेन्टमा खर्च गर्ने पैसाले त, ती आश्रममा भएका १२ विद्यार्थीको स्कूल खर्च टर्ने रहेछ ।

             दिनभरि त्यही अनाथाश्रममा बसेर मैले महसुस गरेको आनन्द यसअघि कहिल्यै अनुभव भएको थिएन । छुट्टीने बेलामा उनीहरु सबैको मुहारमा फुटेको मुस्कान मेरा लागि संधैभरी सम्झिन लायक रहनेछ । निस्कदैं गर्दा मेरी साथीले मलाई बाचा गराइन्,  प्रत्यक जन्म दिनमा यसैगरी आश्रममा पुगेर सेवा गर्नु । मैले पनि प्रण गरे । त्यस अध्याँरो गल्लीबाट बाहिर निस्कदैं गर्दा मेरो उज्यालो अनुहारले उनलाई मुरी मुरी धन्यवाद दिदैं थियो ; अनि तौलिनै नमिल्ने उनीप्रतिको सम्मानभाव । मेरो जन्मदिनको त्यस उपहार मेरा लागि अत्यन्तै प्रिय रहेने छ । र यसैगरी मैले मेरा मिल्ने अरु धेरै साथीलाई त्यस्ता ठाँउमा लगेर सहयोग जुटाउन सके, यस सुरुवातले अझ सार्थकता पाउनेथियो।

झरीपछि


लामो झरीपछि,
बिरुवाका कलीला पातहरु
सुस्ताई भर्खर उठेका छन,

झम झम... एकोहोरो संगीत

बिस्तारै रोकिएको छ,
लोरी सुनाउँदा सुनाउँदै
बालक निदाए जस्तो |
तप्प तप्प, बलेसीबाट
गोलाकार थोपा झर्न छोडेका छन
सिनेमाको प्रोजेक्टर जस्तो
एक मुस्लो प्रकाश
आकाशबाट ओर्लेको छ |
टाउको उठाएर चराहरु
चिरिङ् बिरिङ् के भन्छन खै...
गुँड निथ्राप्पै भिजेको छ,
बुढा हजुरबाउका गाला जस्ता
मेरो खोबिल्टे सडकमा
टिलपिल पानीका साना ताल ;
तीनमा हेर्छु प्रतिबिम्ब
पल्लो किनारको मैलो घर,
छेउमै उम्रीएका झार,
अनी अनारका फुलहरु |  

झरी पर्दै गर्दा
एकतमासको मन थियो
यादहरु यसरी बर्षिए
मानौं , रेडियोले भनोस -
आज यति मिलीलिटर 'प्रेम' बर्षियो |
पखालेर सबै तनलाई
राजस्वला पछी नुहाएकि युवती जस्तो
लजाउँदै बगेको हावालाई
अलिकता जिस्क्याउँ जस्तो लाग्छ |
तब न प्रक्रिती, वाह !
गाढा भएका छन सबै रंग,
कती राम्रो चित्र मेरो सन्सारको
फुलको पराग जस्तो यो मन ;
यो झरिले भारी बनाईदिन्छ
तब न माँया, वाह !
भरीएका छन सबै अंग
कती सुन्दर भोगाई यो प्यारको |
आकाश खुलोस नखुलोस
त्यस्सै खुल्छ यो मन
झरिपछि  !

चलेकै छ , चल्छ !

           
        बाटोमा हीड्दा सबै भन्दा सजिलो मलाई एअरफोनको दुइओटा छेस्का कानमा हालेर आफ्नै तालमा लम्कनु हुन्छ ! बाटोमा को हिड्यो, कसले के गर्दै छ, के मतलब | तर, सार्वजनिक सवारी साधनमा हिड्नु भनेको, एकै दिनमा दर्जनौ कथा पढ्नु जस्तै हो | कुराको प्रसंग, अनुहारको भाव, लवाइ खवाई, सभ्यता, सबै महसुश गर्न पाइन्छ | कहिले काहिँ मोबाइलमा कुन गीत बजिरहेको छ भन्ने पनि भुलिन्छ | अनि कहिले चाहिँ ह्या… मलाई के को ‘बाल’ भनेर म्युजिकको तालमा आँखा यता-उता नगरी बाटो कटाउन मन लाग्छ |
          ‘नेपाल यातायात’ मा मान्छे बस्न सिट पाइयो भने, डीभी परे भन्दा धेरै खुसि मान्छन | मेरो भाग्य धन्य रहेछ आज, अन्तिम तिर भए पनि बस्न पाएँ | अर्काको काखी गनाउने, सुर्तिको गन्ध , बोल्दा मुखको छिटा , अलिकता धक्का मुक्की, आदि पचाउन नसक्ने मान्छे गाडी नचढेकै बेस |  सबै परिस्थितिलाई भुल्न मैले एउटा रमाइलो गीत छाने - आगे आगे तोपैको गोला, पछि पछि मेसिनगन भरर …. यो गीत कसैले अहिलेसम्म नसुनेको भए, एकपल्ट सुन्नुहोस | गाडी गुड्दै गर्दा एक्कासी मेरो ‘समीक्षकपन’ जागृत भयो | बिस्तारै वरिपरिका मान्छे, तिनका प्रसंग ‘स्क्यान ‘ गर्न थालेँ | औसत केटाहरूमा कामको तनाब छ , कोहि नयाँ ‘केहि’ गर्न चाहन्छन , कोहीको ब्यापार राम्रो हुदै छैन,कोहीको भिसा लाग्ने पक्का छैन , पैसा कमाउने चक्कर छ , डेटिङको खर्च , घरको जिम्वेवारी , आफ्नै साथीहरु के के गरिसके … एकखालको  ‘फ्रस्टेसन’ छ | ‘साला , त्यो कन्सुलरहरु पनि क्या मुडी हुन्छन , कस्ता कस्ता झार हरुलाई भिसा लाग्ने, आफ्नो सबै डकुमेन्ट ठिक हुँदा पनि रिजेक्ट ‘ | कसैको हातमा फाइल ब्याग छन् , सायद जागिरको मेसो होला | जागिर भएकाहरुलाई टाइममा पुग्न हतार , रिपोर्ट बुझाउन हतार , तलब नबढेको गुनासो , यस्तै यस्तै …. अन्तमा दुई चार गाली हाकिमलाई दिन पाए,  मन शान्त | खुट्टा राख्ने ठाउँ छैन , कन्डक्टरलाई गाली कति कति ….. फेरी चढ्न चाहिँ सबैलाई पर्ने | ऊ पनि के कम , जानेको जति सबै ‘भल्गर’ बर्बराउदै भित्र भित्र ठेल्छ |
चलेकै छ , यसरि नै चल्छ |
           ठेलिदै ठेलिदै एउटी केटी मेरो सिट छेउ आइपुगी | हातमा भएको सानो झोलाले उभिन गाह्रो थियो ; लवाई हेर्दा कुनै प्राइभेट अफिसकी कर्मचारी हुनु पर्छ | खोइ कुन अधबैसेले हो , पछाडी बाट ‘टच‘ गर्यो रे , मुर्मुरिँदै थिई ;अलि यता पट्टि सरे पछि चुप लागेर बसि , के गरोस बिचरा | आजकल भर्खरका अल्लारे केटा भन्दा पनि, घरमा बुढी भएका, उमेर अलि घर्केकाहरु त्यस्तो मौका छोप्न पछि पर्दैनन | अंकल जस्ता पर्नेहरुले ‘मिस-बिहेब’ गरेपछी त रिस उठ्ने नै भयो | बनावटी हाँसो अलिकति फ्याँकेर मलाई हातको ब्याग लिईदिन भनि , मैले केहि नसोचेर ब्याग लिईदिए | डेनी र आशा भोस्ले गाउँदै थिए – “उकालीको चिसो पानी खाईजाउँ खाईजाउँ लाग्छ , माथ्लोघरकी  तरुनीलाई लैजाउँ लैजाउँ लाग्छ “ | छेउकी केटी खासै ‘इम्प्रेसिभ’ होइन , मेरो आँखा झ्याल बाहिर मोडिए |
         बाटोमा बिन्दास केटीहरुको हुल छ | होइन , केटीहरुको हुल बिन्दास छ | सेतो एयरफोनबाट थाहा हुन्छ, धेरै जसोका खल्तीमा आई-पड छन् |  गाडीमा, बाटोमा , स्कुल वा कलेज , सबै तिर केटीहरुको हाँसो उन्मुक्त सुनिन्छ | कसैलाई तनाब छैन , क्यारिअरको उतिसारो  चिन्ता छैन | खोइ मलाई त्यस्सै याद आयो मेरो एउटी साथीले भनेको - जो संग अफेयर चलायो त्यहिसंग बिहे गर्ने केटी त मुर्ख हो…. कि त डीभी परेको , कि कुनै देशको पी.आर पाको केटासंग बिहे गर्ने हो , अरु  टेन्सन किन लिएर बस्ने |    सायद, भबिष्य हेर्नेहरुको यो तर्क ठिकै होला ; सबैको यस्तै खाले सोच पक्कै छैन | केहि अपवादलाई छोडेर कयौ केटी साथीहरुलाई सुनिन्छ, उनीहरुलाई जिन्दगीको ठुलो समस्या कपालमा पलाउने हाँगा हो, फिल्ममा हुने कुनै बियोगान्त दृश्य हो , हल्का उठेका केहि ‘पिम्पल’ हो , खुब मन परेको तर लगाउन नपाएको महँगो लुगा हो, भन्ने बित्तिकै पिकअप नगर्ने ‘केटा साथी ‘ हो , ऐजन ऐजन |
महिला मित्रहरु , माफ गर्नुहोला |
+२ तिरका केटीहरु झन फोनमा यसरि झुन्डिनछन् मानौ, त्यो ब्यालेन्स कहिल्यै सकिन्न |  साथी Tanx (साथीहरुले भन्ने नाम) भन्छन - मलाई त इर्श्या(tension) लाग्छ यार , जहिले नि बाटोमा हाँस्दै हिडेको देखिन्छ ; खासमा त्यस्तै हुन्छन कि देखाउने मात्र हो ?  जे भए पनि, उनको ठम्याईमा सबैभन्दा बिन्दास केटीहरु चै खिचापोखरीका हुन्छन !  उमेरको ‘बोनस’ हो वा, समयको बहाब…. अनुहारमा तनाब नदेखिने / नदेखाउने यो बानी , आम युबतीहरुको खुबी माने पनि हुन्छ |  
           गाडीमा उभिनु परेको दिन, सबै भन्दा धेरै कसरत म जस्ता ६ फिट+ का मान्छेलाई हुन्छ, जिमखाना जानै पर्दैन | उभिंदा माथी टाउको ठेल्छ, बसौ कुनै कुनै गाडीमा घुँडा ठेल्छ | इन्डियन गाडी , नेपाली हाईट ! कुरा , देखिने आम चेहराको हुँदै थियो | तीनमा लुकेको कथाको | नेपाली फिल्मका लेखकहरु किन अरुको नक्कल उतार्छन ! तीनदिन सार्वजनिक गाडीमा रिंगरोडको फन्को मार, दमदार कथा भेटिन्छन, गजबका पात्र देखिन्छन | कहिले काहिँ म आफैलाई हेर्छु …. ३ घन्टालाई पुग्ने मज्जाको फिल्म बन्ने कथा देख्छु | जिन्दगीका उतार चढाब , सम्झनाका घाम-छायाँ, दुख सुखको अँध्यारो-उज्यालो , माँया पिरतीका इन्द्रेणी ….. अहो , रमाइलो पो छ त | नेपाल यातायातको ठेलाठेल , निरन्तर छ ….. हिजो ,आज अनि भोलि पनि | अनुहार नयाँ देखिएलान, लवज नयाँ सुनिएला | मेरो छेवैमा बस्नेले मलाई खुब ब्यङ्ग गर्दो हो | यसरीनै चलेको छ, चल्छ | कहिले काहिँ बडो ‘ दार्शनीक स्टाईलमा’ सोच्छु , श्वास फेर्दा सबैले यहि हावा ताने पनि , भित्र पुगी सुस्केरा हाल्ने बेला , कति फरक फरक खुसि ,पिडा, र सप्तरंगी भाब मिसिएर निस्कँदो हो |
      एकैछिनमा म ओर्लिनु छ |  तपाई हाम्रो जम्काभेट पक्कै हुन्छ; यसै गरि तपाईं मलाई पढ्दै, म तपाईलाई पढ्दै आ-आफ्नै बाटो नापौला | तर एउटा सानो हाँसो साँटीदिए,  दुबैको  मुहार उज्यालै होला; जे सोच्नुस …. कसैका आखाँ बोल्छन कसैका मन ! बाँकी कथा तपाईंनै लेख्दै जानुस | जिन्दगी त यसै उसै चलेकै छ , चल्छ |
       फेरी एकपल्ट त्यो बिन्दास हूलमा आखाँ गयो, लाग्छ बेफिक्री हाँसो सायद त्यहि हूललाई फुर्छ , सुहाउँछ पनि ;  मलाई ‘जबर्जस्त’ झिक्नु पर्छ |  म छोरो मान्छे, कामकाजी मान्छे, जिम्बेवारी बोकेको मान्छे …. नहाँस्न लाई बहाना कति कति  | एउटा ब्यङ्ग आफैलाई |  अफिसमा  तलबको कुरो चल्दै छ क्यारे …. बढाए राम्रै हुन्थ्यो ! नभए के …..यसरीनै चलेको छ, चल्छ |

म मान्दिन

म मान्दिन
'नमरी स्वर्ग देखिन्न' भन्ने |
त्यो के हो त ?
मनको सुन्दरता
बोलिको मोहनी
साथको सम्मोहन
सुहाउँदो रिस 
बिचारको बहाब
तर्कका मन्डप 
समर्पणको सौन्दर्य ...
के यी सबै सबै
स्वर्गिय अनुभव होइनन ?|
सम्झनाका 'रोजबेड'
गुलाफका कती पुष्पदलले
भरिए कुन्नी !
बच्चा जस्तै काखमा पल्टिदाँ
कसले गनेर बस्यो र !
के यी सबै सबै
स्वर्गिय अनुभव होइनन ?|
म मान्दिन
'नमरी स्वर्ग देखिन्न' भन्ने |


 

हामी उस्तै उस्तै है !

एकैछिन लाग्ने बादल
कती प्यारो लाग्ने |
पात झर्ने बेला थियो
हुरी चल्ने बेला थियो
गड्याङ गूड्ङ आकाशमा
मेघ गर्झिने बेला थियो
निर्जन बस्ती एकान्तमा
पिडाका हिउँ पग्लिएर
मुन्टो उठाउदै अली अली
थिचिएको, लुछिएको
असिनाले कुटिएको
यात्रीलाई खुशी किन नलागोस
जब भेट्छ,
शितल बादलको टुक्रा
दिक्दार उकालोमा !
शितल छाँया दियो
नबिर्सने माँया दियो
डोर्याएर माथि डाँडासम्म
भरोसा दाँया-बाँया दियो !
कहिले आफु बर्सिदियो
कहिले खुशी छर्किदियो |

तैपनी ,एकैछिन लाग्ने त्यो
कती प्यारो लाग्ने |

ए मेरो प्यारो बादल ,
तिमी त
जानु छ अन्तै
तिम्रो यात्रा
शिखर माथि माथि छ,
बर्षनु छ तिमी
बर्सौ देखी तिम्रो बाटो हेरेको
तिमीलाईनै पर्खेको मरभुमिमा  ;
म त घिस्रने, पहाड मुन्तिर
म रमाउने, टाँकिका फुलमा
मैले पीउने, मुलको छर्छरे ;
तिम्रा मेरा केही भिन्नता !

खोइ कसले लखेट्छ
यो समयलाई ...
घडीका सुइ झिकेर
खल्तिमा हालुँझै लाग्छ !
दुई दिनको पाहुना
तिमी हौ कि म ?|
तिमी उड्दै जाने
म हिड्दै जाने ..
हामी उस्तै उस्तै है !










म सुक्दिन पिएर अलिकती !

उदेक  लाग्छ,
तिमी नियाल्छौ मलाई
लुकी लुकी,
'कट्टी कट्टी' गरेर
चाहे किन नजाउ,
'पर पुगेर' फर्किने गीत
मैले सुनेको छु,
ढुङ्गाको काप फोरेर
पिपल त उम्रन्छ,
ती घनिभूत याद
उर्बर प्रेम
किन नपलाउन्
स्‍मृतिको काँपबाट !
जरा कहाँ गाडीए,
हाँगा कहाँ झाङगिए,
वारी पारी
यतै उतै
यहीँ त्यहीं
ठीक छन !
कहिले काहिँ माया रोप्दा
घृणा पनि त उम्रदों रहेछ !
बिउ सायद
खडेरीमा पर्यो कि
माटो उस्तो थियो !
अब चिहाउनलाई छुट छ 
 झिँगटिका छिद्रा जस्ता
अनेकौँ द्वारहरु
तिम्रो मेरो बिचमा,
निस्फिक्री चिहाए हुन्छ
मन लागुन्जेल,
थाहा छ ;
तिर्खा त तिम्रो मेटिन्न
तर घाँटी भिजाए हुन्छ अलिकती !
म रित्तिन्न झिकेर अलिकती
म सुक्दिन पिएर अलिकती !

हामी

 
हामी,
चन्द्रमामा पुग्यौ
नौवटा ग्रह चक्कर मार्यौ
‘एलियन’संग सम्पर्क गर्यौ
सात समुन्द्र छिनमै तर्यौ !
तर, धेरै भयो
बन्धु रिसाएका,
आफ्नासंग सम्बन्ध बिग्रिएको,
मन चिसिएको,
कुरा नमिलेको, 
ऐजन ऐजन ….  
जान सकिएन एकपटक
बाटो काटेर छिमेकमा,
मिलाउन सकिएन हातहरु,
छोड्न सकिएन अडान !
अह …  सकिएन ;
नजिकका संग मिलेर बस्न
सदभाव फैलाउन वरिपरी !
बरु हेर्छौ टाढा टाढा …
चन्द्रमा, मंगल , बृहस्पति ! 
किनकि हामी
बिकसित पनि
विकृत पनि,
शान्त पनि
अशान्त पनि !

सुन्दर मृत्‍युको पर्खाईमा...


आजकल देख्छु ...
घर, अपार्टमेन्ट
ठुला ठुला ;
तर परिवार चाही ,
टुक्रदै साना-साना; 
फुस्कदो मायाँको बन्धन, 
भत्कदा बिश्वासका तला,
तिल-चामल फुलेका कपाल 
बुढ्यौलीका डिग्रीहरु... 
अनुभवका तखता ...
कति माथिसम्म पुर्याएर 
छाउन मिल्छ कुन्नि ! 
कलीला ति मुनाहरु
हुरिबाट जोगाएको , 
'ताते-ताते बाबु' र 'पुइया ..' गरि 
हुर्काएका मुटुका टुक्रा, 
कुर्दै छु, कुन दिन यिनले 
डोर्याउदै देखाउने छन् ,
सहर छेउ ब्रिद्धाश्रमको बाटो !
सुन्दर बिहानी कुर्नु छैन, 
नयाँ बसन्तको उन्मादी 
पालुवा हेर्नु छैन .
जागिरमा उन्नति,
कसै संगको प्रतिस्पर्धा,
सुन्दर भविष्यको कल्पना गर्नु छैन, 
कुर्नु छ केवल ; 
सुन्दर मृत्यु , 
सन्तानको सुख,
सानोमा 'चिल्लो पात' देखेको 
बिरुवाका राम्रा फल !
अबका बाँकी दिन 
कुनै मृगतृष्णा पाल्नु छैन,
केवल सानो आशा -
जीवनको एक चौथाई 
माया गरेको तिमीलाई ,
अब केहि जीवनका प्रहर 
संगै राखिदेउ है !

आँशु राखी मैले आजकल.... (Karnali mourns)

आधा पेट खाएर पनि
उकाली ओराली धाएर पनि
एक मुट्ठी अन्नमा सन्तोष गर्दा
रित्तो पेटलाई आदर्शले भर्दा
उपाय केहि नलागेपछि ,
ज्युँदो लास झैँ मरेको छु
आँशु राखी मैले आजकल
टुकी बाल्ने गरेको छु !

दश नंग्रा खियाउँदा नि रातदिन
हुदैनन तयार कोहि साथ दिन
परेलीका आँसु टप्कन खोज्दा
दुखमा अझै संघर्षनै रोज्दा
उपाय केहि नलागेपछि
'आदर्श'बाट तल झरेको छु
आँशु राखी मैले आजकल
टुकी बाल्ने गरेको छु !

हिउँ पर्दा , असिना खस्दा 
कर्णालीको यो पखेरोमा 
अनिकाल पस्दा 
इमान्दारिता सधै साथ राखी 
गरिबीबाट केहि उठ्न खोज्दा माथि 
उपाय केहि नलागेपछि 
घाउमा अझै नुन-चुक छरेको छु 
आँशु राखी मैले आजकल 
टुकी बाल्ने गरेको छु ! 




देश फ्ल्याश- ब्याकमा छ !

मेरो शहरले आजकल
लालटिन बाल्न थालेको छ
नयाँ धारा हाल्दै घरमा
इनारको पनि तान्न थालेको छ |
फोन गर्दा गर्दै हैरान बाउले
आफन्तको हातमा
चिट्ठी पठाएछन,
सोचेँ ,
देश फ्ल्याश- ब्याकमा छ |
आजकल,
मैन बत्ती र टुकी  राम्रा
गाडी भन्दा पैदल छिटो
फोन भन्दा चिठी छरितो
किनकी ,
देश फ्ल्याश- ब्याकमा छ |
खोला जस्तै
ढलको घस्रदोँ लेदोमा
गोमा ब्राह्मणी र शिव शर्मामा कथा
सान्ङे हुँदैँ छन  ;
युवाहरुलाई मलेसियाको 'सुधारिएको भर्सन'
अमेरिका जानु छ ;
तला थप्न, गाउँका साहुका सुधारिएका भर्सन
बैंकको ऋण लिनु छ |
नेताका भ्रष्टचार,
शासकका लापरवाही,
ठुलाका  जगजगी
सबै पहिले जस्तै भ'का छन्
देश फ्लास- ब्याकमा छ !
देश चलाऊनेहरुलाई
गधाको पाउ मोली 
डाडु पन्यो साँट्नु छ 
यो पनि हुन्छ, त्यो पनि हुन्छ 
फेरी... 
सन्सदको नौटन्कीमा ढाँट्नु छ | 
वाह ! उल्टो घुमेको 
मेरो देशको  रिल ; 
म हेर्दै छु ,
कुन दिन यो
बिकासे सपनाको खोक्रो इन्द्रेणी 
'श्याम स्वेत' हुने हो .......



कुरो अर्कै हुन्थ्यो !

असिना र पानी,
कहिले अङालो मार्दै
कहिले लात्ती हान्दै
कावा खाँदै हावामा
थकाई मार्न आईपुग्छन
कलिलो प्याउलिको कुमनेर !
अहँ ,
लाजले होइन यसपटक
कठयाङ्रिएर खुम्चिन्छे लज्जावती;
निथ्रुक्क भिजेका जोडी ढुकुर
गुँडमा कुरेका बचरा सम्झदै
प्रेमालापको भाव
के देख्लान खै ....
बर्खा हुँदो हो त
कुरो अर्कै हुन्थ्यो !
म डिलमा बसेर सम्झन्छु
फुसफुसे हिउँको तन्ना ओढी
तिमी हुँदी हौ त
कुरो अर्कै हुन्थ्यो ....
त्यही मात्र एक दिन थियो शायद
माघे झरिमा रुझ्दा
जाडो नलागेको  !
अहिले ,
यो एक्लोपनमा
चुर्लुम्म डुबाइदिन्छन मलाई
थोपा थोपा शीतले पनि !







सपनाहरु

ब्युँझाइदिन्छन कहिले 
मेरा सपनाभित्रका सपनाहरुले !
ति रातहरु त 
उहिले थिए ,
ति साथहरु पनि
उहिलेनै थिए, 
अब नझस्काए हुन्न बेला बेलामा 
अब नतर्साए हुन्न बेला बेलामा ?
निदाउन त सजिलो छ मलाई ,
गाह्रो त ...
त्यसपछी पो हुन्छ 
जब सुरु हुन्छन 
सपना भित्रका सपनाहरु !