पिङ्क प्रेरणा

मार्च २०११, हेलसिन्की, फिनल्याण्ड
मेरो परिचय देउ भनेर कसैले सोध्यो भने म ठ्याक्कै भन्न सक्दिन, के के भनौं भनेर | प्रेरणा | बस, यत्ति हो | न मलाई मेरो थरसंग मोह छ, न त म नेपालबाट हुँ भन्ने गौरव छ | पछिल्लोपल्ट मेरो परिचय कसले, कहिले मागेको थियो, मलाई याद छैन | एकसुरको काम छ | नाम मात्रको बिद्यार्थी छु | थेसिस सक्ने छेपारोको कथा कहिले पुरा होलाजस्तो छैन | कामको तनाव छैन, भनिहालें, एकसुरको काम छ, सधैं उस्तै | ४ बर्षको हेलसिन्की बसाईमा जम्मा २ पल्ट नेपालीहरुको जमघटमा गएको छु | कतिपय साथीहरु जस्तो 'सब नेपाली खत्तम छन' भन्ने सोच पनि राख्दिन। केहि अत्यन्त मिलनसार र सहयोगी पनि छन। केहि चाहिं उही ‘तोर्पे’ फर्म्याटका | अहो, परिचय धेरै दिन्न भन्दाभन्दै यति धेरै भनें।
केहि बर्षअघि मेरो प्रेमी थियो। उ त अहिले पनि छ तर, मेरो प्रेमी होईन। केहि बर्ष अघि म एक साधारण केटि थिएँ। +२ सकेर नयाँ सपना बुन्दै फिनल्याण्ड पसेकी । तिनै सपना ऐजन ऐजन छन् । कति पुरा भए भनेर कसैले नसोधोस | भर्खरै मेरो २६ औं जन्मदिन मनाएपछिका दिनहरु नितान्त फरक लाग्छन, २५/२४/२३ हरुलाई फर्केर हेर्दा | हुन त मेरो उमेरका सबैलाई आँफु अरुभन्दा फरक र बिशेष लाग्छ | तर म अहिले अर्कैखाले फरकपन महसुस गर्दैछु जुन मेरा अन्य केटीसाथीहरुले गर्दैनन | म आँफैले आँफुलाई फरक मान्न हुन्न थियो।  तर धेरै साथीहरुका बिस्तारै बदलिएको ब्यबहार र एकदिन, आफ्नै आँखाले साथीको डायरीमा मेरो नाम प्रेरणा नभएर 'पिङ्क प्रेरणा' लेखेको देखेपछि चाहिँ, फरक नमानी धर भएन। अर्की प्रेरणा कसरि साधारण प्रेरणा, अनि म चाहिँ कसरि पिङ्क ? यो देखेर मलाई रिस उठ्यो |
अँ, मेरो प्रेमीसँग म खुशी थिएँ। हाम्रो लभ नेपालमै परेको। उ मेरो भाईको साथी थियो तर उमेरले त्यति कान्छो भने होइन । म हेलसिन्की आएको एक बर्षपछि उसलाई पनि यतै आउन भनें। प्रक्रिया मिल्यो र खुशी खुशी आयो पनि। एयरपोर्टमा मै लिन गएँ, एउटा टाइट-हग सहित स्वागत गर्न । हामी दुवैजनाको भेट हेलसिन्कीमा नहुँदासम्म शारीरिक रुपमा नजिक थिएनौं | नेपालमा हुँदा त नो-चान्स | विदेशको बिन्दास जीवन, कसैको डर र संकोच भएन। मेरै अपार्टमेन्टमा आउँदा उ प्राय सुगन्धित फुलहरु लिएर आऊँथ्यो। मैले मायाँ गरेको मेरो प्रेमीप्रति त्यति आशक्त नभएपनि, एउटा प्राकृतिक आकर्षणले उ तिर तानिनु पर्ने हो। उसको पछिल्लो चुम्बन  मलाई नेपालबाट बिदाई गर्दाको थियो।  बर्षौदेखिको हाम्रो अपुरो शारीरिक भेटघाट यसबेला पुरा हुने मौका थियो।  अन्य गफगाफ चल्दैगर्दा उसले अलि हतारो देखायो । एकैछिनमा शरीरबाट कपडा हराउन थाले, भिडमा केटाकेटी छलिए झैं। धेरै पोर्न साईटहरुमा देखाइने जस्तै उ ब्यग्र रुपमा अघि बढ्दै थियो। मलाई किनकिन त्यो सब 'प्रोसेस'ले मजा दिएन। एउटा केटा मान्छेको स्पर्शले तरंगीत पारेन। के भएको मलाई, धत्, म कस्तो केटि होला। दिमागमा अनेकथरि कुरा खेलाएर त हैन ? कि म त्यो सबको लागि तयार नै छैन ?
तर उ मेरो अनुहार नहेरिकनै अघि बढ्दै थियो। अन्तमा मैले उसलाई यस्तो अवस्थामा रोकें, जतिबेला हामी दुबैको ज्यानमा कुनै लुगा बाँकी थिएन। उ रिसले आगो भयो । म भने निरुत्तर, ठण्डा र शान्त। उ राम्रोसंग नबोली, ठुस्स फुलेको अनुहार अनि रिसाएका महादेवझैँ भैरव रुप लिएर फर्क्यो। कतिदिनसम्म फोन उठाएन, न त म्यासेज नै फर्कायो। हामी छिट्टै एउटै अपार्टमेन्टमा सर्ने योजना पनि मैले पछि धकेल्दै लगें। मलाई उ राम्रो लाग्थ्यो, सबै कुरा सेयर पनि गर्न मनलाग्छ, केटो नराम्रो छैन। तर जहिले पनि उसको अँगालो र चुम्बन मलाई झेल्न सकस हुन्थ्यो। मेरो कयौं साथीहरु उनीहरुका केटा साथीले यसो गरे, उसो गरे, अनि त्यसपछि यस्तो भयो … भनेर रोमाञ्चक कथा सुनाईरहँदा म चाहिँ वास्तै नगरी बस्थें | उत्सुकतै जाग्दैन त, म के गरौँ !
मेरो प्रेमी अब ‘भूतपूर्व प्रेमी’ हुने संकेत देखाइसकेको थियो । उसको फेसबुक ‘चेक-इन’ हरुमा प्राय क्लब र बार हरु हुन्थे, जहाँ मैले नचिनेका कयौं फिनिश केटिहरु ‘ट्याग’ हुन्थे।  सुरुसुरुमा अलि डाह र रिस उठे पनि बिस्तारै मलाई कुनै इर्स्या हुन छोड्यो। ‘धत्, तँ के भाको? यसरि आफ्नो ब्वाईफ्रेनलाई फ्री छोड्न हुन्न है, फिनिश केटीहरुको ठुलो हिप देखेपछी यिनीहरुको ब्रेन-वाश हुन्छ |’ मेरा साथीहरु मलाई सम्झाउँथे | ह्या...मलाई बाल |  
घन्टौं म आँफैलाई ऐनामा नियाल्थें। शरीरमा कुनै कपडा बिना अपार्टमेन्टभित्र दिनभरी बिताएकी छु। अहो, म कहिँ 'एबनर्मल' त भईन ? झसंग हुन्थे बेला बेलामा। मेरी फिनिश साथी लिसा मेरोमा आउँदा हामी अलि धेरै जिस्किन्थियौं। उ एकदम मिजासिली र हँसिली छे | कुनै कुरामा संकोच नराखि आफ्नो कुरा खुला रुपमा व्यक्त गर्ने उसको शैली मलाई मनपर्छ। अँझ सपरिवार नाङ्गै साउना बस्ने संस्कारकी उसलाई, सम्बन्ध र यौनका बारेमा त अलिकति पनि संकोच लाग्दैन। एकदिन उ र म साउनामा संगै भयौं । जतिसुकै ‘फ्र्यांक’ छु भनेपनि उसका अगाडि सबै भित्रि लुगा खोलेर भित्र पस्न मलाई मरेतुल्य लाग्यो | भित्र बाफले भिजिन्छ, म बाहिर लाजले भिजें | तर के गर्नु, साउना भित्र लुगा लगायो भने फिनिशहरु रिसाउँछन। मलाई जिन्दगीको सबभन्दा धेरै लाज-वाला फिलिंग्स त्यहिबेला लाग्यो, अनि अर्कै खालको रोमाञ्चकता। त्यस्तो फ़िलिङ्ग्स त मेरो केटा साथीले छुँदा पो हुनुपर्ने मलाई। अचम्म।
राती हल्का वाइन खाएर लिसासंगै बेड सेयर गरेर बस्दा , ऊ जत्तिको राम्री र आकर्षक अरु कोहि लागेन। उसको हरेक 'कर्भ'ले मलाई भुतुक्कै पार्थ्यो।  बिहानको ४ बजेसम्म हामी कुरा गरिरह्यौं। मेरो जस्तै उसको पनि अनुभव रहेछ, केटासंगको उस्तै बितृष्णा। अलि मिलेन, केटाको ‘शरीर’संगको वितृष्णा | उसले मलाई त्यस रात धेरै ठाउँमा चलाई, सबैभन्दा बढी मेरो अस्थिर मनलाई। म फेरी भिजें, तातो साउनाको बाफझैं, निथ्रुक्क । यस्तो खालको फिलिंग्स मलाई मेरो ब्वाईफ्रेनसंग हुँदा आउनुपर्ने, अहिले आउँदैछ | 'आँफैले आँफुलाई चिन्नु पर्छ', उ दोहोर्याईरहन्थी।

त्यो भनेको के हो लिसा ?
उसको उत्तर मैले धेरै बुझिन | तर त्यस दिनदेखि थाहा पाउँदै गएँ, आफ्नो स्वरुप केवल ऐनामा मात्र देखिन्न।  
तर मैले त्यो देखेको स्वरुप भनुँ कसलाई ? मेरो प्रेमी भनाउँदो मसंग आगो भएर झोंकिदै अहिले कुनचाहिँ केटि चेपेर बसेको होला। तर उसको रिस जायज छ | उसलाई भन्न मन थियो, यसकारण म तँ संग नजिक हुन सकिन, मेरो यथार्थ लाई स्वीकार गर । जीवनको २६ औं बर्षमा आएर मलाई तत्वज्ञान पाए झैँ भएको थियो। खुशी, डर, लाज, आकर्षण, सबै एकैपल्ट महसुस हुन थाल्यो । लिसाले भनेको सम्झन्छु 'आँफैले आँफुलाई चिन्नु पर्छ' | लिसा त केहि महिनामा इन्टर्नशिप गर्न अफ्रिका उँडिहाली।
नेपाली साथीहरुसंग कसरि यस्तो कुरा सेयर गर्नु। हाम्रोमा त अझै अपराध मान्छन यसलाई। एउटा राम्रो केटो हेरेर बिहे गरि अर्को बर्ष नातिको मुख हेर्न पर्खिनुभएको छ मेरी आमा। अँझ मेरा रिटायर्ड फौजी बाबाले त मलाई घरको भरुवा बन्दुक तेर्स्याउलान | म डरै डरले पिल्सिन्छु । जुन जातसंग एकछिन टाँसिन पनि सक्दिन, उसैसंग बिहे गरि जीवन कसरि काटौंला। असंख्य द्विधा बोकेर म मेरो नयाँ अनुभव बिसाउने पार्टनर खोज्दै हिंड्छु । जब मेरो नाम एउटा नेपाली केटी साथीकै डायरीमा ‘पिंक प्रेरणा’ देखें, त्यसपछि म उ जस्तै धेरै नेपालीकोमा जान छोडें | कुनै जघन्य अपराध गरेझैँ , डराएर, लुकेर, भाग्दै गरेको हुन्छु म |  बेलाबेला आत्महत्याको बिचार आउँछ , तर म त्यति हिम्मतिलो पनि छैन, आफ्नो शरीर आँफै अगाडि मर्दै गरेको हेरुँ  | मान्छेहरु त्यसलाई कायरता पनि भन्छन | ठिकै हो | आत्महत्या यस्तो शब्द हो, जसलाई दुवै विशेषण सुहाउँछन् |  तर त्यो मेरो ‘अप्सन’ नै होइन अहिले |


जुलाई २०१२, बार्सिलोना, स्पेन  
मलाई बार्सिलोनाका यि जम्मै साँझहरु रोमान्टिक लाग्छन | हेल्सिन्किमा मुस्किलले ३ महिना न्यानो अनुभव गरें होला, सँधै जाडोले खुम्चिनुपर्ने | यहाँ बल्ल आफ्नो बास्तविक साइज थाहा हुँदै छ | :D
प्रमिशा भर्खर कलेजबाट आई | ऊ आएदेखि हल्ला गरेर मलाई केहि लेख्न पनि दिएकी छैन | ओहो, भन्न बिर्सें, प्रमिशा मेरो प्रेमिका | ऊ मेरो जीवनमा आएदेखि मलाई संसारको सबभन्दा खुसी मान्छे मै हुँ जस्तो लाग्छ | हामी नेपालीहरु, जो संधै ‘अरुले के भन्ला’ भन्ने सोच्दै जिन्दगी गुजार्छौँ, अलिकति खुसी हुनु एउटा उत्सब नै हो | मेरो लागि अर्को खुसी भनेको मेरी आमाले बुझ्नुभएको छ, नातिको मुख हेर्न ज्वाईं नभएपनि पाइन्छ |
तापक्रम ३२ डिग्री सेल्सियस छ बाहिर | अँ, साँच्ची, मनको  उतारचढाव नाप्ने डिग्री छैन है !  लिसाले यसै भनेकी होइन रहिछ ‘आँफैले आँफुलाई चिन्नु पर्छ’ | मलाई मेरो डायरी कुनै उपन्यास भन्दा कम लाग्दैन, जसको पहिलो पन्नामै लेखिएको छ : P for Prerana, P for Pramisha, P for Pink.   

| | |

6 comments:

  1. गहन बिषय , सरल प्रस्तुती !! नेपाली तेश्रो लिंगीको गम्भीर समस्या माथी छोटो तर मिठो यथार्थपरक प्रस्तुती !!

    ReplyDelete
  2. एकै श्वास मा पढेर सकेँ !! तपाइले लेख्नु भएको विषय सङ जानकार नभए पनि प्रस्तुती राम्रो लायो !!!

    ReplyDelete
  3. धन्यबाद छबी न्यौपाने र खिमलाल जी लाई !

    ReplyDelete
  4. पढुन्जेल जतिखेर नि 'what's next?' वाला फिलींग आईरह्यो! Well written and very well presented! :)

    ReplyDelete
  5. सायद पहिलो पटक ... मेरा पाइलाहरुले तपाईका अक्षरहरु सुम्सुम्याउन आइपुगेको छु ...
    मन टक्क आएर यहि पोस्टमा रोक्कियो ...
    राम्रो लाग्यो .... लेखाइ !

    ReplyDelete