हेलसिन्कीबाट छुट्ने रेल


हेलसिन्कीबाट छुट्ने रेल 
हो ... त्यहिँ रोकिन्छ 
जहाँ एकजोडी बृद्ध 
सेताम्मे हिउँको तलाउमा 
बुढ्यौली लागेको खुट्टा
चोप्दै सम्झन्छन 
आफ्ना छोराछोरी पछिल्लोपटक 
भेट्न आएको दिन । 

हेलसिन्कीबाट छुट्ने रेल 
त्यहिँ रोकिन्छ,
जहाँ मारिया सम्झन्छे 
अघिल्लो रात,
मातेर ढलपल हुँदै गर्दा 
ब्युँझिएकी एउटा अफ्रिकनको काखमा,
'साँच्चै नाम चाहिँ के थियो होला त्यसको?'
 रंगीन तर धमिला दृश्यहरु । 

हेलसिन्कीबाट छुट्ने रेल 
त्यहिँ रोकिन्छ,
जहाँ एक हुल युवा 
दोबाटोमा बियरका कार्टुन बोकेर 
गाली गर्छन आप्रवासीलाई
आफ्नो मुलुक बिगारे भनेर,
थोरै बुझेझैं, थोरै नबुझेझैँ गर्छन 
रातभरी हिउँ सोहोरेर आएका 
नेपाली, बंगाली अनि भियतनामी, 
जिल्ल पर्छन,
टोलाईरहेका अनिँदो आँखाहरु ।



उपहार



साँघुरो गल्लीको बाटो हुँदै
छिरेका पाइलाहरु, 
सम्झनाको दर्के झरिले
रोकिएका छन् ओत खोज्दै |  

लम्बियोस् झरि 
लम्बियोस् पर्खाइ त के भो, 
सेकेन्ड मिनेट र घन्टा हुँदै 
कुनै ओसिलो साँझ सकिदाँ
सिंगै जुनी बितोस् त के भो 
एउटा न्यानो रातपछिको कुनै बिहान 
पक्कै सुक्नेछ,
परेलीको बिरह शित  |

त्यतिन्जेल,
नहिड्नु एक्लै
ठन्डी थामिनसक्नुको छ,
चिसो मनको धुम्म आकाशमुनी
सम्झनाले निथ्रुक्क बनाउँदा, 
मायाकै बतासले पनि 
चिसो लाग्न सक्छ !
'फेरि भन्यो' नभन्नु तर
म बारम्बार भनिरहनेछु,
म पग्लने छैन हिउँजस्तै 
अनायस हराउने छैन यो शहरबाट
बरु मन थामेर म पठाइरहनेछु 
जुगजुगसम्म ......
मेरो भागको खुल्ला आकाशबाट
मायाको घाम उपहार तिमीलाई !