मारी युहाल्सी

"सरले क्लासमा पढाईरहेको हुन्थ्यो, मन चाहिँ बिरामी आमाको बेड वरिपरी घुम्थ्यो | कति दिन काममा पनि जान मन लागेन | साथीभाईसंगको हल्लाखल्ला त मलाई उहिले देखि मन पर्दैनथ्यो | भुवन, तँ यो कुरा महसुष गर्न सक्छस ? मेरै फिनिश साथीहरुले त बुझ्दैनन, तँ फरक 'कल्चर' बाट आएकोले के महसुश गर्थिस |
डाक्टरले आमाको मिति तोकिसकेको छ | अब धेरै बाँच्नु भयो भने ३/४ महिना मात्र रे | गएको २ महिनादेखि हस्पिटलमा हुनुहुन्छ, कहिलेकाहिँ फरक छुट्याउन सक्दिन, क्यान्सर आमालाई भएको हो कि मलाई | घरमा अलि धेरै पढेको छोरी मै हो | अँ .... भयो छोड सब कुरा, बेकारमा मेरो टेन्सनको कुरा तलाईं सुनाएर किन तेरो उदास बनाउनु | यतिबेरसम्म मेरो कुरा सुनिदिइस, खुशी लाग्यो |"
हेल्सिन्की सेन्ट्रल नजिकै भेट हुँदा करिब ३ महिना अघिको कुरा थियो यो | सबैको आ-आफ्नै काम, तनाव, दैनिकी | गफगाफको मेसो महिनौंसम्म जुरेन | फेसबुकमा म कहिले 'अनलाइन' मा बस्थिन | हामीसंग एकअर्काको फोन नम्बर त थियो, तर किन थियो, थाहा थिएन | कहिल्यै सिधै म्यासेज वा फोन गरिएन | 

मारी युहाल्सीसंग मेरो भेट २०१२ को मार्चमा भएको थियो | यूनिभर्सिटीको एउटा तालिममा कसो कसो गरि मसंगै परेकी थिई | कार्यक्रमपछि बेलुका सानो भोजमा एउटै टेबलमा भई | 'सबैको हातमा बियरको गिलाँस हुँदा तेरो चाहिँ 'साईडर' मात्रै ?', मैले बोलि फोरें | 'अँ, मलाई यहि ठिक छ, म अल्कोहल लिन्न' | उ अलि फरक थिई, आम फिनिश केटीहरुभन्दा | रुपरंगले होइन, बोल्ने शैली र अनुहारको भावले | कताकता केहि लुके जस्तो | आँखामा कुनै तेज नभएको, गालामा लाज र उत्तेजना होइन, निरस भोगाई थिग्रीए जस्तो | मेरो नराम्रो बानी भनौं, किताब भन्दा 'मान्छे' छिटो पढ्न मन लाग्ने | त्यो साँझ, अरु साथीहरुसंग जस्तै उसंग पनि फेसबुक र फोन नम्बर आदानप्रदान भयो |
'मैले तलाईं दिउँसोदेखि नै 'नोटिस' गरेको थिएँ, तँ बाहिरबाट आउने अरु बिद्यार्थीजस्तो छैनस, तेरो भाषण 'इम्प्रेसिभ' थियो ',
जाने बेलामा उसले एकै सासमा भनि |
                                                                        * * *

अस्ति भर्खरको एउटा अल्छिलाग्दो आईतबार, उसले म्यासेज गरि -"के गर्दै छस ? कृपया मिल्छ भने एकछिनलाई भेटौँ न"| मैले किन/कसरि केहि प्रश्न गरिन | 'हस हुन्छ, सेन्टरमा आउनु' भनेर म्यासेज फर्काएँ | मलाई लगभग अन्दाज थियो, उ के कुरा सुनाउन चाहन्छे | 
courtesy: Mari
"बुबाको एउटा फार्म-हाउस छ | दाई धेरै अघिनै बिहे गरेर यतै हेल्सिन्की तिरै बस्छ, के छ कस्तो छ, थाहा छैन, परिवारको सम्पर्कमा बस्दैन | बुबाले आमालाई माया नगर्ने त होइन, तर म महसुश गर्न सक्थें, सम्बन्ध त्यति गाढा थिएन | तर आमा बिते पश्चात बुबा अर्कै हुनुभएको छ | उहाँको जीवनबाट सबै कुरा गुमे जस्तो | टोलाउनु हुन्छ, निराश देखिनुहुन्छ, शिकार खेल्ने बन्दुक पनि फालिदिनु भयो | बाँचुन्जेल आमालाई अलिकति ध्यान दिनुभएको भए, सायद ब्लड-क्यान्सरलाई पनि उहाँले जित्नुहुन्थ्यो होला | अहिले सोच्छु, आमालाई कसले बढी पेल्यो, क्यान्सर कि बुबाको उपेक्षाले | 
हामी दाजुबहिनि कसरि जन्मियौं , सायद संयोग होला | मेरी आमा हेर्दा राम्री देखिनुहुन्थ्यो | एउटा नारीमा हुनुपर्ने सबै गुण उहाँसंग थियो सायद | तैपनि बुबाको जहिले असन्तुष्टि रहन्थ्यो आमासंग | सानो छंदा यो किन होला भन्ने सोचि रहन्थें, मेसो पाउँदिनथें | आजकल सम्झिन्छु, बुबा धेरै जसो जांड खाएर किन घर बाहिरको गोठमै सुतिदिन्थे | अरु घरायसी ब्यबहार सबै ठिकठाक नै चलिरहँदा, उहाँहरुलाई एउटै ओछ्यान 'सेयर' गर्न चाहिँ किन समस्या थियो | बेला बेलामा जिल्ल पर्थें | आमाले एउटा रुखो-सुखो लोग्ने त पाउनुभयो, तर माया गर्ने श्रीमान पाउनुभएन "| 
"धत्, म कस्तो छोरी, यो सब तलाईं किन सुनाईरहेको होला" |
म अलिकति हासें मात्र, त्यस्तो बेला कसरि 'रियाक्ट' गर्ने मेसो नै पाईन | मैले कफी सुरुप सुरुप सकें, मारीले कप छोएकी समेत छैन | थाहा छ, उसको मन भन्दा पनि ज्यादा चिसो भईसकेको छ कफी | तर उसलाई म बिचमा अल्झाउँदिन | उ एकोहोरो मेरो आँखामा हेरेर बोलिरहेकी छ, मानौं क्यामरा अघि कुनै बयान दिदै छे |

                                                                     * * *

"म बेला बेलामा फर्म-हाउसमा जान्छु | धेरै कुखुराहरु छन् जसमा मलाई मन पर्ने एउटा ठुलो पोथी छ, जसका धेरै रंगीबिरंगी चल्ला छन् | बेला बेलामा कुनै अनौठो आवाज आउँदा आफ्नो पंखेटा मिलेजति फुकाएर चल्लाहरु छोप्छे | म त्यो बेला यस्तो महसुश गर्छु मानौं म पनि तिनै चल्लाहरु मध्य एक हुँ | फुर्रफुर्र गर्दै त्यहि पंखेटाभित्र पसूँ | आमा नहुँदाको घर, के घर | 
मेरो गाउँ 'सालो' छोडेर हेल्सिन्की झर्न मलाई अत्यास लाग्थ्यो | यहाँको 'कस्मेटिक' रहनसहनमा म पटक्कै फिट हुन सक्दिन | तलाई लाग्दो होला, यहाँका तन्नेरीको कुनै 'फिलिंग्स'  हुँदैन, सम्बन्धहरु भनेको म्याक डोनाल्डस् को बर्गर झैँ हुन् | हेर न, दुखको कुरो, मलाई पनि त्यस्तै लाग्छ भन्या ! मेरा साथीहरुको ब्यबहारनै त्यस्तै छ | सबैले सबैलाई मुखले ठिक्क मात्रै पार्न आउँछ | मनमा कुनै गहिरो भाव नै रहँदैन | तलाईं थाहा छ ? अस्ति क्लासमा एक्लै बसिरहँदा केहि साथीहरु हल्ला गर्दै, हाँस्दै भित्र पसे | एकछिनलाई जबरजस्ती हाँसो थामेर शान्त भएझैँ गरे, अनि म नजिक आएर भने - 'के यो कुरा साँचो हो ? ओहो... तिम्रो आमा बित्नु भएकोमा दुख छ, उहाँको पक्कै स्वर्गबास हुनेछ, आफुलाई सम्हाल्नु !' 
मैले 'सहनाभूतीको लागि धन्यबाद' भनें | उनीहरुले सोधे - 'साँच्ची के भएको थियो रे तिम्रो आमालाई ?' | मैले निहुरिएको टाउको बिस्तारै उठाएर 'आमा अस्तिनै देखि बिरामी हुनुहुन्थ्यो, अनि  ....' भन्दै गर्दा उनीहरु हिंडीसकेका थिए | म बोल्दाबोल्दै रोकिएँ | वाक्य बिचमै मधुरो हुँदै गयो, म उनीहरु गए तिर हेर्दै बसें, एक्लै | मनभित्रबाट जान्न मन छैन भने किन सोध्नु | त्यहि पनि पिकनिकको कुरो गरेको हो र, मेरो आमाको मृत्युको प्रक्रिया बताईरहेको थिएँ म | कसरि टुहुरो भएँ भन्ने सुनाईरहेको थिएँ | फार्मका चल्लाहरुलाई आहारा दिने मान्छे कसरि बिलायो भन्ने सुनाईरहेको थिएँ | मलाई सहानभूति दर्शाउन खोज्ने साथीहरु भन्दा त ति कुखुराका चल्लाले बुझ्छन मेरो आमाको रंग, उहाँको हिडाई | त्यो खैरो, लामो र थोत्रो ज्याकेट लगाएर आउने आईमाईको ममता कस्तो छ भनेर | उनीहरु जान्दछन, वात्सल्य कस्तो हुन्छ |" 

मारीको आवाज मसिनो हुँदै गयो | उसको पावरवाला चस्मा भित्र के बग्दै छ, मलाई नियाल्न मन लागेन | "म अर्को कफी लिएर आउँछु ल !", उसलाई बिस्तारै धाप मारें, सकेजति बिस्तारै, बस् हावाले मात्र छोयो होला | उसले टाउको हल्लाएर 'हस' भन्ने संकेत गरि | दुखसुख त जीवन सापेक्ष हुँदो रहेछ, ठाउँ सापेक्ष होइन | एउटा गोलार्दको लागि जहाँ जसरि बिझाउँछ, अर्को गोलार्दका लागि पनि त्यसरी नै बिझाउँदो रहेछ | 

अबको कफी तातो थियो, मिठो बासना सहित बाफ उड्दै गरेको | "ठाउँ जतिसुकै बिकट होस्, संस्कारका हिसाबले तिमीहरु कति सुगम छौ है !", उसको स्वर अलि बलियो सुनियो | "अँ.. हाम्रोमा जन्म, मृत्यु, बिबाह अनि अरु थुप्रै कुराहरुमा अलि बढी नै 'ड्रामा' हुन्छ, धेरै जसो चै लम्बेतान | एक हिसाबले ठिकै पनि हो, कुनै कुनै चलन चाहिँ झन्झटिलो छन् | तर राम्रो पक्ष भनेको, कुनै पनि कुरा कोहि एक्लैले व्यहोर्न पर्दैन "| मैले धेरै तन्काउन चाहिन | मलाई राम्रो ब्याख्या गर्न पनि आउँदैन | खासमा मेरो बिश्लेषणले उसलाई केहि फरक पार्नेवाला पनि थिएन | मानिस सधै आफ्नो जीवनमा एउटा असल श्रोताको खोजीमा रहँदो रहेछ, मन हल्का पार्नको लागि | ७ जुनीसम्म संगै हुन्छु भन्ने ग्यारेन्टी किन चाहियो | 
"तँ नेपालमा जन्मिनु पर्ने मान्छे रहिछस, यहाँ फिनल्याण्डमा के गरि बस्छेस त खै !", मैले अड्कलेर जिस्क्याएँ | मारी मलाई हेरी मात्र रहन्छे, ओठलाई थोरै तन्काएर, आँखा अलि कम झिम्क्याएर |

हेलसिन्कीबाट छुट्ने रेल


हेलसिन्कीबाट छुट्ने रेल 
हो ... त्यहिँ रोकिन्छ 
जहाँ एकजोडी बृद्ध 
सेताम्मे हिउँको तलाउमा 
बुढ्यौली लागेको खुट्टा
चोप्दै सम्झन्छन 
आफ्ना छोराछोरी पछिल्लोपटक 
भेट्न आएको दिन । 

हेलसिन्कीबाट छुट्ने रेल 
त्यहिँ रोकिन्छ,
जहाँ मारिया सम्झन्छे 
अघिल्लो रात,
मातेर ढलपल हुँदै गर्दा 
ब्युँझिएकी एउटा अफ्रिकनको काखमा,
'साँच्चै नाम चाहिँ के थियो होला त्यसको?'
 रंगीन तर धमिला दृश्यहरु । 

हेलसिन्कीबाट छुट्ने रेल 
त्यहिँ रोकिन्छ,
जहाँ एक हुल युवा 
दोबाटोमा बियरका कार्टुन बोकेर 
गाली गर्छन आप्रवासीलाई
आफ्नो मुलुक बिगारे भनेर,
थोरै बुझेझैं, थोरै नबुझेझैँ गर्छन 
रातभरी हिउँ सोहोरेर आएका 
नेपाली, बंगाली अनि भियतनामी, 
जिल्ल पर्छन,
टोलाईरहेका अनिँदो आँखाहरु ।



उपहार



साँघुरो गल्लीको बाटो हुँदै
छिरेका पाइलाहरु, 
सम्झनाको दर्के झरिले
रोकिएका छन् ओत खोज्दै |  

लम्बियोस् झरि 
लम्बियोस् पर्खाइ त के भो, 
सेकेन्ड मिनेट र घन्टा हुँदै 
कुनै ओसिलो साँझ सकिदाँ
सिंगै जुनी बितोस् त के भो 
एउटा न्यानो रातपछिको कुनै बिहान 
पक्कै सुक्नेछ,
परेलीको बिरह शित  |

त्यतिन्जेल,
नहिड्नु एक्लै
ठन्डी थामिनसक्नुको छ,
चिसो मनको धुम्म आकाशमुनी
सम्झनाले निथ्रुक्क बनाउँदा, 
मायाकै बतासले पनि 
चिसो लाग्न सक्छ !
'फेरि भन्यो' नभन्नु तर
म बारम्बार भनिरहनेछु,
म पग्लने छैन हिउँजस्तै 
अनायस हराउने छैन यो शहरबाट
बरु मन थामेर म पठाइरहनेछु 
जुगजुगसम्म ......
मेरो भागको खुल्ला आकाशबाट
मायाको घाम उपहार तिमीलाई !

"साथी,खालि बोतल कहाँ छ ?"


"18 तारिकमा हो कार्यक्रम दौरा-सुरुवाल जे छ लगाएर आऊ ..अँ .. होकेटीहरु चै सारी-चोलो मै हो ए ..ल हुन्छ मिल्छ भने अलि छिटो आउनुस्टल मिलाउनु पर्छ ओके बाई |"
यति भन्दै सिजन श्रेष्ठले टेलिफोन बार्तालाप टुंग्याए उनलाई भेट्ने मेसो धेरै पछि मात्र मिलेको थियो म यसपटक अरुबेला भन्दा खुशी थिएँ गफगाफलाई लिएर सिजन जस्तै अरु केहि साथीहरुले त्यति ठुलो केहि गरेका त होइननजति गरे अनि जसरि गर्दैछन्त्यो चाहिँ साँच्चै उल्लेख्य थियो सार्वजनिक बिदाको त्यो मध्यान्हकेहि न्यानो थियो 
                          समुन्द्री किनारमा माछा मार्न जानेपार्कमा बसेर बियर खानेवा त्यस्तै केहि हुने गर्छ यो 'समरलाग्दै गर्दाको भेटघाटमा तर म जुन प्रसङ्ग कोट्याउन खोज्दै थिएँ उनिसँगत्यसले कुनै रोमान्चकता दिने वाला थिएन 
"२००९ बाट हैन हामीले सुरु गरेको ?", पल्लो कुर्सीमा बसेकी सरिनालाई याद दिलाउँछन् उनि | उनि ४ बर्ष अघिको त्यो साँझ सम्झिन्छिनट्रेन स्टेसनमा अरुले फालेको बियरका बोतल टिप्दै हिंडेको फिनल्याण्डमा नौला थिए उनीहरु तैपनि सेन्टरको त्यो भिडभाडमा संगै ट्रेन कुर्दै गर्दा अरुजस्तै साधारणकानमा इयरफोनखल्तीमा हातकहिँ पुग्ने हतारोअनि सधैँ केहि न केहि सोचिरहे जस्ता तिल-चामल भिडमा मिसिन्थे फरक यत्ति थियोउनीहरुसंग काम थिएन घरबाट ल्याएको पैसा केहि महिनाको अन्तरालमा सकिने तरखरमा थियो नेपालको सर्टिफिकेटको यहाँ के मान्यताखालि बोतल बेचेर आउने १५ सेन्ट जतिको पनि भाऊ थिएन मनमा निराशा व्याप्त थियो | 'तैपनि आफूजस्तै अरु २-४ जना बेरोजगार देखेपछि भने चित्त बुझ्दो रहेछ संगै बसेर गफ गर्योनिराशा पोख्योयहाँको 'सिस्टम'लाई गाली गर्यो२ वटा बियर खायोअनि फ्रस्टेसन उतार्यो | '

एक साँझ सिजनतिकुरिल्ला तिरबाट हेलसिन्की फर्किंदै थिए ट्रेनबाट झर्ने बित्तिकै वरपर हेरेपहेंला स्ट्रिट ल्याम्पको प्रकाशमा २० रूपैयाँका अनगिन्ति डल्ला छरिएको देखे बियर खाएर फालिएको एउटा बोतल स्टोरमा दिँदा १५ सेन्ट फिर्ता आउँछ २ वटा खालि बोतल यहाँ उनले टिपे भने त नेपालमा एक जनाले पेटभरी खान पाउँछ जम्मा ५ मिनेट खर्च गरे भने ५-७ वटा बोतल पक्कै खोजिन्छ होलाजुन पैसा जोगाएर नेपाल पठाउन पाए त कति भोका पेट भरिएलान नेपाल हुँदा घरमा आमाले मन परेको खाना बनाउनु भएन भनेर घुर्की लगाउँदै निस्केपछिबाटोमा झिंगा भन्किरहेको एउटै थालबाट धेरै बच्चाहरुले बासिभात निस्तै खाईरहेको देखे | केहिबेर उभिए, सोचे, त्यसपछि जाँदै गरेको बाटोबाट यू Turn मारेर घरमा फर्कि चुपचाप खाना खाएको याद आयो मनले भन्यो - अब सोचेर मात्र केहि हुन्न | हेलसिन्की स्टेसनको भिडमा केहि संकोच नमानि झोलाबाट प्लास्टिक झिकेअनि फटाफट वरपरको बोतल उठाए धेरैनै जम्मा भएपछि स्टोरमा गएर साँटेतर पैसा आयो जम्मा ३ युरो ! राति घर फर्केपछि केहि मन मिल्ने साथीहरुलाई त्यो कुरा सुनाए केहिले उत्साह थपेकहिले ओठ लेप्राए | " आफ्नै जागिर नभएर के खाउँ भएको बेलाअरुलाई कसरि सहयोग गर्नु फेरी हाम्रो यति जाबो पैसाले केहि हुनेपनि त होइन |" कुरो जायज थियो तैपनि कुन कुराले त्यस्तो 'क्लिकगर्यो मनमा कि उनले त्यो लत छोड्न सकेनन अनि उनीजस्तै काम खोज्दै बरालिने केहि साथीहरु मिसिएलहड लहडमै रुटिन बन्यो : हप्ताको २ दिन फुर्सदको बेला बेलुकी बोतल टिप्दै हिंड्ने र महिनाको अन्तिममा सबैको हिसाब जम्मा पारि एकठाउँमा राख्ने महिनाभरिमा जम्मा ५० युरो पनि पुग्थेन होला आफ्नो लागि साथीहरुसंग सापट मागेर काम चलाएतर बोतल टिपेको पैसा खर्च गरेनन | २-३ जना सिमितसाथीहरु मिलेर सुरु गरेको त्यस काममा उज्वल खड्का थपिए, "राम्रो काम होगर्नु पर्छथाक्नु हुन्न" भनेर हौस्याईरहने अब भने राति राति बोतल टिप्ने समूहनै बनेको थियो बिस्तारै अनन्तमदन कडरियाज्ञानु थपलियाजस्ता अरु साथी थपिएजसले काममा मात्रै सघाएननऔपचारिक रुपमा हरहिसाब पनि दुरुस्त राख्थे अनि सहयोगको हात बढाउन  रेशम अधिकारीभिम तामांगर अरु साथीहरु पनि आएजसले गर्दा अझ सहज भयो | "सहयोगपूर्ण काम गरौँ भन्ने त सबलाई लाग्दोहोला नि मनमातर कोहि अघि नलागेसम्म सुरु गर्न गाह्रो है "टेबलमा रहेको चस्मा उठाउँदै सरिना बोल्छिन |  क्याफेको हाम्रो गफगाफमा ढिलो गरि आईपुगेकी प्रतिज्ञा खनालले सोधिन - "चिया मगाउँ है ?", उनले सोध्न नपाउँदै मैले 'हसभन्ने लवजमा टाउको हल्लाएँ जाडो होस् या गर्मिआफु त चियाको पारखी परियो 
सामाजिक कार्य अनि चियाको प्रसंग आउने बित्तिकै मैले सम्झने एउटै कुरा छअसाहय बालबच्चाको सहयोगका लागि ट्वीटर चलाउनेहरुको समूह ‘TFC नेपाल’का साथीहरुको बसन्तपुरमा हुने 'चिया-बिसोटकार्यक्रम | चिया टेबलमा आउँदै गर्दा TFC मा भएका रमाईला प्रसङ्ग सुनाउन भ्याएँ मैले 
"अनि यो बोतल टिपेर कतिन्जेल त अरु तरिकाबाट एकैपल्ट धेरै पैसा जम्मा हुन सक्छ निअरु सहयोगी संस्था पनि भेटिएलान"|
"अँह... त्यस्तो होइन |" सिजनले अलिकति 'पजलिएर बोले |
"मान्छेहरुलाई सहयोग गर्न बाध्य पार्नु हुन्न उनीहरु रमाइलो गरुनतर थाहै नपाई त्यसबाट सहयोग पनि होस् एक कार्टुन बिएर खाएर आएको बोतलबाट कम्तिमा ४ युरो आउँछत्यो जम्मा पार्न सके त धेरै काम बन्छ धेरै नेपाली साथीहरु खुशी हुँदादुखि हुँदा, जे पर्दा पनि पार्टी नै गर्ने चलन छत्यो खालि बोतल जम्मा पारिदिए त रमाईलो संगै सहयोग पनि भयो अझ 'भिकिंग लाइनर 'सिल्या लाईनजस्ता फिनल्यान्डका ठुला जहाज कम्पनिमा काम गर्ने नेपाली साथीहरुले सहयोग गरे भने तखेर जाने चिजबाटै उल्लेख्य सहयोग जुटाउन सकिन्छ"उनको तर्क यत्तिकैमा सकिदैन | "हामी कुनै संस्थाबाट सहयोग लिदैनौं हात थाप्ने बानि पर्छआश गर्ने बानि पर्छ आफ्नो मनबाट आएको सहयोग भावनाआफ्नै हातले पुरा गरेको राम्रो निहैन र ?", सिजनको गह्रौं हाँसो म तिर आयो, "एकदम सहि", किनकि प्रतिवादको लागि मसंग शब्द थिएन 


एकपल्ट काठमाण्डौ गोठाटारको एउटा स्कुललाई आर्थिक संकट परेको थाहा भयो साथीहरुमार्फत उक्त स्कुलमा निकै नै बिपन्न मजदुरका छोराछोरी पढाईँदो रहेछ | "एक्टिभ पिपुल" नाम राखेर बिदाको दिनमा बोतल खोज्दै हिड्ने यो समुहलाई त्यहाँ सहयोग पठाउन मन लाग्योतर खातामा जम्मा ७५० युरो थियो २००९ को त्यस जाडोमा, -१५ डिग्री सँग जुध्दै पार्क वरपर बाटोभरी छरिएका १५ सेन्ट खोज्दै हिंडे सहयोग जुटाउन अनि त्यस स्कुलमा पुगेको उक्त रकम (रु ८० हजार) तुलनात्मक रुपमा थोरै नै किन नहोसत्यसपछि उनीहरुले पाएको प्रतिक्रिया चाहिं मनै फुरुङ्ग पार्ने खालको थियो त्यसबेला देखि अहिलेसम्म यस्तै अनगिन्ती सहयोग पठाइसकेको छ यस "एक्टिभ पिपुल" समूहले २०११ मा नेपाल टेलिभिजनबाट प्रसारित बर्दियाकी ११ बर्षिया बालिका सरिता डी.सी. को रगत नबढ्ने आई.टि.पि. रोग लागेको र उपचार खर्च नपाएर रोएको 'भिज्युअलहेर्दै गर्दा सरिनाको आँसु तप्प झरे, तर तत्कालै आँशु पुछेर साथीहरुलाई फोन घुमाईन्  | केहि समयमै एउटा च्यारिटी प्रोग्राम गरेर करिब १३०० युरो जुटाइयो र बालिका उपचाररत अस्पतालमा पठाईयो | "यस्ता सानोतिनो सहयोगले जिन्दगी त नबन्लातर केहि समयलाइ राहत त पक्कै भयो होला नि पीडाको बेलामा"मन भारी हुँदै गर्दा सरिनाको बोलि मसिनो हुँदै थियो | "अस्ति भर्खर पनि 'युथ फर नेपालभन्ने अमेरिकी मुलको नेपाली संस्थासँग मिलेर एउटा टिसर्टको २० युरोको दरले साथीहरुले लगाएजसको झन्डै ८० प्रतिशत रकम झापाको एक स्कुलको छानो छाउन प्रयोग भएको थियो यता टिशर्टको फेशन भयोउता चुहिने छानो छाईयो |" मैले बिस्तारै सोधें - "सहयोह गर्न पैसा चाहिन्छ कि मन ?", सबैको उत्तर केवल मुस्कान मात्र थियो अनुहार पढ्न भाषा चाहिन्छ र !  

आज यो दिनसम्म आइपुग्दा यि तन्नेरीहरुको आफ्नै पक्का राम्रो जागिर छहातमा 'ग्रयाजुयसनसर्टिफिकेट छसम्झिएरै रुन/हाँस्न पुग्ने प्रेम प्रसङ्गहरु छन्अरुको जस्तै पारिवारिक उतारचढाव पनि छतैपनि बाटोमा बोतल देखे टिप्न बिर्सिदैनन बिदेशीलाई बरु वास्ता हुन्ननेपाली साथीभाईले चै बुझ्दै नबुझी 'ह्युमिलेटगराउँछन् | "हैन यति युरो छाप्दा पनि नपुगेर के को बोतल टिप्दै हिड्छस् यारकति लोभ गरेकोनारायणहिटी दरबार किन्ने विचार हो र ?”, उनि प्रतिवादमा उत्रिदैननबस 'खिस्सहाँसेर टारीदिन्छन | "त्यस्ता प्रतिक्रियाको उल्झनमा लाग्यो भनेमन कम्जोर हुन्छ" 

काम्पी स्टेसन नजिकै राती ११ बजेतिर बोतल टिप्दै गर्दा सरिनालाई एउटा अँध्यारो आकृतिले झस्कायो एउटा फिनिश केटो ठिंग उभिएको थियो पछिल्तिर |  " तैंले खान नपाएर यस्तो गरेकी होस् हो भने हिंड मसंगम पैसा दिउँला"केटोले रुखो गरि भन्यो जिन्दगीमा पहिलोपल्ट रिसघृणात्रासहाँसो सबै 'इमोसनएकैपल्ट महसुस भयो उनलाई कसरि कुरा बुझाउने यो भुसतिघ्रेलाई तैपनि हिम्मत नहारीकन सबै बेलिबिस्तार लगाईन्केहि मिनेटको बार्तालाप पछि फिनिश 'खैरेको मन बदलियो नम्र भावमा प्रस्तुत हुँदै सहयोग गर्न पो तम्सियो | "तेरो समूहलाई म पनि केहि पैसा सहयोग गर्न चाहन्छु"केटो उत्साहित भयो | "बोतल टिप्ने भए आइज संगैपैसा त हामी अरुबाट लिदैनौं"सरिनाको जवाफबाट केटो अवाक भयो यो प्रसङ्ग सुनाउँदै गर्दा उनको अनुहारमा खुशीको एउटा पत्र थपियो 
हामी चियाको दोस्रो राउण्डमा थियौं प्रतिज्ञाले फुरुंग हुँदै सुनाईन "मैले हिजो १० युरो जम्मा परेको छु नि ग्रुपको लागि२ जना दिदीहरुको कपाल काटेर"यो समूह कहिले कार्यक्रमहरुमा चिया बेच्छअरुको कपाल काट्छ अनि बेला बेलामा फिनिस सांस्कृतिक कार्यक्रमहरुमा नेपाल चिनाउने भेषभुषा प्रस्तुत गर्छ | यस्तै अनेकौं कथाहरु छन् यस समुहमा मिसिएर काम गर्ने अरु साथीहरु पनि |  "पर्सनल लाईफ बिगारेर यस्तो काममा लाग्न हुन्न हैभित्र मनबाटै आउँछ भने र फुर्सद निकाल्न सकिन्छ भने मात्रै लाग्नु पर्छ ", NRN फिनल्यान्डका सचिब रहेर काम गर्दै आएका सिजन सम्झाउने भावमा भन्छन 
अब भने हाम्रो गफगाफ लम्बिदै थियो पाँचौ तलामा रहेको त्यस क्याफेको त्यो झ्यालबाट हेरेंसाँझ पर्दै गर्दा घाम बिस्तारै छेलिएर 'पासीलाट्रेन स्टेसनमा छाँया पर्यो सोचेंउत्तरी गोलार्द्धको यो अँध्यारो मुलुकमा पनि कति उज्याला प्रवासी मन दौडिरहेछन्जुनकिरी जस्तै पिलिक पिलिक ! ट्रेनमा फर्किदै गर्दा मैले बिस्तारै सम्झदै साथीहरुलाई पालैपालो फोन लगाएँ | "अघिल्लो हप्ता पार्टी गर्दाको बोतलहरु कहाँ छ हँ ? त्यो एउटा पनि नफाल्नु | गोरखाको मेरो स्कुलमा लाईब्रेरी छैन |"



[ "बोतल टिप्ने ग्रुप' शिर्षकमा २९ भाद्र २०७० शनिबारको 'अन्नपुर्ण पोष्ट' मा प्रकाशित ] 

औसत : अर्थात म !




एउटा औसत जुँगाको रेखी,
मध्यम सपना,
केहि अफ्ठ्यारा सम्बन्धहरुको कथा,
च्यातिन नसकेको 'कन्भर्स',
ऐजन ऐजन .....
यि बाहेक मसंग 
'तिलस्मी' केहि छैन |
धेरै आश नबोकि आए, 
एउटा हाँसो 
आधा कप्टेरो बाँडौला |
आँखाको डिलमा हेर 
पढ्न सक्छौ भने :
बिछट्ट खुशीको 'छोटो बाटो'
अनि 
उग्र सपनाको महत्वकांक्षी सिंढी 
यहाँ उपलब्ध छैन !  


दुख्ने चिजहरु

कहिलेकाहिँ लाग्छ
कागजकै बनाउँ दुनियाँ
कागजकै बसाऊँ घर
गुजुमुज्ज पारी कागजकै डल्लो
पोतेर रातो 'वाटर-कलर'
बनाउँ एउटा धड्किने मुटु,
टाँसेर खोटो टुक्राटुक्री 
जोडौं सम्बन्धको जालो |
कहिले काहिँ लाग्छ 
कागजकै बनाउँ आँशु 
अनि पोतौं कालो रंग 
स्कुले 'साईनपेन' ले |
तर समस्या सबै यसमै छ; 
ति सब दुख्ने चिज जति 
सजिब छन् !
अहिले हेरें ;
सानोमा बनाएको
त्यो सानो मुटु
खोबिल्टे आँखा,
च्वास्स दुख्ने, छिनमै रसाउने  
अहिले जस्तो 'धराप' थिएनन ! 


मेरी छोरी !


              मन त लाग्छ, सोधौँ  -'छोरी तिमीलाई कस्तो छ?'| तर नेपाली २-४ शब्द बाहेक अरु खासै आउँदैन मेरी सानी छोरी 'नीना' लाई | आघिल्लो हप्ता आउँदा त ठिकै थिई, यसपालि अनुहार निन्याउरो देखें, राम्रोसंग खेलिरहेकी पनि थिईन | कोठामा छिर्ने बित्तिकै angry bird को लोगो भएका केहि गिफ्ट उसको हातमा थमाईदिएँ, हातमा लिएर बिस्तारै 'kiitos' (धन्यबाद ) भनि | अरुबेलामा झैँ गिफ्ट लिएर खुसीले उफ्रिदैं सोफामा बल्ड्याङ खेल्न गईन, चुपचाप उसको कोठातिर लागी | कोठाको चारैतिर आँखा डुलाए, भित्तामा केहि फोटोहरु फेरिएका रहेछन, भान्सा कोठामा टाँगी राखेको बुद्धको तस्बिर चै उस्तै रहेछ | बडो मेहनतले ल्याएको थिएँ नेपालबाट त्यो | टेबलमा कागजपत्रहरु छरपस्ट थिए | छोरीको स्कुलको यो महिनाको बिल टेबलबाट खस्नै लागेको थियो, जतन गरि पट्याएर बिचमा राखी दिएँ  | मेरो भागको आधा बिल मैले अस्तिनै अनलाइनबाट तिरिसकेको थिएँ | छोरीको अनुहार मलिन हुँदा, उसकी आमा जस्तै देखिन्छ उसलाई | मन त लाग्छ काखमा लिएर फकाउँ, खुसि बनाउँ, कतै घुमाउन लगौं , वा चकलेट छोडाएर जिस्क्याई जिस्क्याई खुवाउँ | मन लाग्छ छोरी नेपालीमै बोलोस, मलाई बुबा भनोस, 'हजुरआमा भेट्न नेपाल जाउँ न' भनोस, मेरो दाईकी छोरीलाई जस्तै प्रत्येक बिहान आफैले स्कुल पुर्याउन पाइयोस, सुत्ने बेलामा कुनै रमाइलो परि-कथा सुनाउँदै न्यानो गरि सुताउन पाइयोस .... तर, यी सब मेरा कल्पना मात्र हुनेछन अब | म यसै टोलाउँदै थिएँ, छोरी बिस्तारै मनजिक आई | मैले यी सबै भाव हटाएर ठीकठाक देखिन खिस्स हाँसे | उसले गाह्रो गरि 'ड्याडी' भन्छे | र सायद अब केहि समय पछि मेरो नामबाटै बोलाउँछे | उसलाई त्यो 'ड्याडी'को आफ्नोपन धेरै महसुस गराउन सकिएन | पुरानो दिन सम्झिएँ ; यो जन्मिने बेलामा यसकी आमालाई कति गाह्रो भएको थियो, कयौ दिन हस्पिटल राख्नु परेको थियो | खै, त्यो पिडा अब स्वयम आमाले त भुलीसकि, फेरी म त बाबु | तैपनि पिडा अनि खुसीको महसुस त्यो बेला मलाई पनि उत्तिकै थियो |   

                    केहि समय छोरीसंग बिताए पछि म निस्किएँ | बाहिर निस्किएर गाडी स्टार्ट गरुन्जेल सम्म पनि मेरो आँखा मूलढोका तिरै थियो | खैर, जिन्दगीमा के के सम्म भोग्नु पर्छ, आफैले आफुलाई सम्हाले | महेन्द्र कपुरको मन पर्ने 'प्ले-लिस्ट' लगाएँ र गाडी मेनरोडमा निकालें | सिसा नै छोपिने गरि हिउँ पर्दै थियो, गाडीको wiper हल्लिए जस्तै मेरा पुराना याद धेरै चोटी wipe भए, पारदर्शी सिसा झैँ मेरो मानसपटलमा | र , यसरि आज पनि अदालतले तोकिदिएको आफ्नै छोरीलाई भेट्ने तारेख पुरा गरें मैले | ८ महिनादेखि प्रत्येक हप्ता वा पन्ध्र दिनमा यसरि नै तारेख धान्दै छु म, आफ्नै सन्तानलाई भेट्ने |

                                                            *   *   *

                    २००८ को अगस्ट, नितान्त नौलो ठाउँमा आईपुगेको थिएँ म | यहाँका मान्छे 'समर' भनेर पातलो टि-सर्टमा हिंडदा आफुलाई चाहिं जाकेटनै लगाउनु पर्ने थियो | छुँदा पनि दाग लाग्ला जस्तो सेता मान्छेका हुल मेसिन जस्तै अनुशासित भएर हिंडने | गगनचुम्बी भवन नभए पनि ठाउँ एकदम सफा, 'आहा कति राम्रो' भनेर टोलाउँदै बजार घुम्दा समय बितेको पत्तै नहुने | सुरुमा हरेक कुराको भाउ नेपाली रुपैयाँमा बदलेर हेर्थे म | सबैभन्दा सस्तो १ युरोको कफी खाँदा रु. ११० को कफी खाँदै छु भनेर स्वाद लिएर खाईन्थ्यो | पछि समयले सब सिकायो | काम, पढाई, रमाईलो, दुख, सुख, संघर्ष... सब सिकायो | 
                    हरेक शुक्रबार 'पब' वा बार जाने बानि लाग्यो | हप्ताभरी दुख गरिन्छ, weekend मा यसो रमाईलो नगरे जिन्दगीको के मजा, दुख गराईको के स्वाद, अलिकति भने पनि थकान मेटिन्थ्यो | अरुबेला फाट्ट फुट्ट मात्र आउने फिनिश, २ पेग लगाए पछि जानी नजानी खरर बोल्थें | नेपालमा धेरै साथीहरु इंग्लिश यसरि नै बोल्छन ! एक साँझ घर नजिकैको Jay Bar मा एक्लै परें म | भोड्काले रम रम छोएपछि नजिकैको टेबलमा बसेकी 'लुसिभा' संग आँखा जुध्यो | यो खास नौलो भएन, ऊ प्राय बार मा आइरहेकी हुन्थी, एक दुइ पल्ट 'हाई हेल्लो' पनि भएको थियो | तर आज चै ऊ मलाई हुनसम्मकि राम्री लागि, यो चाहिँ नौलो थियो | उसका साथीहरुको वास्तै नगरी उसकै टेबलमा गएँ, थप ड्रिंक्स मगाएँ | राती अबेरसम्म गफ गर्दै बस्यौं | फेसबुक आईडी, फोन नम्बर, घरको ठेगाना सुरुमै लिईसकेका थियौं | हामि दुवै जानको ध्यान एकअर्काबाट हटेन, उठेर घर जाने हतार कसैलाई भएन | 
                   त्यो साँझको बसाईले हामीलाई नजिक ल्यायो | त्यसपछिका कयौं भेटघाटले अँझ नजिक | एक अर्काको अपार्टमेन्टमा रात बितायौं | हामी दुवै खुसि थियौं किनकि हामीलाई एउटै महसुस हुन्थ्यो - कि हामी केवल 'सेक्स'का लागि मात्रै मनपराई रहेका छैनौं | यो भोगाई सब भन्दा सुन्दर थियो | संगीत, राजनीति, फिल्म, दर्शन, देश विदेश ... प्राय सबै बिषयमा हाम्रो तर्क बितर्क भईरहन्थ्यो | बहसको एकैछिनमा हामी पक्ष- प्रतिपक्ष हुन्थ्यौं | तर्कले जित्न नसके पछि ऊ मलाई एक्कासि 'किस' गर्थी, मेरा सबै शब्द हराउँथे, अनि हामी छिनभरमै एउटै पक्ष, एउटै अंगालो | नेपाली साथीभाईको जमघटमा जाँदा पनि उसलाई संगै लिएर जान्थें, सबै संग चिनजान गराएँ |  केटि जुझारु थिई | उसको परिवारसंग पनि मेरो घुलमिल भयो | सुरु सुरुमा 'साथी मात्रै हो' भनेर ढाँटे पनि, पछि मेरो 'खास साथी' हो भनेर स्काईपबाट घरमै देखाएँ | कालान्तरमा बिहेको कुरा उठ्यो | सुरुमा मेरो घरमा अलि अलि आनाकानी भयो - बिदेशी केटि, रहनसहन मिल्दैन, बानिव्यहोरा कस्तो छ ..आदि आदि | यता हाम्रो 'लिभिंग टुगेदर' बर्षदिन पुग्न लागेको थियो | बुझेको छोरो, उसको जिन्दगी उसैले भोग्ने हो, भनेर घरबाट पनि अनुमति दिए | चित्त बुझाउन नेपाली पात्रो अनुसार लगन हेरेर मिति तय गरियो | June को दोस्रो साता बुबाको उपस्थितिमा चर्चमा बिहे गरियो | यहींका नेपाली साथीहरु जम्मा गरेर पन्चै बाजाको धुनमा भोज पनि रमाइलै गरियो |
                                                             *  *  *


                    एउटा सानो सपना पुरा भएजस्तै भयो, सबै हाँसी खुसि थियौं | साथी हरुसंग डिस्को छान्दै हिड्ने अल्लारे जिन्दगिले गृहस्तिको बाटो समात्यो | कानुन अनुसार यहीको रातो पासपोर्ट बन्यो | त्यो भन्दा नि खुसि, हामीले छिट्टै बच्चा जन्माउने निर्णय गर्यौं | रहँदा बस्दा घरमा नयाँ सदस्यको प्रवेश भयो, ससुराली तिरबाट नाम राखिदिए 'निना', म चै त्यसलाई उल्ट्याएर 'नानि' भन्थें, आफ्नै लवजमा | फूलजस्तै राम्री हाम्री छोरी | छोरीको अनुहार को-पट्टि गयो भनेर लुसिभा र मेरो खुब बहस हुन्थ्यो, रमाइलो संग |  ऊ हाँस्दा मेरो जस्तै गालामा डिम्पल पर्थ्यो | म मक्ख पर्थें |    
                     लुसिभाको कुकुर पाल्ने निकै सौख थियो | मलाई भित्रैबाट मन नपरे पनि अलि अलि 'कम्प्रमाइज' गर्थें , पछि त बिस्तारै बानि पर्दै गयो | परिवारको सदस्य जस्तै भयो, मायाँ लाग्न थाल्यो |कहिलेकाही घरमा कोहि नहुँदा वा टाढा कतै घुम्न निस्किदा कुकुरको हेरचाह गर्न गाह्रो हुन्थ्यो | मान्छेको भन्दा धेरै यो मुलुकमा पशु-अधिकार बढी छ | फेरी लुसिभा त्यसलाई मरिहत्ते गर्थी | अप्रिलको एक शनिबार बिहान म छोरी खेलाउँदै थिएँ | लुसिभाले अचानक फोन गरेर अझै २ दिन आउन नसक्ने बताई | ऊ अफिसको काममा फ्रान्स थिई | कुकुरको ख्याल राख्छु भन्दा भन्दै मैले खाना दिन बिर्सेछु | 
Photos : from google images
 त्यसले खाने खाना लिन बजार निस्किनु पर्छ, अहो ... छोरी हेरौं कि, आफ्नो काम गरौँ कि कुकुरको हेरचाह ! मलाई त्यसै असिन पसिन भयो | २ दिन सम्म अल्छी गर्दै घरमै बनाएको खाना-तरकारी दिएँ | चिल्लो-पिरो के के परेछ कुन्नि, कुकुर अलि झोक्रायो | मंगलबार लुसिभा फर्किदाँसम्म हल्का बिरामी परेछ | यो पालि लुसिभा आउने बित्तिकै उफ्रेर 'माई हब्बी' भन्दै दिने अंगालोको छोपाई मैले पाईन | कुकुरलाई उनैले जँचाउन लगिन , औसधि लिएर आईन | उनि बोल्दा पनि ठुस्किन थालिन, ब्यबहार बदलियो , प्रिय कुकुरलाई ख्याल नगरेकोमा | १-२ दिन त सम्झाउन खोज्दै थिएँ, पछि आफैलाई झ्याउ लाग्यो - यस्तो जाबो कुरामा के स्पस्टिकरण दिईरहनु | केहि दिनमा घरमा चिठी आयो - 'पशु अधिकारबादी' संस्थाबाट | कुकुर ठिक हुन थालिसकेको थियो, तर लुसिभाको अनुहार झन झन बिग्रदै गयो | केहि दिनमा म पनि इन्टर्न गर्न यूक्रेन गएँ, १ महिनाको लागि | हाम्रो फोन सम्पर्क कम हुन थाल्यो | तैपनि दिनमा एकपल्ट छोरीको तोते बोलि सुन्न मन लाग्थ्यो | तर, लुसिभा र मेरो दूरी खै किन हो ...बिस्तारै बढ्दै गएको जस्तो भान हुन थाल्यो | 'आ .... बुढा बुढीमा यस्तो सानोतिनो कुरा भैराख्छ नि', साथी भाई हरु सम्झाउथे | म पनि खासै गम्भीर भईन | युक्रेनबाट फर्केपछि पनि खासै हाम्रो राम्रो बोलचाल भएन | अब भने सानो सानो 'इस्यु'मा पनि हाम्रो भनाभन हुन थालेको थियो | आईमाई लाई फकाउन कति बेर लाग्छ र, भनेर म अनेक उपाय गर्थें | अहँ, मेरो कुनै पुरानो उपायले काम काम गरेन | उता नेपालमा घरायसी मामला, यता अफिसको टेन्सन, घरमा बुढीको ब्यबहार... सब कुराले मलाई थिचेको थियो | लुसिभा कहिलेकाहिँ छोरी छोडेर घरबाट बाहिर रहन थालि, म पनि झोंक चलेको दिनमा साथीहरुकोमै बसी दिन्थें घुर्की लगाउन | हाम्रो यस्तै मौन दोहोरि महिनौं चल्यो | आजित भएपछि अन्तत मैले सबै घुर्की छोडेर राम्रोसंग सल्लाह गर्ने निधो गरें | तर बेलुकी फ्रिजको ढोकामा एउटा सानो नोट टाँसेको देखें - "वि आर मिटिंग टुमरो फर द फाइनल टाईम, सी यू इन लयरर्स अफिस" | अब केहि जोर चल्ने छाँट देखिएन | 

सबै कानुनि प्रक्रिया सकेपछि अन्तिमपल्ट मलाई छोरी लिन मन लाग्यो | काखमा लिएर धेरैबेर सम्म म्वाई खाइरहें | वकिलको कोठा बाहिर निस्किने बेलामा लुसिभाको अनुहार नियालें, कत्ति पनि दुख-भाव थिएन उसका आँखामा | मैले अन्तिम बाक्य बोलें - "बाई लुसिभा, टेक केयर अफ आवर एन्जल !" उसको नयाँ 'साथी' गाडी लिएर बाहिर कुरीरहेको रहेछ | मैले मेरो धमिला आँखा छोप्न गगल्स लगाएर बाहिरिएँ |                             
                                    *  *  *  
                          सम्झिन्न भन्दा पनि यी सबै 'फ्ल्यास ब्याक' अपार्टमेन्ट पुग्दा सम्म आइरहे | महेन्द्र कपुरका सबै गीत अघिनै सकिएछन् | कोठामा पसेर लुगै नखोली खाटमा उत्तानो परेर माथीतिर टोलाई रहें | कफिको तल-तल लाग्यो , तर भान्सा तिर नपसी सिधै गाडीको चाबी लिएर हिंडे | 'बार' जान मन लाग्यो, एक्लै बसेर पीउंदा अनेक थरि कुरा खेल्छन | निस्किने बेलामा ढोकैमा कुनै हँसिलो आकृतिले भन्यो 'बाई बाई ड्याडी' ! फर्केर हेरें, मेरो छोरीको ठुलो फोटो ढोकानेर मुस्कुराउँदै  थियो, मेरो जस्तै 'डिम्पल' पर्ने खोबिल्टे गाला बोकेर !


(बैशाख १४ गते को 'कान्तिपुर' कोसेलीमा प्रकाशित )    
          
       

ओने कोन्जो !

"ओने कोन्जो !" भन्दै उसले मलाई एक्कासि तिकुरिल्ला ट्रेन स्टेसनको सब-वे मा अँगालो हाली | हल्का अँध्यारो भईसकेको थियो | यसै पनि हिउँदमा २-४ घण्टा भन्दा धेरै घाम लाग्दैन यहाँ | म संगै रहेका २ जना नेपाली साथीहरु सरासर अघि बढे, हामीलाई नपर्खीकन | म सुरुमा झस्किएँ, कसले यति ठुलो स्वरमा अभिबादन गर्यो भनेर | उही रहिछे - मेइजा चेरु , २४ बर्षीय अफ्रिकन सहपाठी | जहाँ भेटे पनि बेफिक्री हाँसो हाँस्ने, निसंकोच अँगालो मार्ने अनि मसिना लहरा लहरा बनाएर बाटेको कपाल हल्लाउँदै हिड्ने इथोपियन केटि | उसको 'एक्स्ट्रा लार्ज' साइजको ज्यान संगै उभिँदा झन्डै म जत्रै हुन आउँछ | झन्डै १५ देशका अनेक रुप रंगका बिध्यार्थी भएको हाम्रो कक्षा, रमाइलो चिडियाखाना जस्तै लाग्छ | यहि अनुपम भीडकी ऊ मेरी जबर्जस्त फ्यान | न म पढाईमा अब्बल, न कुनै सेलिब्रेटी , न अस्वभाबिक रुपरंग; तैपनि उसलाई मेरो फ्यान भन्न औधि मन पर्छ रे | हाम्रो परिचयको सुरुमै उसलाई लाग्यो रे, म शाहरुख खान जस्तै देखिन्छु | अचम्म छ ,केही छेउछंद मिल्दैन, न कुनै प्रकारबाट त्यस्तो देखिन्छु, न सुहाउँछ पनि | बस उसलाई लाग्यो, अब कसैको केहि जोर चल्दैन | अफ्रिकामा हिन्दी फिल्मको आजकल राम्रै प्रभाव रहेछ | ऊ बेला बेला मलाई हेरेर अफ्रिकन लवजमा जिस्क्याउँछे - "डील टो पाकल है ...डील टो पाकल है !", अनि प्रत्यक चोटी म नेपालीमा भन्छु - "हो तँ पक्का पागल नै होस् "| उसलाई मेरो नाम भुवन भन्न कहिले आएन, बरु जानी नजानी 'शारुक' नाम राखीदिई | कक्षामा जहिले शारुक भनेपछि अरु नेपालीहरुले जिस्क्याउँदै उसको नाम राखिदिए - रानी | उस्तै देखिने भएर होइन , बस काली भएर |


उही 'रानी' तिकुरिल्ला स्टेसनमुनि मलाई अँगालो मारेर अभिबादन गर्दै थिई | मैले अलि संकोच मान्दै वरपर हेरें, धन्न कोहि नेपाली देखिएनन | नत्र भोलि पल्ट देखि 'भाउजु नमस्कार' भनेर जिस्क्याई दिन्छन बिचरालाई | संयोगबस , उसको र मेरो ट्रेन एउटै रहेछ | केहि स्टेसन पर सम्म हामि संगै गयौं, त्यस बिचमा उसले मलाई ३ दिन देखिको कहानी लगभग सुनाउन भ्याई | संगैको सिटमा मेरा २ जना साथीहरु , रानी अनि म, सबै गफिदै थियौं | उसले फिनल्याण्ड आएर किनेको नयाँ ल्यापटप खोलेर देखाई, मैले सामान्य प्रसंसा गरें | उसले आफ्नो ब्वाईफ्रेण्डको कथा सुनाई, त्यसमा पनि समर्थन जनाएँ | एकछिनमा उसको साथीको आमाको कुरा गरि, त्यो पनि सुनीरहें | फेरी उसको दुख गरि बाटेको कपालको चर्चा गरि, त्यो पनि झेलें | अति भए पछि मैले मुख फोरें - "तेरो नाम त FM radio हुनुपर्ने, कसले मेइजा राख्यो ! अँझ केटाहरुले त 'रानी' भन्छन ... सब गलत ! तँ कति बोल्न सक्छेस ?"| तैपनि ऊ कत्ति रिसाउँदिन | "ल आजलाई मेरो झर्ने ठाउँ आयो, बाँकी स्कुल मा भेट हुँदा झेल्नु मलाई ", यति भनेर ऊ फुत्त झरि 'होपलाह्ती' स्टेसनमा |
                      माथिको प्रसङ्ग केहि महिना अगाडीको थियो | उही फरासिली रानी अस्तिको शुक्रबार भेट्दा मलिन देखें | हुन त उसको अनुहारमा सेतो भनेको टम्म मिलेका ती दाँत मात्रै हुन | तैपनि भाव मलिन थियो | आँसु झर्ला झर्ला जस्तो आँखाको बोलाई पढ्न कुनै भाषा नचाहिने, रंग मिल्न पनि नपर्ने | सधै कराईरहने, चलिरहने, एकछिन शान्त नबस्ने रानी आज पहिले जस्तै थिइन, बिल्कुल अर्कै थिई | "के भयो रानी डार्लिंग ?" मैले जिस्केर बोलाएँ | म प्रत्येकपल्ट यसरि जिस्किँदा सतर्क हुने गर्छु, कहिँ 'नेपोमोलिभा'ले देख्ली भनेर | रसियन सहपाठी नेपोमोलिभा का आँखा खैरा छन्, अनि अनुहार हिउँ भन्दा सेतो | तिनै खैरा आँखाका फ्यान  चाहिं म | यता रानीले दर्द-भरि कहानी सुरु गरि - उसको ब्वाईफ्रेनसंग ब्रेकअप भएछ, अनि लिभिंग- टुगेदर शृंखलाको अन्त्य | त्यसको अर्थ हुन्छ हेलसिन्कीमा महँगो अपार्टमेन्टमा एक्लै पैसा तिर्नु | त्यसको लागि अर्को नयाँ जागिर खोज्नु , दुख गर्नु | कथा यतिमै सकिन्न, अस्तिनै मलाई देखाएको नयाँ ल्यापटप उही प्रेमीको उपहार रहेछ, जाने बेला त्यो पनि उठाएर हिंडेछ | "अनि कहाँ गयो त तेरो सैतान प्रेमी?", मैले सान्त्वना दिने हिसाबले सोधें | "एउटी फिनिश 'बिच' च्यापेर हिड्यो , रातो पासपोर्टको लागि त होला नि | गो टु हेल ", भन्दै सारै नराम्रो संग मुख बिगारी | "भयो अब टेन्सन नलि, बिस्तारै सब ठिक हुन्छ, त्यस्ता पांग्रे ब्वाईफ्रेन जति नि भेट्टाईन्छ " मैले आफ्नै लवजमा भने | उसलाई खासै असर परेन | "तँलाई अहिले शाहरुख खानको कुनै गम्भीर डाईलग भनेर सम्झाउन मन थियो, हेर न ... बिर्सें भन्या |" मैले निन्याउरो भएर भनें | अब चै उसको गाम्भिर्यताले थिचेको हल्का हाँसो बिस्तारै फुस्कियो | क्लास सुरु हुनै लाग्दा कफी सिध्याएर हामी उठ्यौं | हिंड्दा हिंड्दै उसलाई सोधें - "यो ओने कोन्जो भनेको के हो तेरो भाषामा ?", ऊ हाँस्दै ठुलो ठुलो स्वरले भन्छे - "मेरो प्रिय" | लेक्चर नसकुन्जेल मन्द हाँसो ओठमा बसिरह्यो | सबै उठेपछि नेपोमोलिभा लाई सुस्तरी सोधें - "रसियनमा 'मेरो प्रिय' लाई कसरि भन्छन ?"