मारी युहाल्सी

"सरले क्लासमा पढाईरहेको हुन्थ्यो, मन चाहिँ बिरामी आमाको बेड वरिपरी घुम्थ्यो | कति दिन काममा पनि जान मन लागेन | साथीभाईसंगको हल्लाखल्ला त मलाई उहिले देखि मन पर्दैनथ्यो | भुवन, तँ यो कुरा महसुष गर्न सक्छस ? मेरै फिनिश साथीहरुले त बुझ्दैनन, तँ फरक 'कल्चर' बाट आएकोले के महसुश गर्थिस |
डाक्टरले आमाको मिति तोकिसकेको छ | अब धेरै बाँच्नु भयो भने ३/४ महिना मात्र रे | गएको २ महिनादेखि हस्पिटलमा हुनुहुन्छ, कहिलेकाहिँ फरक छुट्याउन सक्दिन, क्यान्सर आमालाई भएको हो कि मलाई | घरमा अलि धेरै पढेको छोरी मै हो | अँ .... भयो छोड सब कुरा, बेकारमा मेरो टेन्सनको कुरा तलाईं सुनाएर किन तेरो उदास बनाउनु | यतिबेरसम्म मेरो कुरा सुनिदिइस, खुशी लाग्यो |"
हेल्सिन्की सेन्ट्रल नजिकै भेट हुँदा करिब ३ महिना अघिको कुरा थियो यो | सबैको आ-आफ्नै काम, तनाव, दैनिकी | गफगाफको मेसो महिनौंसम्म जुरेन | फेसबुकमा म कहिले 'अनलाइन' मा बस्थिन | हामीसंग एकअर्काको फोन नम्बर त थियो, तर किन थियो, थाहा थिएन | कहिल्यै सिधै म्यासेज वा फोन गरिएन | 

मारी युहाल्सीसंग मेरो भेट २०१२ को मार्चमा भएको थियो | यूनिभर्सिटीको एउटा तालिममा कसो कसो गरि मसंगै परेकी थिई | कार्यक्रमपछि बेलुका सानो भोजमा एउटै टेबलमा भई | 'सबैको हातमा बियरको गिलाँस हुँदा तेरो चाहिँ 'साईडर' मात्रै ?', मैले बोलि फोरें | 'अँ, मलाई यहि ठिक छ, म अल्कोहल लिन्न' | उ अलि फरक थिई, आम फिनिश केटीहरुभन्दा | रुपरंगले होइन, बोल्ने शैली र अनुहारको भावले | कताकता केहि लुके जस्तो | आँखामा कुनै तेज नभएको, गालामा लाज र उत्तेजना होइन, निरस भोगाई थिग्रीए जस्तो | मेरो नराम्रो बानी भनौं, किताब भन्दा 'मान्छे' छिटो पढ्न मन लाग्ने | त्यो साँझ, अरु साथीहरुसंग जस्तै उसंग पनि फेसबुक र फोन नम्बर आदानप्रदान भयो |
'मैले तलाईं दिउँसोदेखि नै 'नोटिस' गरेको थिएँ, तँ बाहिरबाट आउने अरु बिद्यार्थीजस्तो छैनस, तेरो भाषण 'इम्प्रेसिभ' थियो ',
जाने बेलामा उसले एकै सासमा भनि |
                                                                        * * *

अस्ति भर्खरको एउटा अल्छिलाग्दो आईतबार, उसले म्यासेज गरि -"के गर्दै छस ? कृपया मिल्छ भने एकछिनलाई भेटौँ न"| मैले किन/कसरि केहि प्रश्न गरिन | 'हस हुन्छ, सेन्टरमा आउनु' भनेर म्यासेज फर्काएँ | मलाई लगभग अन्दाज थियो, उ के कुरा सुनाउन चाहन्छे | 
courtesy: Mari
"बुबाको एउटा फार्म-हाउस छ | दाई धेरै अघिनै बिहे गरेर यतै हेल्सिन्की तिरै बस्छ, के छ कस्तो छ, थाहा छैन, परिवारको सम्पर्कमा बस्दैन | बुबाले आमालाई माया नगर्ने त होइन, तर म महसुश गर्न सक्थें, सम्बन्ध त्यति गाढा थिएन | तर आमा बिते पश्चात बुबा अर्कै हुनुभएको छ | उहाँको जीवनबाट सबै कुरा गुमे जस्तो | टोलाउनु हुन्छ, निराश देखिनुहुन्छ, शिकार खेल्ने बन्दुक पनि फालिदिनु भयो | बाँचुन्जेल आमालाई अलिकति ध्यान दिनुभएको भए, सायद ब्लड-क्यान्सरलाई पनि उहाँले जित्नुहुन्थ्यो होला | अहिले सोच्छु, आमालाई कसले बढी पेल्यो, क्यान्सर कि बुबाको उपेक्षाले | 
हामी दाजुबहिनि कसरि जन्मियौं , सायद संयोग होला | मेरी आमा हेर्दा राम्री देखिनुहुन्थ्यो | एउटा नारीमा हुनुपर्ने सबै गुण उहाँसंग थियो सायद | तैपनि बुबाको जहिले असन्तुष्टि रहन्थ्यो आमासंग | सानो छंदा यो किन होला भन्ने सोचि रहन्थें, मेसो पाउँदिनथें | आजकल सम्झिन्छु, बुबा धेरै जसो जांड खाएर किन घर बाहिरको गोठमै सुतिदिन्थे | अरु घरायसी ब्यबहार सबै ठिकठाक नै चलिरहँदा, उहाँहरुलाई एउटै ओछ्यान 'सेयर' गर्न चाहिँ किन समस्या थियो | बेला बेलामा जिल्ल पर्थें | आमाले एउटा रुखो-सुखो लोग्ने त पाउनुभयो, तर माया गर्ने श्रीमान पाउनुभएन "| 
"धत्, म कस्तो छोरी, यो सब तलाईं किन सुनाईरहेको होला" |
म अलिकति हासें मात्र, त्यस्तो बेला कसरि 'रियाक्ट' गर्ने मेसो नै पाईन | मैले कफी सुरुप सुरुप सकें, मारीले कप छोएकी समेत छैन | थाहा छ, उसको मन भन्दा पनि ज्यादा चिसो भईसकेको छ कफी | तर उसलाई म बिचमा अल्झाउँदिन | उ एकोहोरो मेरो आँखामा हेरेर बोलिरहेकी छ, मानौं क्यामरा अघि कुनै बयान दिदै छे |

                                                                     * * *

"म बेला बेलामा फर्म-हाउसमा जान्छु | धेरै कुखुराहरु छन् जसमा मलाई मन पर्ने एउटा ठुलो पोथी छ, जसका धेरै रंगीबिरंगी चल्ला छन् | बेला बेलामा कुनै अनौठो आवाज आउँदा आफ्नो पंखेटा मिलेजति फुकाएर चल्लाहरु छोप्छे | म त्यो बेला यस्तो महसुश गर्छु मानौं म पनि तिनै चल्लाहरु मध्य एक हुँ | फुर्रफुर्र गर्दै त्यहि पंखेटाभित्र पसूँ | आमा नहुँदाको घर, के घर | 
मेरो गाउँ 'सालो' छोडेर हेल्सिन्की झर्न मलाई अत्यास लाग्थ्यो | यहाँको 'कस्मेटिक' रहनसहनमा म पटक्कै फिट हुन सक्दिन | तलाई लाग्दो होला, यहाँका तन्नेरीको कुनै 'फिलिंग्स'  हुँदैन, सम्बन्धहरु भनेको म्याक डोनाल्डस् को बर्गर झैँ हुन् | हेर न, दुखको कुरो, मलाई पनि त्यस्तै लाग्छ भन्या ! मेरा साथीहरुको ब्यबहारनै त्यस्तै छ | सबैले सबैलाई मुखले ठिक्क मात्रै पार्न आउँछ | मनमा कुनै गहिरो भाव नै रहँदैन | तलाईं थाहा छ ? अस्ति क्लासमा एक्लै बसिरहँदा केहि साथीहरु हल्ला गर्दै, हाँस्दै भित्र पसे | एकछिनलाई जबरजस्ती हाँसो थामेर शान्त भएझैँ गरे, अनि म नजिक आएर भने - 'के यो कुरा साँचो हो ? ओहो... तिम्रो आमा बित्नु भएकोमा दुख छ, उहाँको पक्कै स्वर्गबास हुनेछ, आफुलाई सम्हाल्नु !' 
मैले 'सहनाभूतीको लागि धन्यबाद' भनें | उनीहरुले सोधे - 'साँच्ची के भएको थियो रे तिम्रो आमालाई ?' | मैले निहुरिएको टाउको बिस्तारै उठाएर 'आमा अस्तिनै देखि बिरामी हुनुहुन्थ्यो, अनि  ....' भन्दै गर्दा उनीहरु हिंडीसकेका थिए | म बोल्दाबोल्दै रोकिएँ | वाक्य बिचमै मधुरो हुँदै गयो, म उनीहरु गए तिर हेर्दै बसें, एक्लै | मनभित्रबाट जान्न मन छैन भने किन सोध्नु | त्यहि पनि पिकनिकको कुरो गरेको हो र, मेरो आमाको मृत्युको प्रक्रिया बताईरहेको थिएँ म | कसरि टुहुरो भएँ भन्ने सुनाईरहेको थिएँ | फार्मका चल्लाहरुलाई आहारा दिने मान्छे कसरि बिलायो भन्ने सुनाईरहेको थिएँ | मलाई सहानभूति दर्शाउन खोज्ने साथीहरु भन्दा त ति कुखुराका चल्लाले बुझ्छन मेरो आमाको रंग, उहाँको हिडाई | त्यो खैरो, लामो र थोत्रो ज्याकेट लगाएर आउने आईमाईको ममता कस्तो छ भनेर | उनीहरु जान्दछन, वात्सल्य कस्तो हुन्छ |" 

मारीको आवाज मसिनो हुँदै गयो | उसको पावरवाला चस्मा भित्र के बग्दै छ, मलाई नियाल्न मन लागेन | "म अर्को कफी लिएर आउँछु ल !", उसलाई बिस्तारै धाप मारें, सकेजति बिस्तारै, बस् हावाले मात्र छोयो होला | उसले टाउको हल्लाएर 'हस' भन्ने संकेत गरि | दुखसुख त जीवन सापेक्ष हुँदो रहेछ, ठाउँ सापेक्ष होइन | एउटा गोलार्दको लागि जहाँ जसरि बिझाउँछ, अर्को गोलार्दका लागि पनि त्यसरी नै बिझाउँदो रहेछ | 

अबको कफी तातो थियो, मिठो बासना सहित बाफ उड्दै गरेको | "ठाउँ जतिसुकै बिकट होस्, संस्कारका हिसाबले तिमीहरु कति सुगम छौ है !", उसको स्वर अलि बलियो सुनियो | "अँ.. हाम्रोमा जन्म, मृत्यु, बिबाह अनि अरु थुप्रै कुराहरुमा अलि बढी नै 'ड्रामा' हुन्छ, धेरै जसो चै लम्बेतान | एक हिसाबले ठिकै पनि हो, कुनै कुनै चलन चाहिँ झन्झटिलो छन् | तर राम्रो पक्ष भनेको, कुनै पनि कुरा कोहि एक्लैले व्यहोर्न पर्दैन "| मैले धेरै तन्काउन चाहिन | मलाई राम्रो ब्याख्या गर्न पनि आउँदैन | खासमा मेरो बिश्लेषणले उसलाई केहि फरक पार्नेवाला पनि थिएन | मानिस सधै आफ्नो जीवनमा एउटा असल श्रोताको खोजीमा रहँदो रहेछ, मन हल्का पार्नको लागि | ७ जुनीसम्म संगै हुन्छु भन्ने ग्यारेन्टी किन चाहियो | 
"तँ नेपालमा जन्मिनु पर्ने मान्छे रहिछस, यहाँ फिनल्याण्डमा के गरि बस्छेस त खै !", मैले अड्कलेर जिस्क्याएँ | मारी मलाई हेरी मात्र रहन्छे, ओठलाई थोरै तन्काएर, आँखा अलि कम झिम्क्याएर |

1 comment:

  1. I can feel for Mari...
    How it feels like when you are so alone and couldn't share your sadness or despair with someone.
    May be she represents a large Finnish women group ~ but yet she represents me somewhere too ...
    Nice write up :)

    ReplyDelete