Busker फिलिङस् !


all photos : from google image
              ब्यस्त सहर मलाई एकदम निर्जीव लाग्छ। यति व्यस्त रहन्छ दुनियाँ कि मानौं जिन्दगी घडीको सुई हो । ट्रेनमा, गाडीमा, मेट्रोमा जहाँ जाउँ मान्छेको ठेलमेल, लाग्छ आज केहि ठुलै मेला हो । सबै भन्दा रमाइलो दृश्य त यो हुन्छ कि जतिबेला प्रेमीप्रेमिका मस्त अँगालोमा बाँधीएर एक अर्कालाई अन्तिम 'बाई' भन्न नपाउँदै मेट्रो छेउबाटै हिडी सक्छ, भिजेका ओठ लिएर पछाडी हेर्दा उनीहरु 'ला ... बर्बाद भयो' भन्ने भावमा वरिपरी हेर्छन । अनि मलाई उनीहरुको अनुहार हेरीराख्न मन लाग्छ । कोहि मुखमा बर्गर च्याप्दै कुदेका छन्, कोहीको ज्याकेटका बटन खुल्लै छन् । सबै भ्याउनु छ, एकैपल्ट । कहिलेकाँही त यस्तै भिडभाड बिचमा पनि कसैतिर नहेरी दृष्टि 'फोकस आउट' बनाएर 'स्लो मोसन'मा हिडौ झैँ लाग्छ । 

यस्तै निर्जीवताको बीचमा जब मिठो संगीत सुनिन्छ, कुनै धुन टाढा टाढा सम्म फैलिन्छ, तब मन त्यसै खुसि भएर आउँछ । कसले बजायो होला, को होला यति फुर्सदिलो यहाँ । कुनै प्राणबिहिन मेसिन जिन्दगी दौडाई रहेका जीवित प्राणि एकपल्ट मुन्टो फर्काएर हेर्छ, मुसुक्क मुस्काउँछ, झट्ट काम सम्झन्छ, अनि घडी हेर्दै फेरि यथावात कुद्दछ । केहि फुर्सदिलो छ भने चै खल्तीमा हात अलि तलसम्म पुर्याएर केहि सिक्का खोज्छ, नजिकै पुगेर त्यो मान्छेले अघिल्तिर थापेको भाँडोमा राखिदिन्छ । सडक किनार/चोकमा उभिएर गाउँदै /बजाउँदै गरेको व्यक्तिमा उर्जा थपिन्छ, अनि फेरी सुर फेरेर झन् लयमा प्रस्तुत हुन्छ । धेरैजसो कुनै बाजा  बजाईरहेका हुन्छन, एक्लै वा समूहमा, केहि चै नाच्दै पनि भेटिन्छन । मानौं, यो चिसो, निर्जीव अनि यान्त्रिक सहरमा अलिकति भने नि प्राण थप्ने जिम्मा उनीहरुकै हो । यस्ता मान्छेलाई नेपालीमा ठ्याक्कै के भनिन्छ थाहा भएन तर अंग्रेजीमा चाहिँ busker भनिदो रहेछ ।   



       
             ब्यस्त हेलसिन्कीको सेन्ट्रल रेल्वे स्टेसनको बिशाल भवन बाहिर निस्कने बित्तिकै 50 काटेका एक जोडी प्राय  हार्मोनियम अनि चेलो बजाउँदै गरेका भेटिन्छन । हेर्दा उमेर निकै खाएका, तर पनि निकै जोश का साथ एक अर्कालाई हेर्दै आफ्नो संगीतमा आफै झुम्दै गरेको त्यो जोडी बेला बेलामा बिश्राम लिन्छ । अनि फेरी केहि सम्झिए जस्तो गरि अर्को लयमा बजाउन सुरु गर्छ । महिलाले अघिल्तिर सानो टोपी थापेकी छन्  र केहि रकम जम्मा पनि भएको छ । उनीहरुको गुजारा यसै बाट चल्छ । हेर्दा टर्किस जस्ता देखिन्छन, सायद 'रेफ्युजी' भएर आएका होलान । छोराछोरी पक्कै छैनन्, अथवा भएपनि आफ्नै दुनियाँमा कतै । परिवारको महत्व यी मुलुकमा कमै छ । म निकै भाबुक हुन्छु यस्ता व्यक्तिहरु देखेर । यिनीहरुको बारेमा सोधखोज गरूँ, धेरै जानौं अनि एकछिन यिनीहरुसंगै रमाउँ । बस, भावुक हुन्छु । तर उनीहरुतिर फाल्न मसंग सिक्का हुन्न खल्तीमा । 'हैन 1-2 युरो त हुन पर्ने हो ...' भन्दै खल्ती छाम्छु, नभेटेपछि बाटो लाग्छु, खुब राम्रो गाना/बजाना गरे यिनीहरुले भन्दै ।

                                                                        * * *

                 सहर चिसोले जमेको छ , मान्छेका हात आफुजत्रै ठुलो ओभरकोट भित्र छन । चस्माको शिसामा बाफ बेला बेलामा बाफ जम्दै छ , बाहिर हिउँ परिरहेछ निरन्तर । नजिकैको मानिस नदेखिएला भनेर टल्किने ब्याज बाँधेर हिड्नु परेको छ, दिउँसो को 1 बजे पनि घाम अस्ताएपछिको जस्तो गोधुली छ, यस्तो लाग्छ मानौं मान्छे होइन, मान्छे जत्रै काला-काला आकृति आउने-जाने गरिरहेछन । 4 तला जमिन मुन्तिर हेलसिन्की मेट्रो स्टेसनमा छेउ लागेर एक युबक गिटारसंगै फिनिस गीत गाउँदैछ, "मिना ओलेन सिना ...." (म तिम्रै हुँ ) ! उसको स्वर साँच्चै मिठो छ । उ यसरि गाउँदै छ, मानौं उसलाई सारा दुनियाँले सुन्दै छ, एकैपल्ट । यत्तिको उमेरमा कुनै काम नखोजेर किन बाटोमा गीत गाउँदै माग्नु पर्यो होला, अरुको जस्तै एउटा आम सोचाई मनमा आयो । 1 युरो राखिदिएँ उसको उल्टो पारेको काउब्वाई ह्याट मा, एउटा मुस्कान थपेर । उसले धन्याबादको लवजमा  टाउको हल्का झुकायो । एकछिन छेउमा बसेर उसका गीत सुनें । धेरै गीत परिवर्तनको लागि थिए, थोरै मायाँ प्रेमका । अब यो संग एकछिन गफिन पर्यो भनेर कुरा सुरु गरें प्रसंशाबाट - 'तेरो गीत धेरै राम्रो छ' । पछि बुझ्दै जाँदा थाहा भयो, ऊ कंगोमा रहेका युद्ध-पिडित बालबालिकाको लागि आर्थिक सहयोग जुटाउँदै रहेछ, यसरि सडकमा गाएर । यो 'एलियस' जस्तै अरु साथीहरु पनि छन् रे सहयोग जुटाउन लागी पर्ने | social service मा ग्र्याजुएट गरेर संसार घुमेपछि फिनल्याण्ड फर्केर गरिब मुलुकहरुको लागि कसरि प्रभावकारी सहयोग जुटाउन सकिन्छ भनेर अनुसन्धानमा लागेको रहेछ । "सहयोगको लागि मानिस हरुलाई बाध्य पारिनु हुँदैन, मैले सार्वजनिक स्थानमा गाउँदा कसैलाई आनन्द लाग्छ भने केहि सेन्ट वा यूरो सहयोग गर्न सक्छ ! 1 यूरोले कंगोका 2 जनाले पेटभरी खान सक्छन "। उसको प्रस्टीकरणमा मैले टाउको हल्लाएँ ।

for Anarchy लेखेको झ्याप्ले टि-सर्ट लगाएर गाँजा खाला जस्तो देखिने केटोको कुरा सुन्दा म दंग परें । पैसा भएर मात्रै अरुलाई सहयोग गरिने हो र । आफुसंग केहि नहुँदा नि पनि त अरुलाई धेरै दिन सकिने रहेछ त । महिनाको 1 दिन बिदाको बेला मेट्रो स्टेसन मुनि बसेर गरिब देशका युद्ध पिडितको लागि सहयोग जुटाउनु साँच्चै प्रसंसा योग्य काम लाग्यो, यो 24 बर्षे फिनिस को । 'म संग यहि सिप छ, सजिलो लाग्छ अनि गाउन बसें । अरु साथीहरु आ-आफ्नो तरिकाले सहयोग गर्छन  । बाइ द वे, त इरानी होइनस ?', उसले मेरो हल्का दारी, शरीरको उचाई अनि लवजबाट अन्दाज लगायो रे । मलाई नौलो लागेन, मैले पहिला पनि यस्तै प्रतिक्रिया अरुबाट पाएको थिएँ ।
आफ्नो मुलुक सम्झे, रेमिट्यान्स कहाँ कहाँ खर्च हुन्छ भन्ने पछिल्लो समाचार सम्झें, एक भारी सपना बोकेका आफु जस्तै साथि भाई सम्झे । साथीहरु बेला बेलामा मजाक गर्छन - तँ पनि अब बासुरी बोकेर 'सेन्टर' तिर बस न, कति सजिलो काम "! म रेडिमेड जवाफ फर्काउँछु- "म बाटोमा बासुरी बजाउन बसें भने तिमीहरुको दारु पार्टीमा कसले बजाउँछ नि फेरी ?  :)
लगभग 15 मिनेट एलियसलाई अल्झाइसके  पछी उसले भन्यो - "तेरो 'इन्टेरेस्ट'लाई म सम्मान गर्छु, हिंड जाउँ कफी खान । चिन्ता नगर, म आफ्नै पैसाले खुवाउँला, यो पैसा 'च्यारिटी' को लागि हो  "। काईसानेमी पार्कमा आफ्नो कफी आफैले 'स्पोन्सर' गरेपछि मैले आफ्नोबारे बेलिबिस्तार सुरु गरे - 'आइ एम फ्रम नेपाल'........ ! र अन्तमा कफी सकेर निस्किने बेलामा नारायण गोपालको गीत नसुनी उसले सुख पाएन !    

मौनता


मलाई डर लाग्छ
मौनताको हतियार उज्याउनेसँग,
मनमा  सिंगै मनसुन बोकि
भावमा शुन्यता देखाउनेसँग !
न म, 'दा भिन्ची'
न तिमी, 'मोनालिसा'
म के के अर्थ खोजुँ
तिम्रो अमुर्त कलाझै मुहारको ?
मलाई त देखाउनु पर्छ,
चलाऊनु पर्छ,
सुनाउनु पर्छ,
छोएर भन्नु पर्छ -
"यि, यता हेर" |
सुक्ष्मदर्शक छैनन आँखामा
न मनमा दार्शनिक गाम्भिर्यता
म कसरी थाहा पाँउ टाढैबाट कि,
तिम्रो मनमा के चल्दै छ ?!

याद


रुझ्नु
के छ र,
भोगाई सुन्दर त्यस पछीको हो !
पानी ओर्लने बाटो त्यस्तो
लगाम कस्ले लगाईदिने
यी बेइमान आँखालाई !
एक्स-रे मेसिन,
आँखामा हो कि मनमा ...
धत, मेरो सैतान मन !
मलाई बानी लाग्यो,
साँझको नशा,
बिहानीको परेड,
छत्रीले छोप्नु छैन
अब झरी मलाई,
नरोकिने फौजी पाइलाजस्तै भो मन
झिस्मिसेमै डाँडा काट्ने बेला
मानौँ घरकि अर्धाङिनीले भनोस
'छिट्टै फर्क है बिदा मिलाएर' !
टाढिनु
के छ र,
याद सुन्दर त्यस पछीको हो !

भोली



एक भारी सपना
किस्ताबन्दीमा देख्दै,
एका बिहानै जानु छ छोप्न
पल्लो डाँडाबाट उदाउने सुर्य,
चिप्लेटी खेल्दै हिउँमा
धुँवा जस्तै एक मुस्लो बाफ
घोल्नु छ...
एउटै कफी कप भित्र, मायाँले |
पर्दा लगाईदिएर समाजको एक पाटोलाई
प्रोजेक्टर सोझ्याउनु छ 
अर्को सुन्दर द्रिश्यमा 
जहाँ हुने छैनन 'कुरुप सब-टाइटल'
ढोँगी सामाजिक रितीथितीको !

म एक नेपाली


म एक नेपाली जनता !
कुनै बिषय छैनन् 
मैले धारा-प्रवाह बोल्न नसक्ने,
कुनै घटना छैनन् 
फोटो साभार :-http://ryuoroman.deviantart.com
तिब्र प्रतिक्रिया जनाउन नसक्ने,
मेरो अल्प बुद्धि, 
म सलाम गर्छु 
मेरो यो उग्र-चेतनालाई  
म एक नेपाली जनता !

मलाई सबथोक थाहा छ ;
नियम, कानुन, संबिधान, धारा ..
संघियता, जातीयता, अधिकार...
तैपनि म किन्छु 
प्रत्येक दिन 
नेपाल- बन्दको क्यालेन्डर |


सब झूट हो 
नेताका भाषण, आश्वाशन, शासन  
थाहा छ,सब झूट हो !
तैपनि मैले गुमाएको छु, मेरो बिबेक 
बन्दकीमा छ, मेरो बुद्धि 
बिदामा छ, मेरो चेतना !
पर्यो भने निभाउँला बत्ति, 
थुनौंला कुलो,काटौंला पुल, 
रोकौँला आऊ-जाउ |
नबुझेर के भो 
मलाई सबै "..बाद" थाहा छ ,
मेरो उग्र -चेतना !
  
रत्नपार्कका चटके
बानेश्वोरका झन ठुला चटके
रमिताको प्रतक्ष्य प्रसारण
आहा .. संबिधान !   
"छिमेकी लिपि"को नेपाली उल्था 
पुछारमा हुनेछ 'घरेलु' हस्ताक्षर
अनि, 
छापिएला मेरो संबिधान 
'मेड इन चाईना' लेखेको कागजमा !
आहा .... 
मेरो आयातित राष्ट्रियता !
खोई, त्यतिखेर 
मैले के पाउँला, के गुमाउँला !

रोबोट

(रोबोट शिर्षकको यो कविता ईमेल इन्बक्समा 'मेरी Anonymous' बाट आएको हो, जुन जस्ताको तस्तै प्रकाशित छ ; शायद मैले केही बिराईन  )


यो कुनै 'भर्चुअल' संसार होइन
म सग्लो उभिएको छु तिम्रो अगाडि,
निसंकोच, नअघाउजी तिमी बोल्न सक्छौ 
मेरो मौनतासँग कुनै प्रश्न हुनेछैन, 
बेफिक्री चल्न सक्छौ मेरा नितम्बहरुसँग 
टसमस नगरि तिम्रा सामु हाजिर
मेरो शरिरसँग कुनै थकान हुनेछैन |
म जान्दिन तिमी बाहेक अरु कोही,
तिमी बनाउ मलाई 'हट' या 'कोल्ड'
पर–स्पर्ष 'डिटेक्ट' गर्दिन म; 
जिरो जिरो वन ...
वन जिरो वन... 
माया या घृणा... 
जे त गर, 'इन्सटल/ अनइन्सटल'
तिमी बनाउ मलाई तिम्रो 
या बनाउ क्षणभरमै पराइ,
मनलाग्दी अपडेट गर्न छुट छ
दुख्नेछैन मलाई कत्तिपनि
आखिर म तिमीले बनाएको तिम्रो मान्छे
तिमीले नै बनाएको तिम्रो पराइ मान्छे !

कृष्ण पक्ष

मेरो त संसार सानो छ,
भन्नेले भनुन
हत्केलाले सुर्य छेकिन्न भनेर ;
आऊ हेर
मेरा जोर आँखा ,
मैले हेर्ने प्रत्येक मुहारमा
तिम्रै 'लेबल' टाँसिएका छन्
म देख्दिन अरु कोहि
मलाई छुँदैन अरु केसैले |
म चाहन्छु ,
म नसुनुँ यो कोलाहल
नदेखुँ यो झमेला
भैगो, नभोगुँ त्यो परावर्तित उज्यालो
शुक्ल- पक्षमा के छ ?
त्यो अर्कैको उज्यालो
त्यो अर्कैको छबि
फगत एक ऐना ;
मलाई अध्याँरोमै महसुस हुन्छ
तिम्रो पूर्ण सुन्दरता |
आऊ हेर
मेरा जोर आँखा,
मेरो त संसार सानो छ !


थाहा हुनुपर्थ्यो



स्पर्श गर्नु पर्थ्यो
सम्बन्धको मादकता,
सुन्नु पर्थ्यो
सँगै हाम्फाल्ने धड्कन,
सहिदिनु पर्थ्यो
बेला बखतको घुर्की,
हिँड्नु पर्थ्यो
अफ्ठ्यारा बाटा सँग-संगै,
भन्नु पर्थ्यो
आउ तरेर जङ्घार,
अहँ,
देखिएन,सुनिएन, बुझिएन
भनिएन, गरिएन क्यै...
मलाई थाहा हुनुपर्थ्यो
अहिलेको यो यस्तो समय |





CC :

निखार

जंगली काँडालाई
तिखार्नु पर्छ र 
आँफै तिखारिन्छ |
माँयामा परेको मन
कहिले फुर्किदै,कहिले उफ्रिदै 
कहिले लड्दै, कहिले उठ्दै
पीडामा माझिएपछि  
निखार्नु पर्छ र 
आँफै निखारिन्छ | 
  

शिवरात्री २०६८ , केहि झलक



शिवरात्रीको दिन देखिएका झलकहरु, एउटा सानो फोटो- कथा :  
                                              यहाँ क्लिक गर्नुहोस - शिवरात्री २०६८ 

हिंड, अलि पर जाउँ


दोधार नगरि दोबाटोमा
नापेका थियौ
४५ डिग्रीका कोणहरु
आँफैले रोजेको बाटो
उकालो होस् कि ओरालो
हिंडिएला जस्तो लाग्थ्यो
हार्नै लागेको युद्ध, अन्तरालमा
जितिएला जस्तो लाग्थ्यो
आफ्नै अङ्गरक्षकले
ढोका खोल्दा झस्किन्छ मन,
अब बहादुरी कस्को अघि देखाउनु ?!
भर्र्याङ् चढेर सातपत्रे सम्झनाको
उज्यालो खोज्दै छु म
उग्र खहरे ओईरिएर के भो
विश्वाशका तुइन तान्दै छु म
हिंड, अलि पर जाउँ
जहाँ तिमी तर्सिनु पर्नेछैन
शान्त देखिने 'ह्यालोविन'सँग,
अस्ताईदिउँला सुर्य, एउटा सिरानी मुनी
अर्कोमा हामी टाँसिएर !
हिंड, अलि पर जाउँ ||

मजा

खुला छोड्नुमा के मजा 
जति 
कैदी बनाउनुमा छ,
यो मन त यसै सुर्किदिन्छ 
कहिले यसै फुर्किदिन्छ 
हाए ...कति नाजुक, कति भावुक 
रिसाए हुन्थ्यो बरु 
मजा, यसलाई मनाउनुमा छ 
मजा, कैदी बनाउनुमा छ !