चलेकै छ , चल्छ !

           
        बाटोमा हीड्दा सबै भन्दा सजिलो मलाई एअरफोनको दुइओटा छेस्का कानमा हालेर आफ्नै तालमा लम्कनु हुन्छ ! बाटोमा को हिड्यो, कसले के गर्दै छ, के मतलब | तर, सार्वजनिक सवारी साधनमा हिड्नु भनेको, एकै दिनमा दर्जनौ कथा पढ्नु जस्तै हो | कुराको प्रसंग, अनुहारको भाव, लवाइ खवाई, सभ्यता, सबै महसुश गर्न पाइन्छ | कहिले काहिँ मोबाइलमा कुन गीत बजिरहेको छ भन्ने पनि भुलिन्छ | अनि कहिले चाहिँ ह्या… मलाई के को ‘बाल’ भनेर म्युजिकको तालमा आँखा यता-उता नगरी बाटो कटाउन मन लाग्छ |
          ‘नेपाल यातायात’ मा मान्छे बस्न सिट पाइयो भने, डीभी परे भन्दा धेरै खुसि मान्छन | मेरो भाग्य धन्य रहेछ आज, अन्तिम तिर भए पनि बस्न पाएँ | अर्काको काखी गनाउने, सुर्तिको गन्ध , बोल्दा मुखको छिटा , अलिकता धक्का मुक्की, आदि पचाउन नसक्ने मान्छे गाडी नचढेकै बेस |  सबै परिस्थितिलाई भुल्न मैले एउटा रमाइलो गीत छाने - आगे आगे तोपैको गोला, पछि पछि मेसिनगन भरर …. यो गीत कसैले अहिलेसम्म नसुनेको भए, एकपल्ट सुन्नुहोस | गाडी गुड्दै गर्दा एक्कासी मेरो ‘समीक्षकपन’ जागृत भयो | बिस्तारै वरिपरिका मान्छे, तिनका प्रसंग ‘स्क्यान ‘ गर्न थालेँ | औसत केटाहरूमा कामको तनाब छ , कोहि नयाँ ‘केहि’ गर्न चाहन्छन , कोहीको ब्यापार राम्रो हुदै छैन,कोहीको भिसा लाग्ने पक्का छैन , पैसा कमाउने चक्कर छ , डेटिङको खर्च , घरको जिम्वेवारी , आफ्नै साथीहरु के के गरिसके … एकखालको  ‘फ्रस्टेसन’ छ | ‘साला , त्यो कन्सुलरहरु पनि क्या मुडी हुन्छन , कस्ता कस्ता झार हरुलाई भिसा लाग्ने, आफ्नो सबै डकुमेन्ट ठिक हुँदा पनि रिजेक्ट ‘ | कसैको हातमा फाइल ब्याग छन् , सायद जागिरको मेसो होला | जागिर भएकाहरुलाई टाइममा पुग्न हतार , रिपोर्ट बुझाउन हतार , तलब नबढेको गुनासो , यस्तै यस्तै …. अन्तमा दुई चार गाली हाकिमलाई दिन पाए,  मन शान्त | खुट्टा राख्ने ठाउँ छैन , कन्डक्टरलाई गाली कति कति ….. फेरी चढ्न चाहिँ सबैलाई पर्ने | ऊ पनि के कम , जानेको जति सबै ‘भल्गर’ बर्बराउदै भित्र भित्र ठेल्छ |
चलेकै छ , यसरि नै चल्छ |
           ठेलिदै ठेलिदै एउटी केटी मेरो सिट छेउ आइपुगी | हातमा भएको सानो झोलाले उभिन गाह्रो थियो ; लवाई हेर्दा कुनै प्राइभेट अफिसकी कर्मचारी हुनु पर्छ | खोइ कुन अधबैसेले हो , पछाडी बाट ‘टच‘ गर्यो रे , मुर्मुरिँदै थिई ;अलि यता पट्टि सरे पछि चुप लागेर बसि , के गरोस बिचरा | आजकल भर्खरका अल्लारे केटा भन्दा पनि, घरमा बुढी भएका, उमेर अलि घर्केकाहरु त्यस्तो मौका छोप्न पछि पर्दैनन | अंकल जस्ता पर्नेहरुले ‘मिस-बिहेब’ गरेपछी त रिस उठ्ने नै भयो | बनावटी हाँसो अलिकति फ्याँकेर मलाई हातको ब्याग लिईदिन भनि , मैले केहि नसोचेर ब्याग लिईदिए | डेनी र आशा भोस्ले गाउँदै थिए – “उकालीको चिसो पानी खाईजाउँ खाईजाउँ लाग्छ , माथ्लोघरकी  तरुनीलाई लैजाउँ लैजाउँ लाग्छ “ | छेउकी केटी खासै ‘इम्प्रेसिभ’ होइन , मेरो आँखा झ्याल बाहिर मोडिए |
         बाटोमा बिन्दास केटीहरुको हुल छ | होइन , केटीहरुको हुल बिन्दास छ | सेतो एयरफोनबाट थाहा हुन्छ, धेरै जसोका खल्तीमा आई-पड छन् |  गाडीमा, बाटोमा , स्कुल वा कलेज , सबै तिर केटीहरुको हाँसो उन्मुक्त सुनिन्छ | कसैलाई तनाब छैन , क्यारिअरको उतिसारो  चिन्ता छैन | खोइ मलाई त्यस्सै याद आयो मेरो एउटी साथीले भनेको - जो संग अफेयर चलायो त्यहिसंग बिहे गर्ने केटी त मुर्ख हो…. कि त डीभी परेको , कि कुनै देशको पी.आर पाको केटासंग बिहे गर्ने हो , अरु  टेन्सन किन लिएर बस्ने |    सायद, भबिष्य हेर्नेहरुको यो तर्क ठिकै होला ; सबैको यस्तै खाले सोच पक्कै छैन | केहि अपवादलाई छोडेर कयौ केटी साथीहरुलाई सुनिन्छ, उनीहरुलाई जिन्दगीको ठुलो समस्या कपालमा पलाउने हाँगा हो, फिल्ममा हुने कुनै बियोगान्त दृश्य हो , हल्का उठेका केहि ‘पिम्पल’ हो , खुब मन परेको तर लगाउन नपाएको महँगो लुगा हो, भन्ने बित्तिकै पिकअप नगर्ने ‘केटा साथी ‘ हो , ऐजन ऐजन |
महिला मित्रहरु , माफ गर्नुहोला |
+२ तिरका केटीहरु झन फोनमा यसरि झुन्डिनछन् मानौ, त्यो ब्यालेन्स कहिल्यै सकिन्न |  साथी Tanx (साथीहरुले भन्ने नाम) भन्छन - मलाई त इर्श्या(tension) लाग्छ यार , जहिले नि बाटोमा हाँस्दै हिडेको देखिन्छ ; खासमा त्यस्तै हुन्छन कि देखाउने मात्र हो ?  जे भए पनि, उनको ठम्याईमा सबैभन्दा बिन्दास केटीहरु चै खिचापोखरीका हुन्छन !  उमेरको ‘बोनस’ हो वा, समयको बहाब…. अनुहारमा तनाब नदेखिने / नदेखाउने यो बानी , आम युबतीहरुको खुबी माने पनि हुन्छ |  
           गाडीमा उभिनु परेको दिन, सबै भन्दा धेरै कसरत म जस्ता ६ फिट+ का मान्छेलाई हुन्छ, जिमखाना जानै पर्दैन | उभिंदा माथी टाउको ठेल्छ, बसौ कुनै कुनै गाडीमा घुँडा ठेल्छ | इन्डियन गाडी , नेपाली हाईट ! कुरा , देखिने आम चेहराको हुँदै थियो | तीनमा लुकेको कथाको | नेपाली फिल्मका लेखकहरु किन अरुको नक्कल उतार्छन ! तीनदिन सार्वजनिक गाडीमा रिंगरोडको फन्को मार, दमदार कथा भेटिन्छन, गजबका पात्र देखिन्छन | कहिले काहिँ म आफैलाई हेर्छु …. ३ घन्टालाई पुग्ने मज्जाको फिल्म बन्ने कथा देख्छु | जिन्दगीका उतार चढाब , सम्झनाका घाम-छायाँ, दुख सुखको अँध्यारो-उज्यालो , माँया पिरतीका इन्द्रेणी ….. अहो , रमाइलो पो छ त | नेपाल यातायातको ठेलाठेल , निरन्तर छ ….. हिजो ,आज अनि भोलि पनि | अनुहार नयाँ देखिएलान, लवज नयाँ सुनिएला | मेरो छेवैमा बस्नेले मलाई खुब ब्यङ्ग गर्दो हो | यसरीनै चलेको छ, चल्छ | कहिले काहिँ बडो ‘ दार्शनीक स्टाईलमा’ सोच्छु , श्वास फेर्दा सबैले यहि हावा ताने पनि , भित्र पुगी सुस्केरा हाल्ने बेला , कति फरक फरक खुसि ,पिडा, र सप्तरंगी भाब मिसिएर निस्कँदो हो |
      एकैछिनमा म ओर्लिनु छ |  तपाई हाम्रो जम्काभेट पक्कै हुन्छ; यसै गरि तपाईं मलाई पढ्दै, म तपाईलाई पढ्दै आ-आफ्नै बाटो नापौला | तर एउटा सानो हाँसो साँटीदिए,  दुबैको  मुहार उज्यालै होला; जे सोच्नुस …. कसैका आखाँ बोल्छन कसैका मन ! बाँकी कथा तपाईंनै लेख्दै जानुस | जिन्दगी त यसै उसै चलेकै छ , चल्छ |
       फेरी एकपल्ट त्यो बिन्दास हूलमा आखाँ गयो, लाग्छ बेफिक्री हाँसो सायद त्यहि हूललाई फुर्छ , सुहाउँछ पनि ;  मलाई ‘जबर्जस्त’ झिक्नु पर्छ |  म छोरो मान्छे, कामकाजी मान्छे, जिम्बेवारी बोकेको मान्छे …. नहाँस्न लाई बहाना कति कति  | एउटा ब्यङ्ग आफैलाई |  अफिसमा  तलबको कुरो चल्दै छ क्यारे …. बढाए राम्रै हुन्थ्यो ! नभए के …..यसरीनै चलेको छ, चल्छ |

9 comments:

  1. महिला मित्रले तिमीलाई कहिले माफ़ गर्दैनन
    म सुनाउ महिला मित्रको टेंशन:
    करियरम ध्यान दिनु पर्ने बेलामा बिहा गर्नुपर्ने लाचारी
    घर र करियर दुबई सम्हाल्नु पर्ने जिम्मेवारी
    अनि म सुनाऊ पुरुष मित्रको टेंसन:
    आज सथिहरुलाई कुन रेस्तुरान्त्मा भेटने होला?
    सबैभन्दा हॉट गल्फ्रेंड कसरी पाउने होला
    बिहा गर्ने बेलामा चाही यस्ता केटी कामा लाग्दैनन
    घर, आमा बुवा सबैको स्याहार सुसार गर्ने
    खाना पानी बनाउने पैसा पानी कमाउने
    सुशील मुख नफर्काउने बूढी कसरी भेटौने होला

    ReplyDelete
  2. लेख र कमेन्ट दुबै मन पर्यो |

    सब्से मनपर्दो लाइन :

    नेपाली फिल्मका लेखकहरु,
    किन अरुको नक्कल उतार्छन!
    तीनदिन,
    सार्वजनिक गाडीमा
    रिंगरोडको फन्को मार,
    दमदार कथा भेटिन्छन,
    गजबका पात्र देखिन्छन|

    चोर्न पनि जान्दैनन राम्रो संग नेपाली फिल्म बनाउने हरु|

    ReplyDelete
  3. la la daami cha.....

    ReplyDelete
  4. nice ...malae man paryo....

    ReplyDelete
  5. गज्जप ! अरु बाँकी पछि भनौँला ।

    ReplyDelete
  6. Herda herdai saathile ta anek lekhna thaalechhan.. Manpardo chha! Bhoowanji ko sabdaharu ekdum khulasta chhan! Anubhav garna sakincha!

    ReplyDelete