म मान्दिन

म मान्दिन
'नमरी स्वर्ग देखिन्न' भन्ने |
त्यो के हो त ?
मनको सुन्दरता
बोलिको मोहनी
साथको सम्मोहन
सुहाउँदो रिस 
बिचारको बहाब
तर्कका मन्डप 
समर्पणको सौन्दर्य ...
के यी सबै सबै
स्वर्गिय अनुभव होइनन ?|
सम्झनाका 'रोजबेड'
गुलाफका कती पुष्पदलले
भरिए कुन्नी !
बच्चा जस्तै काखमा पल्टिदाँ
कसले गनेर बस्यो र !
के यी सबै सबै
स्वर्गिय अनुभव होइनन ?|
म मान्दिन
'नमरी स्वर्ग देखिन्न' भन्ने |


 

हामी उस्तै उस्तै है !

एकैछिन लाग्ने बादल
कती प्यारो लाग्ने |
पात झर्ने बेला थियो
हुरी चल्ने बेला थियो
गड्याङ गूड्ङ आकाशमा
मेघ गर्झिने बेला थियो
निर्जन बस्ती एकान्तमा
पिडाका हिउँ पग्लिएर
मुन्टो उठाउदै अली अली
थिचिएको, लुछिएको
असिनाले कुटिएको
यात्रीलाई खुशी किन नलागोस
जब भेट्छ,
शितल बादलको टुक्रा
दिक्दार उकालोमा !
शितल छाँया दियो
नबिर्सने माँया दियो
डोर्याएर माथि डाँडासम्म
भरोसा दाँया-बाँया दियो !
कहिले आफु बर्सिदियो
कहिले खुशी छर्किदियो |

तैपनी ,एकैछिन लाग्ने त्यो
कती प्यारो लाग्ने |

ए मेरो प्यारो बादल ,
तिमी त
जानु छ अन्तै
तिम्रो यात्रा
शिखर माथि माथि छ,
बर्षनु छ तिमी
बर्सौ देखी तिम्रो बाटो हेरेको
तिमीलाईनै पर्खेको मरभुमिमा  ;
म त घिस्रने, पहाड मुन्तिर
म रमाउने, टाँकिका फुलमा
मैले पीउने, मुलको छर्छरे ;
तिम्रा मेरा केही भिन्नता !

खोइ कसले लखेट्छ
यो समयलाई ...
घडीका सुइ झिकेर
खल्तिमा हालुँझै लाग्छ !
दुई दिनको पाहुना
तिमी हौ कि म ?|
तिमी उड्दै जाने
म हिड्दै जाने ..
हामी उस्तै उस्तै है !










म सुक्दिन पिएर अलिकती !

उदेक  लाग्छ,
तिमी नियाल्छौ मलाई
लुकी लुकी,
'कट्टी कट्टी' गरेर
चाहे किन नजाउ,
'पर पुगेर' फर्किने गीत
मैले सुनेको छु,
ढुङ्गाको काप फोरेर
पिपल त उम्रन्छ,
ती घनिभूत याद
उर्बर प्रेम
किन नपलाउन्
स्‍मृतिको काँपबाट !
जरा कहाँ गाडीए,
हाँगा कहाँ झाङगिए,
वारी पारी
यतै उतै
यहीँ त्यहीं
ठीक छन !
कहिले काहिँ माया रोप्दा
घृणा पनि त उम्रदों रहेछ !
बिउ सायद
खडेरीमा पर्यो कि
माटो उस्तो थियो !
अब चिहाउनलाई छुट छ 
 झिँगटिका छिद्रा जस्ता
अनेकौँ द्वारहरु
तिम्रो मेरो बिचमा,
निस्फिक्री चिहाए हुन्छ
मन लागुन्जेल,
थाहा छ ;
तिर्खा त तिम्रो मेटिन्न
तर घाँटी भिजाए हुन्छ अलिकती !
म रित्तिन्न झिकेर अलिकती
म सुक्दिन पिएर अलिकती !