मेरी छोरी !


              मन त लाग्छ, सोधौँ  -'छोरी तिमीलाई कस्तो छ?'| तर नेपाली २-४ शब्द बाहेक अरु खासै आउँदैन मेरी सानी छोरी 'नीना' लाई | आघिल्लो हप्ता आउँदा त ठिकै थिई, यसपालि अनुहार निन्याउरो देखें, राम्रोसंग खेलिरहेकी पनि थिईन | कोठामा छिर्ने बित्तिकै angry bird को लोगो भएका केहि गिफ्ट उसको हातमा थमाईदिएँ, हातमा लिएर बिस्तारै 'kiitos' (धन्यबाद ) भनि | अरुबेलामा झैँ गिफ्ट लिएर खुसीले उफ्रिदैं सोफामा बल्ड्याङ खेल्न गईन, चुपचाप उसको कोठातिर लागी | कोठाको चारैतिर आँखा डुलाए, भित्तामा केहि फोटोहरु फेरिएका रहेछन, भान्सा कोठामा टाँगी राखेको बुद्धको तस्बिर चै उस्तै रहेछ | बडो मेहनतले ल्याएको थिएँ नेपालबाट त्यो | टेबलमा कागजपत्रहरु छरपस्ट थिए | छोरीको स्कुलको यो महिनाको बिल टेबलबाट खस्नै लागेको थियो, जतन गरि पट्याएर बिचमा राखी दिएँ  | मेरो भागको आधा बिल मैले अस्तिनै अनलाइनबाट तिरिसकेको थिएँ | छोरीको अनुहार मलिन हुँदा, उसकी आमा जस्तै देखिन्छ उसलाई | मन त लाग्छ काखमा लिएर फकाउँ, खुसि बनाउँ, कतै घुमाउन लगौं , वा चकलेट छोडाएर जिस्क्याई जिस्क्याई खुवाउँ | मन लाग्छ छोरी नेपालीमै बोलोस, मलाई बुबा भनोस, 'हजुरआमा भेट्न नेपाल जाउँ न' भनोस, मेरो दाईकी छोरीलाई जस्तै प्रत्येक बिहान आफैले स्कुल पुर्याउन पाइयोस, सुत्ने बेलामा कुनै रमाइलो परि-कथा सुनाउँदै न्यानो गरि सुताउन पाइयोस .... तर, यी सब मेरा कल्पना मात्र हुनेछन अब | म यसै टोलाउँदै थिएँ, छोरी बिस्तारै मनजिक आई | मैले यी सबै भाव हटाएर ठीकठाक देखिन खिस्स हाँसे | उसले गाह्रो गरि 'ड्याडी' भन्छे | र सायद अब केहि समय पछि मेरो नामबाटै बोलाउँछे | उसलाई त्यो 'ड्याडी'को आफ्नोपन धेरै महसुस गराउन सकिएन | पुरानो दिन सम्झिएँ ; यो जन्मिने बेलामा यसकी आमालाई कति गाह्रो भएको थियो, कयौ दिन हस्पिटल राख्नु परेको थियो | खै, त्यो पिडा अब स्वयम आमाले त भुलीसकि, फेरी म त बाबु | तैपनि पिडा अनि खुसीको महसुस त्यो बेला मलाई पनि उत्तिकै थियो |   

                    केहि समय छोरीसंग बिताए पछि म निस्किएँ | बाहिर निस्किएर गाडी स्टार्ट गरुन्जेल सम्म पनि मेरो आँखा मूलढोका तिरै थियो | खैर, जिन्दगीमा के के सम्म भोग्नु पर्छ, आफैले आफुलाई सम्हाले | महेन्द्र कपुरको मन पर्ने 'प्ले-लिस्ट' लगाएँ र गाडी मेनरोडमा निकालें | सिसा नै छोपिने गरि हिउँ पर्दै थियो, गाडीको wiper हल्लिए जस्तै मेरा पुराना याद धेरै चोटी wipe भए, पारदर्शी सिसा झैँ मेरो मानसपटलमा | र , यसरि आज पनि अदालतले तोकिदिएको आफ्नै छोरीलाई भेट्ने तारेख पुरा गरें मैले | ८ महिनादेखि प्रत्येक हप्ता वा पन्ध्र दिनमा यसरि नै तारेख धान्दै छु म, आफ्नै सन्तानलाई भेट्ने |

                                                            *   *   *

                    २००८ को अगस्ट, नितान्त नौलो ठाउँमा आईपुगेको थिएँ म | यहाँका मान्छे 'समर' भनेर पातलो टि-सर्टमा हिंडदा आफुलाई चाहिं जाकेटनै लगाउनु पर्ने थियो | छुँदा पनि दाग लाग्ला जस्तो सेता मान्छेका हुल मेसिन जस्तै अनुशासित भएर हिंडने | गगनचुम्बी भवन नभए पनि ठाउँ एकदम सफा, 'आहा कति राम्रो' भनेर टोलाउँदै बजार घुम्दा समय बितेको पत्तै नहुने | सुरुमा हरेक कुराको भाउ नेपाली रुपैयाँमा बदलेर हेर्थे म | सबैभन्दा सस्तो १ युरोको कफी खाँदा रु. ११० को कफी खाँदै छु भनेर स्वाद लिएर खाईन्थ्यो | पछि समयले सब सिकायो | काम, पढाई, रमाईलो, दुख, सुख, संघर्ष... सब सिकायो | 
                    हरेक शुक्रबार 'पब' वा बार जाने बानि लाग्यो | हप्ताभरी दुख गरिन्छ, weekend मा यसो रमाईलो नगरे जिन्दगीको के मजा, दुख गराईको के स्वाद, अलिकति भने पनि थकान मेटिन्थ्यो | अरुबेला फाट्ट फुट्ट मात्र आउने फिनिश, २ पेग लगाए पछि जानी नजानी खरर बोल्थें | नेपालमा धेरै साथीहरु इंग्लिश यसरि नै बोल्छन ! एक साँझ घर नजिकैको Jay Bar मा एक्लै परें म | भोड्काले रम रम छोएपछि नजिकैको टेबलमा बसेकी 'लुसिभा' संग आँखा जुध्यो | यो खास नौलो भएन, ऊ प्राय बार मा आइरहेकी हुन्थी, एक दुइ पल्ट 'हाई हेल्लो' पनि भएको थियो | तर आज चै ऊ मलाई हुनसम्मकि राम्री लागि, यो चाहिँ नौलो थियो | उसका साथीहरुको वास्तै नगरी उसकै टेबलमा गएँ, थप ड्रिंक्स मगाएँ | राती अबेरसम्म गफ गर्दै बस्यौं | फेसबुक आईडी, फोन नम्बर, घरको ठेगाना सुरुमै लिईसकेका थियौं | हामि दुवै जानको ध्यान एकअर्काबाट हटेन, उठेर घर जाने हतार कसैलाई भएन | 
                   त्यो साँझको बसाईले हामीलाई नजिक ल्यायो | त्यसपछिका कयौं भेटघाटले अँझ नजिक | एक अर्काको अपार्टमेन्टमा रात बितायौं | हामी दुवै खुसि थियौं किनकि हामीलाई एउटै महसुस हुन्थ्यो - कि हामी केवल 'सेक्स'का लागि मात्रै मनपराई रहेका छैनौं | यो भोगाई सब भन्दा सुन्दर थियो | संगीत, राजनीति, फिल्म, दर्शन, देश विदेश ... प्राय सबै बिषयमा हाम्रो तर्क बितर्क भईरहन्थ्यो | बहसको एकैछिनमा हामी पक्ष- प्रतिपक्ष हुन्थ्यौं | तर्कले जित्न नसके पछि ऊ मलाई एक्कासि 'किस' गर्थी, मेरा सबै शब्द हराउँथे, अनि हामी छिनभरमै एउटै पक्ष, एउटै अंगालो | नेपाली साथीभाईको जमघटमा जाँदा पनि उसलाई संगै लिएर जान्थें, सबै संग चिनजान गराएँ |  केटि जुझारु थिई | उसको परिवारसंग पनि मेरो घुलमिल भयो | सुरु सुरुमा 'साथी मात्रै हो' भनेर ढाँटे पनि, पछि मेरो 'खास साथी' हो भनेर स्काईपबाट घरमै देखाएँ | कालान्तरमा बिहेको कुरा उठ्यो | सुरुमा मेरो घरमा अलि अलि आनाकानी भयो - बिदेशी केटि, रहनसहन मिल्दैन, बानिव्यहोरा कस्तो छ ..आदि आदि | यता हाम्रो 'लिभिंग टुगेदर' बर्षदिन पुग्न लागेको थियो | बुझेको छोरो, उसको जिन्दगी उसैले भोग्ने हो, भनेर घरबाट पनि अनुमति दिए | चित्त बुझाउन नेपाली पात्रो अनुसार लगन हेरेर मिति तय गरियो | June को दोस्रो साता बुबाको उपस्थितिमा चर्चमा बिहे गरियो | यहींका नेपाली साथीहरु जम्मा गरेर पन्चै बाजाको धुनमा भोज पनि रमाइलै गरियो |
                                                             *  *  *


                    एउटा सानो सपना पुरा भएजस्तै भयो, सबै हाँसी खुसि थियौं | साथी हरुसंग डिस्को छान्दै हिड्ने अल्लारे जिन्दगिले गृहस्तिको बाटो समात्यो | कानुन अनुसार यहीको रातो पासपोर्ट बन्यो | त्यो भन्दा नि खुसि, हामीले छिट्टै बच्चा जन्माउने निर्णय गर्यौं | रहँदा बस्दा घरमा नयाँ सदस्यको प्रवेश भयो, ससुराली तिरबाट नाम राखिदिए 'निना', म चै त्यसलाई उल्ट्याएर 'नानि' भन्थें, आफ्नै लवजमा | फूलजस्तै राम्री हाम्री छोरी | छोरीको अनुहार को-पट्टि गयो भनेर लुसिभा र मेरो खुब बहस हुन्थ्यो, रमाइलो संग |  ऊ हाँस्दा मेरो जस्तै गालामा डिम्पल पर्थ्यो | म मक्ख पर्थें |    
                     लुसिभाको कुकुर पाल्ने निकै सौख थियो | मलाई भित्रैबाट मन नपरे पनि अलि अलि 'कम्प्रमाइज' गर्थें , पछि त बिस्तारै बानि पर्दै गयो | परिवारको सदस्य जस्तै भयो, मायाँ लाग्न थाल्यो |कहिलेकाही घरमा कोहि नहुँदा वा टाढा कतै घुम्न निस्किदा कुकुरको हेरचाह गर्न गाह्रो हुन्थ्यो | मान्छेको भन्दा धेरै यो मुलुकमा पशु-अधिकार बढी छ | फेरी लुसिभा त्यसलाई मरिहत्ते गर्थी | अप्रिलको एक शनिबार बिहान म छोरी खेलाउँदै थिएँ | लुसिभाले अचानक फोन गरेर अझै २ दिन आउन नसक्ने बताई | ऊ अफिसको काममा फ्रान्स थिई | कुकुरको ख्याल राख्छु भन्दा भन्दै मैले खाना दिन बिर्सेछु | 
Photos : from google images
 त्यसले खाने खाना लिन बजार निस्किनु पर्छ, अहो ... छोरी हेरौं कि, आफ्नो काम गरौँ कि कुकुरको हेरचाह ! मलाई त्यसै असिन पसिन भयो | २ दिन सम्म अल्छी गर्दै घरमै बनाएको खाना-तरकारी दिएँ | चिल्लो-पिरो के के परेछ कुन्नि, कुकुर अलि झोक्रायो | मंगलबार लुसिभा फर्किदाँसम्म हल्का बिरामी परेछ | यो पालि लुसिभा आउने बित्तिकै उफ्रेर 'माई हब्बी' भन्दै दिने अंगालोको छोपाई मैले पाईन | कुकुरलाई उनैले जँचाउन लगिन , औसधि लिएर आईन | उनि बोल्दा पनि ठुस्किन थालिन, ब्यबहार बदलियो , प्रिय कुकुरलाई ख्याल नगरेकोमा | १-२ दिन त सम्झाउन खोज्दै थिएँ, पछि आफैलाई झ्याउ लाग्यो - यस्तो जाबो कुरामा के स्पस्टिकरण दिईरहनु | केहि दिनमा घरमा चिठी आयो - 'पशु अधिकारबादी' संस्थाबाट | कुकुर ठिक हुन थालिसकेको थियो, तर लुसिभाको अनुहार झन झन बिग्रदै गयो | केहि दिनमा म पनि इन्टर्न गर्न यूक्रेन गएँ, १ महिनाको लागि | हाम्रो फोन सम्पर्क कम हुन थाल्यो | तैपनि दिनमा एकपल्ट छोरीको तोते बोलि सुन्न मन लाग्थ्यो | तर, लुसिभा र मेरो दूरी खै किन हो ...बिस्तारै बढ्दै गएको जस्तो भान हुन थाल्यो | 'आ .... बुढा बुढीमा यस्तो सानोतिनो कुरा भैराख्छ नि', साथी भाई हरु सम्झाउथे | म पनि खासै गम्भीर भईन | युक्रेनबाट फर्केपछि पनि खासै हाम्रो राम्रो बोलचाल भएन | अब भने सानो सानो 'इस्यु'मा पनि हाम्रो भनाभन हुन थालेको थियो | आईमाई लाई फकाउन कति बेर लाग्छ र, भनेर म अनेक उपाय गर्थें | अहँ, मेरो कुनै पुरानो उपायले काम काम गरेन | उता नेपालमा घरायसी मामला, यता अफिसको टेन्सन, घरमा बुढीको ब्यबहार... सब कुराले मलाई थिचेको थियो | लुसिभा कहिलेकाहिँ छोरी छोडेर घरबाट बाहिर रहन थालि, म पनि झोंक चलेको दिनमा साथीहरुकोमै बसी दिन्थें घुर्की लगाउन | हाम्रो यस्तै मौन दोहोरि महिनौं चल्यो | आजित भएपछि अन्तत मैले सबै घुर्की छोडेर राम्रोसंग सल्लाह गर्ने निधो गरें | तर बेलुकी फ्रिजको ढोकामा एउटा सानो नोट टाँसेको देखें - "वि आर मिटिंग टुमरो फर द फाइनल टाईम, सी यू इन लयरर्स अफिस" | अब केहि जोर चल्ने छाँट देखिएन | 

सबै कानुनि प्रक्रिया सकेपछि अन्तिमपल्ट मलाई छोरी लिन मन लाग्यो | काखमा लिएर धेरैबेर सम्म म्वाई खाइरहें | वकिलको कोठा बाहिर निस्किने बेलामा लुसिभाको अनुहार नियालें, कत्ति पनि दुख-भाव थिएन उसका आँखामा | मैले अन्तिम बाक्य बोलें - "बाई लुसिभा, टेक केयर अफ आवर एन्जल !" उसको नयाँ 'साथी' गाडी लिएर बाहिर कुरीरहेको रहेछ | मैले मेरो धमिला आँखा छोप्न गगल्स लगाएर बाहिरिएँ |                             
                                    *  *  *  
                          सम्झिन्न भन्दा पनि यी सबै 'फ्ल्यास ब्याक' अपार्टमेन्ट पुग्दा सम्म आइरहे | महेन्द्र कपुरका सबै गीत अघिनै सकिएछन् | कोठामा पसेर लुगै नखोली खाटमा उत्तानो परेर माथीतिर टोलाई रहें | कफिको तल-तल लाग्यो , तर भान्सा तिर नपसी सिधै गाडीको चाबी लिएर हिंडे | 'बार' जान मन लाग्यो, एक्लै बसेर पीउंदा अनेक थरि कुरा खेल्छन | निस्किने बेलामा ढोकैमा कुनै हँसिलो आकृतिले भन्यो 'बाई बाई ड्याडी' ! फर्केर हेरें, मेरो छोरीको ठुलो फोटो ढोकानेर मुस्कुराउँदै  थियो, मेरो जस्तै 'डिम्पल' पर्ने खोबिल्टे गाला बोकेर !


(बैशाख १४ गते को 'कान्तिपुर' कोसेलीमा प्रकाशित )    
          
       

9 comments:

  1. कथा मात्र हो भने उत्कृस्ट लाग्यो | प्रस्तुतीकरण बडो ओजनदार छ | :)सत्य कथा हो भने जो कोहीलाई भावुक बनाउछ एस्तो घटनाले म तेही जोकोही मध्येको एक हुँ |

    ReplyDelete
  2. धन्यबाद छबी जी, सत्य घटनमा आधारित हो यस कथा | व्यक्तिको नाम अनि पटकथा केहि परिमार्जन गरिएको मात्र हो !

    ReplyDelete
  3. उत्कृष्ट प्रस्तुती

    ReplyDelete
  4. @pagal Basti : thank you so much !

    ReplyDelete
  5. One of the stories, which i deal in my law firm while handling the divorce case these days..it's really difficult to understand who is wrong..Thank you for true story and nice presentation.

    ReplyDelete
  6. @pabitra : thank you. Hope you are dealing well lawfully with clients.

    ReplyDelete
  7. This comment has been removed by a blog administrator.

    ReplyDelete