नेपाली चेली “खादिजाह तामाङ्”

“दिदि नमस्ते”, 
“सलाम वालेकुम खाबीर भाइ”
मैले दुबैलाई पालैपालो अभिबादन गरें। “आफ्नै नेपाली भाइ आउँदा नि के हिजाब लगाईराख्नु” भन्दै दिदीले टाउकामा बेरिराखेको कालो रंगको हिजाब निकालिन। निकै फुर्ति साथ चिया बनाइन र सोफामा बसेर मिठो हाँसो धेरैबेर जारी राखिन। दिदीका श्रीमान अब्दुल-खाबिर। एकजना नेपाली साथिको माध्यमबाट मायाँ तामाङ् दिदीको कथा सुनेर ठेगाना पछ्याउँदै हेलिसिन्कीबाट पश्चिमी सहर तुर्कु पुगेको थिएँ।
साढे २ घण्टाको इन्टरसिटि-ट्रेनको रफ्तारसंगै कतिखेर मायाँ दिदीको घरमा पुगेर उनकै मुखबाट कथा सुन्ने होला भनेर खुल्दुली थियो। मसंग प्रश्नहरुको पोको थियो। उनको फ्ल्याटमा पस्ने बित्तिकै  पिंजडामा पालेको एउटा सुगाले स्वागत गर्यो।
युरोपमा बिरलै देख्न पाइन्छ यस्तो। कोठाभरी मुस्लिम रितिरिवाज झल्किने सजावट थियो। दुध र चियापत्ती हालेर निकै बेर उमालेर बनाइएको नेपाली बासनाको चियाबाट गफको मेलो सुरु भयो।
“दिदीको खास घर चाहिँ कता अरे?”
“जन्मेको त सिन्धुपाल्चोक जिल्ला भन्ने ठाम हो। अरु त जहाँ बस्यो, त्यहिँ घर”।
“रेफ्युजीको पनि घर भन्ने हुन्छ र?” ठट्टा मिसिएको लवजमा दिदिका श्रीमान खाबिरले थपे। ठट्टा होइन, त्यसमा पीडा मिसिएको थियो।
“हामी ३ दिदीबहिनी र एउटा भाइ थियौं। बुबा ठेकी, मदानी बनाउने काम काम गर्नुहुन्थ्यो। भाइ सानैमा भागेर इन्डिया गएको थियो। बर्षौंसम्म आस मारेका थियौं। तर एकदिन अचानक आइपुग्यो। इन्डियामै काम गर्दो रहेछ । १५-१६ को कलिलो केटो, तर कामले होला, छिप्पिएको जस्तो देखिथ्यो। अलि काले भएछ। गर्मि ठाम। साथमा एउटा इन्डियन मान्छे पनि साथे ल्याएको थियो। उसको उमेर झन्डै २२-२३ हुनपर्छ। हाँसोउठ्दो गरि नेपाली बोल्न खोज्थ्यो।
भाइ र उसको साथे झन्डै एक महिना घर बसे। रहँदा बस्दा सबै घुलमिल भइयो। भाइ भन्दा धेरै जेठो, कालो कालो अनुहार अनि राम्रोसंग बात गर्न पनि नजान्ने त्यो खाबिर भन्ने साथेसंग मेरो मन नजानिँदो तरिकाले बसिसकेको रहेछ। ‘अब हिन्दुस्तान फर्किने हो बाउ’ भनेर भाइले सुनाएपछि पो मलाई थाहा भयो। त्यो खाबिरे हो कि अबिरेको उल्का मायाँ लाग्न थालेछ। धत्, के भएकी म? कहाँको कहाँको देशी, फेरी न भाषा मिल्छ, न जात। यो भन्दा त पोहोर जात्रामा जिस्क्याउने बिरे मुर्दार ठिक थियो। अँह, मनले मानेन। आखिरमा भाइले जिम्मेवारी लियो।
‘हिन्दुस्तानमा संगै काम गर्ने, संगै बस्ने जिग्री हो मेरो, तलमाथि गर्यो भने यसको म नली खुट्टो भाँचीहाल्छु नि!’ यति भनेपछि मन ढुक्क भयो। एकजोर कुर्ता सुरुवाल र स्कुलको आकाशे रंगको सर्ट अनि फरक पोको पारेर म निस्किएँ। मसंग नयाँ लुगा भन्नु त्यत्ति थिए। बाउले अन्माउन मानेनन् । अक्षेता मुछेर टिको टाँसीदिए, हातमा ५० रुपैयाँ थमाईदिए अनि खाबिरलाई टुटेफुटेको हिन्दिमा खै केके भनेर जिम्मा लगाए। गाउँका कसैले निको मानेनन्। म भने बुरुक बुरुक गर्दै अघि लागें। भिर, खोला, पाखामा म अघिअघि थिएँ। बजार आयो, गाडी देखिए, अनि म पछि भएँ। भाइ र खाबिर अघि भए। अहिले सोचेर ल्याउँदा, त्यहि दिनमात्रै रहेछ म अघि लागेको। जीवनमा त्यसपछि, सधैं पछिपछि मात्रै हिंडीरहें।
मिनिबस, बयलगाडा अनि बोर्डर काटेपछि लामो रेल चढाउँदै मलाई दिल्ली पुर्याए। दिल्लीमा मैले दुनियाँ देखें। भाइ र खाबिर संगै बस्थे, संगै काममा जान्थे। मलाई हिन्दि आउँथेन, बाटो थाहा थिएन, खाना पकाउने बेलामा स्टोभ जलाउन आउँथेन। सबभन्दा ठुलो कुरा, अब मेरो जिन्दगी के हुन्छ भन्ने थाहा थिएन। लहडै लहडमा सिन्धुपाल्चोककि तामाङ्की छोरी, अब्दुल खाबिर भन्नेसंग बिहे गरेर आएकी छु। बिहे पनि के भन्नु, घामट बनेर टिको थापेर आएकी छु। नाम सुन्दै आफ्नो दुलाह जस्तो लाग्दैन। मनले कसरि अपनाउने, तनले कसरि अपनाउने।
मान्छेको भिडभाड, नबुझिने भाषा, बिरसिला मान्छे, सबै देख्दा जिन्दगीलाई के सारो खेलाँची गरेछु जस्तो लाग्यो। तर भाइ पनि साथै हुनाले मनलाई ढाडस भयो । भाइले सम्झाईरहन्थ्यो- चिन्ता नगर, खाबिर राम्रो आद्मी छ। तलाई मायाँ गर्छ, सुखसंग पाल्छ। 

दिल्लीमा झन्डै २ बर्ष बिते। रहँदा-बस्दा मायाँ फेरी पलायो। उता सिन्धुपाल्चोक हुँदा पलाएको मायाँ होइन रहेछ, अर्थोकै केहि रहेछ। २-४ पैसा पनि भयो, अब नेपालनै गएर बिहे गर्छु, गृहस्ति सुरु गर्छु भनेर भाइ नेपाल फर्कियो। हाम्रो लवाई खुवाई राम्रै थियो। हप्तादिनमा सिनेमा हेर्न पनि गइन्थ्यो। हिन्दि मजाले बुझ्ने भैसकेको थिएँ। मुस्लिम धर्मको २-४ कुरा पनि खबिरले सिकाइसकेको थियो। गाउँका रितिरिवाज, धर्मकर्म धेरैझसो छुटीसकेका थिए। दशैँ, तिहार, इद, बकर-इद सबै बराबरजस्तो मनाइन्थ्यो। भाइ नेपाल फर्केपछि नेपाली चाडबाड छुटे।”
“अनि तपाईलाई चाहिँ कस्तो लाग्यो त खाबिर भाइ?” म बिस्तारै खाबिर तिर फर्किएँ। चियाको सुर्को लिन कप उचालें, तर अघिनै रित्तिइसकेछ। फेदका चिसा दुई थोपा मुखमा परे। त्यो देखेर मायाँ दिदीले अर्को लट चिया बसालिन, यता खाबिरले आफ्नो भर्सनको कथा अघि बढाए।
“मान्छेको दिल अजीबको हुँदो रहेछ। कहाँकहाँ पहाडमा गएर, आफ्नै दोस्तको बहिनि बिहे गरेर ल्याएँ। मैले आफ्नो मजहब (धर्म) र संस्कार बिर्सिदिएँ। उसको सादापन र निश्चलताले मलाई सधैं तानिरह्यो। दिल्लीका दिनहरु रमाइला थिए। मेरो असली घर अफगानिस्थानको कान्दाहार हो। सानैमा भागेर काम खोज्न हिन्दुस्तान गएको थिएँ। यो कुरो मैले कसैलाई भनेको थिइन। हिन्दि राम्रो थियो, लवाइ खवाई मिल्थ्यो, त्यसैले कसैले शंका पनि गरेनन्।
घरमा मैले बिबाह गरेको थाहा दिइसकेको थिएँ। जुन मजहबको भए पनि बुहारी अपनाउने बचन दिए। दिल्लीकै एउटा मस्जिदमा मायाँको नाम फेरेर ‘खादिजाह’ राखियो। उसले पनि हिजाब लगाउन अफ्ठ्यारो मानिन। आखिर दुखसुख साथ् भोग्नु छ, जुनी संगै काट्नु छ, बिश्वास उत्तिकै छ। यो लगाउने लुगा र पकाउने कुरोले के फरक पार्ला र ! उसको समझदारी देखेर जिल परें। उसको मुस्लिम नाम खादिजाह हो, जसको अर्थ हुन्छ ‘बिश्वास गर्न लायक’।
हामी दिल्ली छोडेर अफगानिस्थान उँड्यौ। मेरो जन्मस्थान कान्दाहार टेके देखि नै हाम्रो जीवनको अर्को संघर्ष सुरु भयो। परिवारले मलाई घर बोलाउन फकाई फकाई बुहारी अपनाउँछौं भनेर बोलाएको रहेछ। तर घर पुगेपछि खादिजा (बोलीचालीको भाषामा)लाई राम्रो ब्यबहार गरेनन। आफ्नै परिवारले त केहि भनेनन्, तर वरपरका आफन्तले अर्कैसंग निकाह गरिदिने कुरो झिके। कोहि त हिंस्रक भएर आइलागे।
यतिका बर्ष परिवार, समाजबाट टाढा बस्दा मैले मेरै संस्कार चिन्न भुलेछु। धर्मले मानिसलाई त्यस्तो बनायो कि खै, खराब मानिसहरु मिलेर त्यस्तो धर्म बनाए, मैले सोच्न सकिन। बिचरि कुन संस्कारबाट आएकी, रमाइलो गरेर पहाडमा नाच्दै हिंड्थी, अहिले वरपरका छरछिमेक यसलाई मार्नुपर्छ भनेर ढुङ्गो टिप्छन। सुनेर कस्तो लाग्दो हो बिचरा। तैपनि म हारिन, डटेर मायाँलाई नछाड्ने प्रण गरिरहें। बिस्तारै मेरा बहिनिहरुसंग मायाँ झुम्मिदैं गई।
बाबुआमाले पनि राम्रो मान्दै गए। अन्तत: मुस्लिम परम्परा अनुसार हाम्रो फेरी बिबाह भयो। परिवारमा अलिकति खुसि छायो। तर त्यसले गर्दा वरपरका छरछिमेकसंग दुश्मनी बढ्यो। एकथरि कट्टरबादी मानिसहरु गुटबन्दि गर्न थालेका थिए देशमा। हतियार लिएर हिंड्थे। पछि तिनै जमातले तालिवानको नाममा आतंक मच्चाउन थाले। यो १९९४ को कुरा थियो। सबै महिलाले बुर्का लगाउनै पर्ने कडा उर्दी जारी भयो।
तामाङ्की छोरी, गोरी गोरी पुक्क गाला भएकी मायाँ, अब खादिजा बनेर कालो बुर्काभित्र कैद भई। हामी तालिवानको निशानामा पर्यौं। साँझ बिहान हिंडडुल गर्न मुश्किल हुनथाल्यो। त्यो हिन्दु केटिलाई देश फर्काइदे, अनि मात्र तिमीहरु बाँच्न पाउँछौ भनेर हाम्रो नाममा सुचना टाँसे। परिवारको जीवन रक्षाको लागि बुबाले टाउको निहुर्याउनु भयो। म अँझै हार्नेवाला थिइन। त्यसको केहि दिनमा एक जत्था तालिवानी हाम्रो घरतिर आउँदैछन् भन्ने खबर पायौं। मायाँलाई लिएर म तत्काल भागें। लुक्दै छिप्दै चोर बाटोबाट तिन चार दिन लगाएर ईरान पुग्यौं। हिन्दुस्तान भाग्ने बाटो सहज भएन।”
खाबिर भाइले यसरि सुनाइरहँदा मैले मायाँ दिदीलाई पुलुक्क हेरें। कतैबाट उनि खादिजाह जस्तो लागिनन। सोफाको कुनामा आडेश लागेर यी जम्मै घटनाहरु फ्ल्यासब्याकमा हेरेझैँ सुनिरहेकी थिइन्। ” अफगानस्थान हेरीकन त्यो बेला इरान अलि रंगीचंगी थियो। अकबर-हासेमी सत्तामा थिए। ईराकसंगको युद्ध सकिएर केहि बर्ष यतादेखि पुनर्निर्माणमा थियो देश। अमेरिकी फिल्मका पोस्टर कहिँकहिँ देखिन्थे। खुला अर्थतन्त्रको नीति आयो भन्ने चर्चा सुनिन्थ्यो।
बिदेशी चहलपहल बढ्दै थियो। महिलाहरुले हिजाबबाट अलिकति कपाल र ओठमा लिपिस्टिक पनि लगाउन पाउने नियम थियो। हामीले चैनको सास फेर्यौं। उता कान्दाहारमा पनि परिवार सुरक्षीत नै रहेको थाहा पायौं। आफ्नै परिवारले मायाँ र म कतै मारियौं भन्ने हल्ला चलाएछन, अनि मात्र तालिवानिले छोडीदिएछन। राजधानी तेहरानमा लुकिछिपी गर्न मिल्ने राम्रै काम पनि पाइयो। मायाँ दिनभरि घरै बस्थी।”
“अनि त्यो इरानी बोर्डरको कुरा सुनाउनु नि”, मायाँ दिदि एक्कासि उत्साहित हुँदै सम्झाईन्। “ए अँ, कान्दाहारबाट भाग्दै हामी इरानी बोर्डरमा पुगेका थियौं। बुर्काले छोपिएर मायाँलाई ठ्याक्कै मुस्लिमजस्तै बनेर पार गर्नुथियो। तर त्यतिनै बेला उनि चिप्लिएर लडिन, सायद धेरै डराएर अत्यासले गर्दा होला। बुर्का उल्टिएर उनको अनुहार देखियो। हाम्रो सातो उँड्यो। आजै अन्तिम दिन रहेछ भन्ने लाग्यो। दुइजनाले बेस्सरी अँगालो मार्यौं।
अब गोली हान्छन्, नभए पनि कोर्रा त पक्कै लगाउँछन् भनेर आँखा चिम्म गरेर अँगालो मारिरह्यौं। ‘तिमीहरुलाई लाज लाग्दैन अँगालो मार्न?’ भन्दै परबाट कसैले करायो। तर ईरानी पुलिसले देखेकै रहेनछ, खालि अँगालो मारेको मात्रै याद गरेछ। हामी मनमनै मक्ख हुँदै अघि बढ्यौं।
तर हामीलाई तेहरानमा पनि धेरै समय बस्न गाह्रो भयो। हासेमी सरकारको त्यहाँका कट्टरताबादीले बिरोध गर्न थालेका थिए। प्रसिद्ध पत्रकारहरुको हत्या हुन थाल्यो। गल्लीहरुमा दंगा भड्किने खतरा भयो।  देश ऋणमा डुब्दै गयो भनेर प्रदर्शनहरु हुनथाले।
मान्छेहरुका लाश साँझ बिहान चोकमा भेटिन थाले। प्रहरी प्रशाषन निरिह थियो। हेर्दाहेर्दै शान्त समाज अराजक र हिंस्रक देखिन थाल्यो। र अन्त्यमा एकदिन, त्यहाँबाट भाग्नैपर्ने स्थिति आयो। हामी ईराक पस्यौं। थाहा थियो, ईराक हाम्रो लागि बस्न लायक ठाउँ होइन, तर के गर्नु ज्यान जोगाउनुनै त्यतिबेलाको पहिलो काम थियो। हामी बुढाबुढी जहाँ गए पनि एकअर्काको खुब ख्याल गर्थ्यौं। पहाडकि छोरी, खेल्दै, रमाइलो गर्दै हुर्केकी, खोलाको चिसो पानी खाएर हिंडेकी मायाँलाई घरि घरि हेर्थें, के दुख दिएँ यसलाई भनेर ग्लानि हुन्थ्यो। तर उनि पटक्कै दुखि थिइनन। हजुर हुँदासम्म मलाई कसैदेखि डर लाग्दैन भनेर अँगालो मार्न आउँथिन्।
बग्दादमा हामी धेरै बस्न सक्दैनौं भन्ने थाहा थियो। सद्दाम हुसैन शक्तिमा थिए। सुन्नी मुस्लिमहरु थोरै संख्यामा भए पनि शिया जातीलाई देखि सहन्नथे। सद्दामले धेरै ठाउँमा शियाहरुको कत्लेआम गरेको कुरा सुनिन्थ्यो। त्यहाँको बसाई धेरै कष्टकर रह्यो। बिस्तारै हाम्रो सम्पर्क बिदेशी संस्थाका मानिसहरुसंग भयो। एउटा नर्वेजियन संस्थाको सहयोगमा हामी शरण माग्न नर्बे पुग्यौं। त्यहाँ पुग्दा, त्यहाँको लवाई खवाई हेर्दा हामीलाई मरभूमीबाट स्वर्ग आएझैं लाग्थ्यो।
शरणार्थीको रुपमा मान्यता पाउन केहि महिना लाग्ने देखियो। त्यतिन्जेलसम्म खान/बस्न भत्ता पनि पाइयो। राम्रो घर, कसैबाट डराउनु नपर्ने अवस्था, मिठो खाना, रमाइलो ठाउँ, हरिया पार्क, अहो.…अब हामीलाई यत्ति भए जिन्दगीमा केहि चाहिन्न जस्तो लाग्थ्यो। तर बेला बित्त्दै जाँदा यो सब कुराहरुको केहि अर्थ देखिन छाड्यो। न आफ्नो पहिचान छ, न खुसि बाँड्न परिवार छ, न आफ्नो निश्चित राष्ट्रियता छ। झरी परेको बेला जहाँ ओत लाग्ने ठाउँ देख्यो, त्यहि टाउको घुसारे जस्तो जिन्दगी भयो।
केहि महिनापछि हामीलाई शरण दिन नमिल्ने बताइयो। अब कता जाने फेरी, धर्मसंकट आइलाग्यो। लाग्यो, हामीले अघिल्लो जन्ममा ठुलै पाप गरेका रहेछौं। कहिँ, कतै आशा देखिन्नथ्यो। तर जब अफ्ठ्यारो स्थितिमा मायाँले मलाई केटाकेटिलाई जस्तो अब सब ठिक हुन्छ, हामीलाई अल्लाहले हेर्छन भनेर फकाईफुल्याई गर्थी, मलाई लाग्थ्यो, अघिल्लो जुनीमा मैले ठुलै पुण्य गरेको रहेछु।
हामी उत्तरी बाटो हुँदै फिनल्याण्ड पस्यौं। यहाँ पनि उसैगरि शरण माग्ने प्रक्रियामा गयौं। केहि समयमै हामीले शरणार्थीको मान्यता पायौं। कार्ड पनि दिए। अब यो मुलुक छोडेर जान पर्दैन भनेका छन्।”
“धन्न अहिलेसम्म अल्लाहले हेरेका छन्”। ६० काट्नै लागेका अब्दुल-खाबिर भाइले लामो सास तानेर भित्तातिर छोडे।
उमेरले  ५० टेकेपनि उमेरभन्दा निकै बुढी देखिने मायाँ दिदिले मधुरो स्वरमा भनिन -“खै अल्लाहले हेरे कि, शिवजी ले हेरे, अहिलेसम्म कुनै कुराको पछुतो छैन जिन्दगीमा। यस्तो राम्रो लोग्नेमान्छे पठाईदिएका छन्। अब बाँकी जुनी काट्न यत्ति भए मलाई केहि चाहिन्न।”
“अब यो मुलुकले शरण दिएको छ, खान दिएको छ, केको अल्लाह र शिवजी नि, क्राइष्टले हेरे भनौं न”। खाबिर भाइ रमाईलो मुडमा आए। कुराको बिट मारेर निस्किने बेलामा मायाँ दिदीले ढोकैनिर आएर भनिन- भाइ, अर्को दशैंमा टिका लगाउन आउ है ! दशैं नमनाएको ठ्याक्कै २२ बर्ष भयो।”
गएको २२ बर्षमा मायाँ तामाङ्ले कुरानको कति श्लोक घोकिन, बुर्काको जालीदार प्वालबाट कति चिहाइन, कतिपल्ट जीवनको अन्तिम दिन आजै हो भन्ने ठानिन, ‘मायाँ’ बाट ‘खादिजाह’ भइन होला। तर टिकाको रंग र जमराको बासना भुलेकी रहिनछन्।

* * * 

[पोखराबाट निस्किने समाधान दैनिकमा प्रकाशित : http://goo.gl/YyrRT4 ]

No comments:

Post a Comment