हामी

 
हामी,
चन्द्रमामा पुग्यौ
नौवटा ग्रह चक्कर मार्यौ
‘एलियन’संग सम्पर्क गर्यौ
सात समुन्द्र छिनमै तर्यौ !
तर, धेरै भयो
बन्धु रिसाएका,
आफ्नासंग सम्बन्ध बिग्रिएको,
मन चिसिएको,
कुरा नमिलेको, 
ऐजन ऐजन ….  
जान सकिएन एकपटक
बाटो काटेर छिमेकमा,
मिलाउन सकिएन हातहरु,
छोड्न सकिएन अडान !
अह …  सकिएन ;
नजिकका संग मिलेर बस्न
सदभाव फैलाउन वरिपरी !
बरु हेर्छौ टाढा टाढा …
चन्द्रमा, मंगल , बृहस्पति ! 
किनकि हामी
बिकसित पनि
विकृत पनि,
शान्त पनि
अशान्त पनि !

सुन्दर मृत्‍युको पर्खाईमा...


आजकल देख्छु ...
घर, अपार्टमेन्ट
ठुला ठुला ;
तर परिवार चाही ,
टुक्रदै साना-साना; 
फुस्कदो मायाँको बन्धन, 
भत्कदा बिश्वासका तला,
तिल-चामल फुलेका कपाल 
बुढ्यौलीका डिग्रीहरु... 
अनुभवका तखता ...
कति माथिसम्म पुर्याएर 
छाउन मिल्छ कुन्नि ! 
कलीला ति मुनाहरु
हुरिबाट जोगाएको , 
'ताते-ताते बाबु' र 'पुइया ..' गरि 
हुर्काएका मुटुका टुक्रा, 
कुर्दै छु, कुन दिन यिनले 
डोर्याउदै देखाउने छन् ,
सहर छेउ ब्रिद्धाश्रमको बाटो !
सुन्दर बिहानी कुर्नु छैन, 
नयाँ बसन्तको उन्मादी 
पालुवा हेर्नु छैन .
जागिरमा उन्नति,
कसै संगको प्रतिस्पर्धा,
सुन्दर भविष्यको कल्पना गर्नु छैन, 
कुर्नु छ केवल ; 
सुन्दर मृत्यु , 
सन्तानको सुख,
सानोमा 'चिल्लो पात' देखेको 
बिरुवाका राम्रा फल !
अबका बाँकी दिन 
कुनै मृगतृष्णा पाल्नु छैन,
केवल सानो आशा -
जीवनको एक चौथाई 
माया गरेको तिमीलाई ,
अब केहि जीवनका प्रहर 
संगै राखिदेउ है !

आँशु राखी मैले आजकल.... (Karnali mourns)

आधा पेट खाएर पनि
उकाली ओराली धाएर पनि
एक मुट्ठी अन्नमा सन्तोष गर्दा
रित्तो पेटलाई आदर्शले भर्दा
उपाय केहि नलागेपछि ,
ज्युँदो लास झैँ मरेको छु
आँशु राखी मैले आजकल
टुकी बाल्ने गरेको छु !

दश नंग्रा खियाउँदा नि रातदिन
हुदैनन तयार कोहि साथ दिन
परेलीका आँसु टप्कन खोज्दा
दुखमा अझै संघर्षनै रोज्दा
उपाय केहि नलागेपछि
'आदर्श'बाट तल झरेको छु
आँशु राखी मैले आजकल
टुकी बाल्ने गरेको छु !

हिउँ पर्दा , असिना खस्दा 
कर्णालीको यो पखेरोमा 
अनिकाल पस्दा 
इमान्दारिता सधै साथ राखी 
गरिबीबाट केहि उठ्न खोज्दा माथि 
उपाय केहि नलागेपछि 
घाउमा अझै नुन-चुक छरेको छु 
आँशु राखी मैले आजकल 
टुकी बाल्ने गरेको छु !