'तान्या'संग राजनैतिक गफ : साँच्चि, युक्रेनमा के हुँदै छ !

गत सालको डिसेम्बरमा, भ्लादिमिर लेनिनको पूर्ण कदको सालिक ढालिएको भिडियो फुटेज हेर्दै गर्दा युक्रेनी राजधानी ‘किभ’को त्यो बिशाल भीडबारे ‘तान्या’ मलाई त्यसको भित्रि कथा सुनाउँदै थिई | अहिलेको मिडियाहरुमा प्राय आउने एउटै शिर्षक छ : ‘युक्रेनमा साँच्चै के भईरहेको छ ?'
सन् १९९१ मा स्वतन्त्र भएको युक्रेनलाई रसिया अझैं मानसिक रुपमा स्वतन्त्र राष्ट्रका रुपमा स्विकार्न तयार छैन | अचम्म के छ भने, ४० काटेका रसियन र थुप्रै युक्रेनी यस तथ्यलाई स्विकार्न तयार नै छैनन् | तान्याका हजुरबा र हजुरआमा अझै केटाकेटिलाई लेनिनका गाथा सुनाउँछन् | मस्कोका गल्लीमा कसरि यौबन बिताईयो भनेर बुढाहरु गर्वका साथ गफ लडाउँछन् | धेरै पछिसम्म पनि युक्रेन , रसियाको दोस्रो आर्थिक राजधानीका रुपमा रहीरह्यो | रसियासंग उसको बन्दब्यापार, आणविक भट्टी, तेल पाईपलाईनहरु संयुक्तरुपमा चलिरहेकै छन् | संस्कृति, रहनसहन र इतिहास, सिमा वारीपारी जोडिएका छन्, ति सबैको लहरो अब कसरि फुकाईन्छ, अहिले आन्दोलनमा ज्यान अर्पेर हिंडेका धेरैलाई मेलोमेसो छैन |
‘युक्रेनीले चाहेको स्वतन्त्रता ठ्याक्कै कस्तो हो तान्या ?’, म उसलाई एकदम सिधा हेरेर सोध्छु |
'हामी अबको युगमा नयाँ तरिकाले बिश्वले चिनोस भन्ने चाहन्छौं | रसियाको अघोषित अधिनमा रहेर हामीले केहि पायौं होला इतिहासमा, तर पहिचान लगभग सुन्य भयो | मस्को अझै ‘बोल्शेभिक’ कालिन धंगधंगीमै छ | आर्थिक फाईदाको लागि ‘किभ’लाई चरम उपयोग गर्ने नीति लिएरै हिंडेजस्तो देखिन्छ | सामाजिक तथा आर्थिक रुपले अब हामी कसैको भर पर्नु पर्दैन | तर जहिले पनि राजनीतिले हामीलाई झुकाईदिन्छ | राजनैतिक दल र कार्यकर्ताहरु यति भ्रष्ट भएका छन् कि, अब हाम्रो भावी नेतृत्व कसले गरे हुन्छ भन्ने हामीसंग उत्तर छैन |



'तर अहिलेका राष्ट्रपति भिक्टर यानुकोभिच अलि लचक देखिए नि आन्दोलन बढ्दै जाँदा, राजीनामा दिन्छु भन्दै थिए त !', म बीचैमा काट्छु उसको कुरा |
'त्यो सब देखाउने दाँत हो | उनको सरकार चरम भ्रष्टाचारमा डुबेको छ, राम्रोसंग छानबिन हुने हो भनेकुनै सरकारी अधिकृत बच्ने  छैनन् | 'मस्को'ले जे 'डिक्टेट' गराउँछ, उनि त्यहि बोल्ने हुन् | अहिलेसम्म सयौं मान्छे बेपत्ता भईसके, कति मारिए | मारिने र बेपत्ता हुनेको कुनै तथ्यांकनै छैन | को कतिखेर कहाँबाट गिरफ्तार हुन्छ, भन्नै नसकिने अवस्था छ | पुलिसहरु मिडियाले नदेख्ने गरि मानवअधिकारकर्मीलाई पनि लौराले बजाउँछन | हामी चाहन्छौं यो आन्दोलन अन्तिम होस् | यो सरकार हटोस, हामी अझ युरोपियन युनियनसंग नजिक होउँ |

'तर तिमीहरुको आन्दोलन त एउटा 'ईयू'संग नजिकिने एउटा सम्झौता पत्रमा हस्ताक्षर नगरेको कारण उठेको हो, फेरी एक पछि अर्को माग थप्दै आन्दोलन लब्याईरहने ?
'एकदम सहि, तर कुरो एउटा सम्झौता पत्रको होइन | त्यो त एउटा निहुँ मात्र थियो | असलियतमा हामी चाहन्छौं मस्को को सिधै हस्तक्षेप बन्द होस्, हाम्रो सरकार उनीहरुको इशारामा नचलोस, खुला ब्यापार होस्, युरोपियन युनियनका अरु सदस्य राष्ट्रले झैँ हामीले पनि सांस्कृतिक स्वतन्त्रता उपयोग गर्न पाउँ | हामी दोश्रो ‘बेलारुस’ हुन चाहँदैनौ |  
‘मस्को सोच्दछ, पश्चिमी हावा लागेका केहि मानिसहरु किभ लाई ध्वस्त पार्न लागिपरेका छन् | उसले संघिय सोभियत कालमा युक्रेनलाई ‘बफर जोन’ को रुपमा राम्रै प्रयोग गरेको थियो | अहिले पनि लगभग उस्तै मोडेल चाहन्छ | दुखको कुरो यो आन्दोलनमा आफ्नै देश दुइ भागमा बाँडिएको छ | पूर्वी र केहि दक्षिणी भागका मानिसहरु भिक्टर यानुकोभिच लाई यसरि समर्थन गर्छन मानौं उनले रसियाबाटै सबै सामान ल्याएर खुवाउने पियाउने गरिदिन्छन |' तान्याको अनुहार अमिलो देखियो |
'मानौं, अब युक्रेनमा आम चुनाब भएर नयाँ सरकार बन्यो रे, पुरै रसिया-बिरोधि, तर यत्तिकैले अर्थतन्त्र र अन्य विकास चुलिन्छ भन्ने के ग्यारेन्टी ?’
तान्या यो पटक लामो 'पज' लिएर सुरु गर्छे -
‘ग्यारेन्टी त छैन, तर कमसेकम लडे पनि आफ्नै खुट्टामा उभिएर लडे राम्रो नि |  आर्थिक श्रोत, कलकारखाना, जनशक्ति, आदि सबै पर्याप्त छ हामीसंग, खालि एउटा स्थाई र ‘कम’ भ्रस्टाचारी सरकार चाहियो |  हामीलाई युरोपियन युनियनकै केहि देश र अमेरिकाले उचालेर आन्दोलनमा होमिएको होइन |  अहिलेको अवस्था दोश्रो बिश्वयुद्द वा शीतयुद्धकालिन युरोप भन्दा फरक छ  |  राजनैतिक समिकरण म त्यति बुझ्दिन, तर यत्ति चै बुझ्छु कि मेरो उमेरका युवाले अब पनि  राजनीतिमा चासो नदिने हो भने रसियन भोड्का खाएर जवानीको कथा सुनाईरहने मेरो हजुरबुबा भन्दा हामी फरक हुनेछैनौं |'



‘अनि पूर्वी क्षेत्रका बुढापाका मात्रै हुन् कि युवाहरु पनि अहिलेकै सरकारलाई समर्थन गर्छन ? तिमीहरु आँफै यसरि बाँडिनु अलि दुखलाग्दो हो नि !’ 
मैले प्रश्न र साहनाभुती दुवै राखें |
‘हो, केहि युवाहरु पनि त्यस्तै सोच राख्छन | आफ्नो समुदाय अनि घरपरिवारको ‘सेन्टिमेन्ट’ को प्रभावले गर्दा होला | अहिलेको द्वन्द सरकार बिरोधि मात्रै होइन, पुरानो सोच र नयाँ सोचको ‘टस्सल'  पनि हो | त्यहिँमाथि भिक्टर को गृह जिल्ला पूर्वी भागमा पर्छ | सामुदायिक बिभेद टड्कारो देखिंदै छ आजकल |  
रमाइलो कुरा सुन्छ्स ?, अघिल्लो महिना, म युनिभर्सिटी बिदा लिएर बिरोध प्रदर्शनमा सहभागी हुन हेलसिन्कीबाट किभ गएको थिएँ | प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भयो, म नजिकैको साथीको ढाडमा टियर ग्याँसको ‘सेल’ लाग्यो, म आत्तिएर दौडदै थिएँ | एक्कासि मेरो अगाडी केहि पुलिस देखा परे, आज मेरो हड्डी भाँचिने भयो भनेर लल्याकलुलुक भएँ | तर अचम्म ति पुलिसले मलाई केहि गरेनन, नदेखे जस्तो गरि अर्को बाटो पो गए | पछि थाहा भयो उनीहरु पनि पश्चिमी भेगबाट रहेछन |  प्रहरी प्रशाषन भित्रै पनि बिभाजन रहेछ | कति सुरक्षाकर्मीले त राजिनामा नै दिईसके | पूर्वी क्षेत्रमा घर हुने पुलिस भेटे भने चै आन्दोलनकारीलाई मर्ने गरि कुट्छन | यो डिसेम्बरमा लगभग सबैजसो दिन म किभको सेन्ट्रल स्क्वाएर मा सहभागी हुन पुगें | दिनभरी कठ्यांग्रिदो जाडोमा पसिना छुट्ने गरि नारा लगाएँ |
मेरो बुबाआमाले पनि सहयोग गर्नु हुन्छ सहभागी हुन जाँदा | तर उँहाहरु अलि ‘कन्फ्युज’ देख्छु के गर्ने भनेर | हजुरबुबाको कुरा पनि काट्न सक्नुहुन्न, हामी केटाकेटीहरुलाई बिरोधमा नजाउ पनि भन्न सक्नुहुन्न | पुस्तान्तर मात्रै होइन, बिचारको नयाँ ‘लेयर’ पनि स्पष्टै देखिन्छ | तर यो आन्दोलनले एक हिसाबको सामाजिक तरंग पनि ल्याएको छ | सानो सानो झगडामा अल्झिएका परिवारहरु घाईतेको उपचार गर्नमा, आन्दोलनलाई सहयोग पुर्याउनमा एउटै ठाउँमा जुटेका छन् | हाम्रै परिवारमा पहिला जस्तो चाडपर्व, साथीभाई, रमाइलो, इत्यादि कुरा हुन्नन | आन्दोलनमा कसरि सहभागी हुन सकिन्छ, पुलिसबाट कसरि लुक्ने, इन्टरनेटमा कसरि २४ सै घण्टा अपडेट दिईरहने जस्ता छलफल हुन्छन | ‘देशमा परिवर्तन मात्रै आओस, यस्तो क्रिसमस फेरी फेरी रमाइलो गरि मनाउँला’, बुबाले हामीलाई सम्झाउनु भयो | त्यतिबेला मलाई जिन्दगीको सबैभन्दा  धेरै खुशी लाग्यो |  
अहिले मुख्य ३ वटा प्रतिपक्षि पार्टीहरुले आन्दोलनको अगुवाई गरिरहेका छन् | मिडियामा अलि धेरै चर्चा चाँही पूर्व बक्सर तथा अहिलेका नेता ‘भिटाली क्लिस्च्को’ को हुने गर्छ | तर अलि जान्नेहरु भन्छन यी प्रतिपक्षीहरु पनि केहि न केहि रुपमा भ्रष्ट छन् | तर ठिकै छ, भ्रष्टलाई यसरि तह लगाउनु पर्छ भनेर जनताले सिके भने, यी पनि पछि बढारिने छन् नि | एउटा सैतानलाई पाखा लागाउन अर्को सैतानको सहयोग लिए जस्तै हो अहिले |’
तान्याको राजनैतिक चेत देखेर मा जिल्ल परें |
‘तर मलाई कुनै दर्शन, बाद र सिद्धान्त थाहा छैन है !’ , ऊ बेलाबेलामा भनिराख्छे |    
मैले मेरो देशको राजनीति सम्झें | जनआन्दोलन सम्झें | त्यसपछिको र अहिलेसम्म बिद्ध्यमान बेथिति सम्झें | जिउँदा सहिद, च्यातिएका झण्डा, रातारात उदाएका राजनैतिक हिरोहरु र ‘यहि आन्दोलन अन्तिम हो, जसले सुनौलो बिहान ल्याउँछ’ भन्ने कथा सम्झे | समग्रमा, तान्या तिखोमिभरा, एक २२ बर्षिया युक्रिनी युवतिले आफ्नो देशको आन्दोलनको औचित्य प्रस्ट्याईरहँदा, मैले मेरो देशको जम्मै कथा सम्झें |

‘तेरो देशमा चाहिं हाम्रो जस्तो नहोस है, भ्रष्ट नेतालाई पटक पटक पत्याईरहने गल्ति जनताले नगरुन |’ मैले सानो स्वरमा शुभकामना दिएँ |   

                           *  *  *

फेब्रुअरी २२, २०१४  को अन्नपूर्ण पोस्ट मा चियागफ एउटी क्रान्तिकारीसँग शिर्षकमा प्रकाशित |

No comments:

Post a Comment