आई एम कृष्णबहादुर कुमाल


मिति : ११ असार
स्थान : छोप्राक, गोरखा

         “यो एरियामा मैले जस्तो नम्बरी जाल कसले बुन्छ, अहिले आओस … मेरो कान काटिदिन्छु'”, कृष्णबहादुर कुमाल जंगिए | एउटा खुट्टा अलि नचल्ने ब्यथाले च्यापे पछि गाउँमै धान कुट्ने मिलको ‘ड्राईभर’ बनेका उनले, बाटो छेउको त्यस भट्टीमा कति जर्किन रित्याए, लेखा जोखा छैन | आज यिनै नम्बरी कुमाले दाई मसंग छन् | “कुमालेलाई माछा ….. आss.. बाबु कुरै नगर्नु ; कुन खोलामा कति माछा छन् हेर्दैमा थाहा हुन्छ, नाबुडी हान्नै पर्दैन |” खोलाको एउटा छेउबाट जाल हान्न सुरु गरेपछी घाम डांडा मुन्तिर नझरुन्जेल सम्म जाल हुत्ति रहन्थ्यो उनको | बेलुका आयो, अलिकति भट्टीकी मगर्नीको मा रक्सीसंग साट्यो अनि बाँकी घरमा लगेर धोक्रो पछार्यो – “ला.. बुधेकी आमा,  क्यार्नी हो गर यसलाई, आजका ‘बुदुना’ अच्छा छन्” | त्यसैले धेरथोर घर खर्च चल्यो, बुधे को स्कुल फिस तिरियो, अनि मिठो मसिनो केहि पाक्यो | गाम ठाम सुहाउँदो हुनै पर्यो, चाड पर्ब नमानी भएन, खाने मुख बढीहाल्छन …… लौ यसरि भएन सधै | किस्ने कुमालको बाटो सोझियो मुग्लान तिर | नत्र उसका सोझिने दुईओटा ठाउँ थिए, दरौंदी खोलाको किनार अनि मगर्नीको भट्टी | कहिले काहिँ जाल हान्दै ऊ लम्जुङको साँध, चेपे खोला सम्म पुगेको थियो | खै किन हो त्यहाँका देउता रिसाए , माछा परेनन | “अर्काको डांडा खोलामा यत्रो नि टेक्दीन अब ; त्यस्ता  **जी माछा हाम्राँ नि छन्”| त्यो बेला देखि पल्लो खोला जान छोडेको किस्ने, यो बेला सम्म आईपुग्दा जिन्दगीका कति खोला तर्यो , हिसाब छैन | 

           हेटौडा, बिरगंज, रक्सौल, गोरखपुर काम खोज्दै हिड्यो | अलि अलि मिसिनरी काम सिक्यो, दुख पनि गर्यो, दुनियाँ देख्यो, पुरा 'हिन्दुस्तान' चाहार्यो | तैपनि 'हाउडा'को पुल दिनमा सात पल्ट तर्दा, तल हेरेर अन्दाज गर्न बिर्सिएन-‘ यहाँका माछा चै एक-मान्छे ठुला हुन पर्छ’ | कहिले बिहारी साथी बनायो , कहिले बंगालीको गाली खायो, कहिले कोठीकी ‘लड्की’संग लठारियो, दिनभरी काम गर्यो अनि मातेर इस्टेसनमै बटारियो | “लौ किस्ने मुर्दो बिग्रिने भो यसरि त”| एक हातको औंला भरि गन्न पुग्ने गर्मि खाए पछि एक दिन ब्युँझेर, आफैलाई गाली गर्यो ; खै के सपना देखेर उठेको बिहान थियो त्यो | जम्मा भएको पैसा र लुगा पोको पार्यो अनि त्यो ‘हाउडा’ पुल अन्तिम पल्ट तर्यो | रक्सौलमा आएर अत्तर हाल्यो , दुइटा स्पिकर भएको क्यासेट किन्यो अनि छालाको कालो जुत्तालाई एकपल्ट रुमालले पुछेर आफ्नै घरको बाटो सोझ्यायो |
          “ओई … नेप्टी, थप न ह्याँ, गींलास रित्तेको देख्दिनस ?”| संघर्सको फ्ल्यास-ब्याकबाट किस्ने फर्कियो | उमेरले ५५ हान्दा, मलाई सुनाईरहेका कथामा उसको ‘रिदम’ बिगारेछ, त्यो स्टिलको खालि गींलासले | मगर्नी दिदिले हामि दुबैलाई रक्सी थपेर किस्नेतिर बाण चलाईन-
आफ्नै बुढीलाईझैँ नभन है, दिम्ला घोचाले आईले,   साउनी भन्न सौदैनौ ?”|
खै खै तेरो घोचो हेरम त , मलाई हान्ने " , झिमिक्क आँखा झिम्क्याएर किस्नेले एक मुस्लो हाँसो फाल्यो, देउराली चुरोट संगै |

रमरम रौसी लाग्या बेलाँ त, यसका गाली पनि ख्याल मिठा लाग्छन र !” ऊ रुमानी बन्यो | छोराछोरी हुर्काएर, (उसकै भाषामा) मुलुक घुमेर , दुनियाँ देखेर आएको, ५५ काटेको किस्नेलाई हँसिमजाक र गफ लडाउन कसले सक्थ्यो, अनि छेकोस पनि कसले ! इंडिया बस्दाको प्रभाव होला, म संग बोल्दा बेला बेला अंग्रेजी घुसाउथ्यो | मोटर र मेसिनको पाटपुर्जाको नाम त अंग्रेजीमै भन्थ्यो, स्पष्ट संग | पर परको गाउँमा कतै डिजेलबाट चल्ने धान कुट्ने मिल फिट गर्नु परेमा, नि:सन्देह उसकै नाम आउथ्यो | उसको काम गराई कुनै इन्जिनियर भन्दा कम हुन्न रे, उ दाबी गर्छ | उसको कुरा सुन्दै जाँदा, मेसिनको उसले जाने जति नाली बेली लगायो | मैले अलि अलि लागेको सुरमा, मेकानिकल इन्जिनियरको 'मानार्थ उपाधि' थमाइदिएँ | कुराको तालै तालमा ऊ कहिले कहिँ हात माथि उचालेर भन्थ्यो , “आई एम कृष्णबहादुर कुमाल”| उसको अर्को मन पर्ने लाईन – “एक्स क्युज मि मगर्नी , अर्को गिलास थप त” | सबै नबुझे पनि मगर्नी मुन्टो ऊ तिर फर्काएर धारे हात लाउथीन – “ बज्जेको मुखमा …….” | किस्नेका गालामा अलिकति रक्सि, अलिकति रमाइलोको रंग जम्यो |
           मलाई त्यति नै बेला उसको फोटो खिच्न मन लग्यो | “दाई, तपाईको फोटो र तपईसंगको यी सबै कुरा जस्ताको तस्तै म कम्प्युटरमा लेखौला, सबै साथीहरुले पढ्छन” मैले सम्झाएँ | कम्प्युटर र टिभीमा के के अन्तर छ, थाहा नभए पनि, यो 'चारपाटे भाँडो' कस्तो देखिन्छ भन्ने चै उसलाई थाहा रहेछ | मेरो जाने बाटो अझै एक घण्टाको उकालो बाँकी थियो, म झोला बोकेर निस्किएँ | ऊ अझै जम्ने सुरमा थियो, “बाबु बसम न एकछिन ...... आई एम कृष्ण बहादुर कुमाल …..एक्स क्युज मि , प्लिज ….बसम बसम....ओके थ्यान्क्यु .....गूड् नाईट ” | जाने जति अंग्रेजी ओकल्दै थियो ऊ, म नमस्कार गरि उकालो लागे | मलाई घर पुग्दा सम्म दुइटा कुराले रोमाञ्चित बनाईरहयो - त्यो २ गिलासको रम-रम अनि किस्नेको “आई एम कृष्णबहादुर कुमाल” |   

3 comments:

  1. rajstha likes it.

    ReplyDelete
  2. excellent piece of journalism, we need more such stories of the real world!

    ReplyDelete
  3. beautifully written !! happy to know SAHIYTAKAR BHUWAn !!

    ReplyDelete