Busker फिलिङस् !


all photos : from google image
              ब्यस्त सहर मलाई एकदम निर्जीव लाग्छ। यति व्यस्त रहन्छ दुनियाँ कि मानौं जिन्दगी घडीको सुई हो । ट्रेनमा, गाडीमा, मेट्रोमा जहाँ जाउँ मान्छेको ठेलमेल, लाग्छ आज केहि ठुलै मेला हो । सबै भन्दा रमाइलो दृश्य त यो हुन्छ कि जतिबेला प्रेमीप्रेमिका मस्त अँगालोमा बाँधीएर एक अर्कालाई अन्तिम 'बाई' भन्न नपाउँदै मेट्रो छेउबाटै हिडी सक्छ, भिजेका ओठ लिएर पछाडी हेर्दा उनीहरु 'ला ... बर्बाद भयो' भन्ने भावमा वरिपरी हेर्छन । अनि मलाई उनीहरुको अनुहार हेरीराख्न मन लाग्छ । कोहि मुखमा बर्गर च्याप्दै कुदेका छन्, कोहीको ज्याकेटका बटन खुल्लै छन् । सबै भ्याउनु छ, एकैपल्ट । कहिलेकाँही त यस्तै भिडभाड बिचमा पनि कसैतिर नहेरी दृष्टि 'फोकस आउट' बनाएर 'स्लो मोसन'मा हिडौ झैँ लाग्छ । 

यस्तै निर्जीवताको बीचमा जब मिठो संगीत सुनिन्छ, कुनै धुन टाढा टाढा सम्म फैलिन्छ, तब मन त्यसै खुसि भएर आउँछ । कसले बजायो होला, को होला यति फुर्सदिलो यहाँ । कुनै प्राणबिहिन मेसिन जिन्दगी दौडाई रहेका जीवित प्राणि एकपल्ट मुन्टो फर्काएर हेर्छ, मुसुक्क मुस्काउँछ, झट्ट काम सम्झन्छ, अनि घडी हेर्दै फेरि यथावात कुद्दछ । केहि फुर्सदिलो छ भने चै खल्तीमा हात अलि तलसम्म पुर्याएर केहि सिक्का खोज्छ, नजिकै पुगेर त्यो मान्छेले अघिल्तिर थापेको भाँडोमा राखिदिन्छ । सडक किनार/चोकमा उभिएर गाउँदै /बजाउँदै गरेको व्यक्तिमा उर्जा थपिन्छ, अनि फेरी सुर फेरेर झन् लयमा प्रस्तुत हुन्छ । धेरैजसो कुनै बाजा  बजाईरहेका हुन्छन, एक्लै वा समूहमा, केहि चै नाच्दै पनि भेटिन्छन । मानौं, यो चिसो, निर्जीव अनि यान्त्रिक सहरमा अलिकति भने नि प्राण थप्ने जिम्मा उनीहरुकै हो । यस्ता मान्छेलाई नेपालीमा ठ्याक्कै के भनिन्छ थाहा भएन तर अंग्रेजीमा चाहिँ busker भनिदो रहेछ ।   



       
             ब्यस्त हेलसिन्कीको सेन्ट्रल रेल्वे स्टेसनको बिशाल भवन बाहिर निस्कने बित्तिकै 50 काटेका एक जोडी प्राय  हार्मोनियम अनि चेलो बजाउँदै गरेका भेटिन्छन । हेर्दा उमेर निकै खाएका, तर पनि निकै जोश का साथ एक अर्कालाई हेर्दै आफ्नो संगीतमा आफै झुम्दै गरेको त्यो जोडी बेला बेलामा बिश्राम लिन्छ । अनि फेरी केहि सम्झिए जस्तो गरि अर्को लयमा बजाउन सुरु गर्छ । महिलाले अघिल्तिर सानो टोपी थापेकी छन्  र केहि रकम जम्मा पनि भएको छ । उनीहरुको गुजारा यसै बाट चल्छ । हेर्दा टर्किस जस्ता देखिन्छन, सायद 'रेफ्युजी' भएर आएका होलान । छोराछोरी पक्कै छैनन्, अथवा भएपनि आफ्नै दुनियाँमा कतै । परिवारको महत्व यी मुलुकमा कमै छ । म निकै भाबुक हुन्छु यस्ता व्यक्तिहरु देखेर । यिनीहरुको बारेमा सोधखोज गरूँ, धेरै जानौं अनि एकछिन यिनीहरुसंगै रमाउँ । बस, भावुक हुन्छु । तर उनीहरुतिर फाल्न मसंग सिक्का हुन्न खल्तीमा । 'हैन 1-2 युरो त हुन पर्ने हो ...' भन्दै खल्ती छाम्छु, नभेटेपछि बाटो लाग्छु, खुब राम्रो गाना/बजाना गरे यिनीहरुले भन्दै ।

                                                                        * * *

                 सहर चिसोले जमेको छ , मान्छेका हात आफुजत्रै ठुलो ओभरकोट भित्र छन । चस्माको शिसामा बाफ बेला बेलामा बाफ जम्दै छ , बाहिर हिउँ परिरहेछ निरन्तर । नजिकैको मानिस नदेखिएला भनेर टल्किने ब्याज बाँधेर हिड्नु परेको छ, दिउँसो को 1 बजे पनि घाम अस्ताएपछिको जस्तो गोधुली छ, यस्तो लाग्छ मानौं मान्छे होइन, मान्छे जत्रै काला-काला आकृति आउने-जाने गरिरहेछन । 4 तला जमिन मुन्तिर हेलसिन्की मेट्रो स्टेसनमा छेउ लागेर एक युबक गिटारसंगै फिनिस गीत गाउँदैछ, "मिना ओलेन सिना ...." (म तिम्रै हुँ ) ! उसको स्वर साँच्चै मिठो छ । उ यसरि गाउँदै छ, मानौं उसलाई सारा दुनियाँले सुन्दै छ, एकैपल्ट । यत्तिको उमेरमा कुनै काम नखोजेर किन बाटोमा गीत गाउँदै माग्नु पर्यो होला, अरुको जस्तै एउटा आम सोचाई मनमा आयो । 1 युरो राखिदिएँ उसको उल्टो पारेको काउब्वाई ह्याट मा, एउटा मुस्कान थपेर । उसले धन्याबादको लवजमा  टाउको हल्का झुकायो । एकछिन छेउमा बसेर उसका गीत सुनें । धेरै गीत परिवर्तनको लागि थिए, थोरै मायाँ प्रेमका । अब यो संग एकछिन गफिन पर्यो भनेर कुरा सुरु गरें प्रसंशाबाट - 'तेरो गीत धेरै राम्रो छ' । पछि बुझ्दै जाँदा थाहा भयो, ऊ कंगोमा रहेका युद्ध-पिडित बालबालिकाको लागि आर्थिक सहयोग जुटाउँदै रहेछ, यसरि सडकमा गाएर । यो 'एलियस' जस्तै अरु साथीहरु पनि छन् रे सहयोग जुटाउन लागी पर्ने | social service मा ग्र्याजुएट गरेर संसार घुमेपछि फिनल्याण्ड फर्केर गरिब मुलुकहरुको लागि कसरि प्रभावकारी सहयोग जुटाउन सकिन्छ भनेर अनुसन्धानमा लागेको रहेछ । "सहयोगको लागि मानिस हरुलाई बाध्य पारिनु हुँदैन, मैले सार्वजनिक स्थानमा गाउँदा कसैलाई आनन्द लाग्छ भने केहि सेन्ट वा यूरो सहयोग गर्न सक्छ ! 1 यूरोले कंगोका 2 जनाले पेटभरी खान सक्छन "। उसको प्रस्टीकरणमा मैले टाउको हल्लाएँ ।

for Anarchy लेखेको झ्याप्ले टि-सर्ट लगाएर गाँजा खाला जस्तो देखिने केटोको कुरा सुन्दा म दंग परें । पैसा भएर मात्रै अरुलाई सहयोग गरिने हो र । आफुसंग केहि नहुँदा नि पनि त अरुलाई धेरै दिन सकिने रहेछ त । महिनाको 1 दिन बिदाको बेला मेट्रो स्टेसन मुनि बसेर गरिब देशका युद्ध पिडितको लागि सहयोग जुटाउनु साँच्चै प्रसंसा योग्य काम लाग्यो, यो 24 बर्षे फिनिस को । 'म संग यहि सिप छ, सजिलो लाग्छ अनि गाउन बसें । अरु साथीहरु आ-आफ्नो तरिकाले सहयोग गर्छन  । बाइ द वे, त इरानी होइनस ?', उसले मेरो हल्का दारी, शरीरको उचाई अनि लवजबाट अन्दाज लगायो रे । मलाई नौलो लागेन, मैले पहिला पनि यस्तै प्रतिक्रिया अरुबाट पाएको थिएँ ।
आफ्नो मुलुक सम्झे, रेमिट्यान्स कहाँ कहाँ खर्च हुन्छ भन्ने पछिल्लो समाचार सम्झें, एक भारी सपना बोकेका आफु जस्तै साथि भाई सम्झे । साथीहरु बेला बेलामा मजाक गर्छन - तँ पनि अब बासुरी बोकेर 'सेन्टर' तिर बस न, कति सजिलो काम "! म रेडिमेड जवाफ फर्काउँछु- "म बाटोमा बासुरी बजाउन बसें भने तिमीहरुको दारु पार्टीमा कसले बजाउँछ नि फेरी ?  :)
लगभग 15 मिनेट एलियसलाई अल्झाइसके  पछी उसले भन्यो - "तेरो 'इन्टेरेस्ट'लाई म सम्मान गर्छु, हिंड जाउँ कफी खान । चिन्ता नगर, म आफ्नै पैसाले खुवाउँला, यो पैसा 'च्यारिटी' को लागि हो  "। काईसानेमी पार्कमा आफ्नो कफी आफैले 'स्पोन्सर' गरेपछि मैले आफ्नोबारे बेलिबिस्तार सुरु गरे - 'आइ एम फ्रम नेपाल'........ ! र अन्तमा कफी सकेर निस्किने बेलामा नारायण गोपालको गीत नसुनी उसले सुख पाएन !    

4 comments:

  1. आफुसंग केहि नहुँदा नि पनि त अरुलाई धेरै दिन सकिने रहेछ त । ho bhuban sir sakin6. tara man6i kai jasto man hunu par6. yeuta man 6uni aalekh

    ReplyDelete