[हरेक पल यान्त्रीक जीवन बिताईरहेकाहरुप्रति समर्पित]
मेरो कुन चाहिँ इन्द्रियले
महशुष गर्छ यो ज्यानमा ?
जाडो, गर्मी
भोक,तिर्खा
काम, क्रोध अनि मायाँ !
मिटरले जाडो देखाएकै छैन
म कसरि मानौं
मौषम चिसो छ ?
मायाँ त लाग्दो हो एकअर्काको,
तर मिटरले प्रेम नापेकै छैन
म कसरि महशुष गरौँ
त्यहाँ आत्मियता छ ?
गोरेटो जोडिंदो हो दोबाटोमा
लौरी टेकेर संगै छिचोले
सजिलो बन्दो हो गन्तब्य ,
तर मिटरले भनेकै छैन दूरी
म कसरि अन्दाज गरौँ
सजिलो या अफ्ठ्यारो
कस्तो रहला यात्रा ?
खित्का छुट्छ कहिलेकाहिँ,
आँशु टिलपिल पनि गरेकै हुन् ,
तर मिटरले तोकेकै छैन
म कसरि हाँसौ जोडले ?
पछिल्लोपल्ट हाँसेको
किबोर्डले थिचिने 'स्माइली'मा हो !
यति लिटर,ग्राम, सेन्टिग्रेड, मेगाबाइट्स ....
सुईले देखाइदिए केहि,
म पनि हाँस्ने थिएँ उसले भनेजति,
रिसाउने थिएँ बेग उर्लेजति,
निदाउने थिएँ छहारीमुनि,
पिउने थिएँ कलकल मूलको पानी,
खाने थिएँ अघाउन्जेल,
रुने थिएँ ठेस लाग्दा,
धत् ...........
सोच्दासोच्दै धेरै सोचेछु |
मिटरले तोकेकै छैन साथी,
यति धेरै 'युनिट'
एकै पलमा सोच्नलाई !