एक NRN अनुभव

'हेल्लो साथी, हामीले एउटा नयाँ बिजनेस सुरु गर्ने बिचार गर्दैछौं, यसो ८-१० लाख सहयोग गरिदिनुपर्यो।'
"भाइ, यहाँ एउटा राम्रो जग्गा फेला परेको छ, सबै ब्यवस्था भयो तर अलिकति (त्यस्तै ५-७ लाख) पुगेन, अर्को हप्तासम्म यसो पुग्न दिन सकिन्छ त?'
 
यस्ता सन्देशहरु आजकल प्राय: हप्ताको एक दुर्इवटा इमेल वा फेसबुकका इनबक्समा आराख्छन्। आफ्नै साथीभाइ, नजिकका आफन्त हुन, ठाडो भाषामा नकार्न सकिन्न। तर "हस" भन्नको लागि आफ्नो कमाईले दिँदैन। अँझ नेपाल जानेबेलातिर त साथीभाइको डिमाण्डको लिस्ट हेर्दैमा दुर्इ दिन लाग्छ। यो आम कथा हो सबै प्रवासीको। आफूले किनेर नचलाए पनि नेपालका अधिकांश आफन्तजनका हातमा नयाँ मोडेलका स्मार्टफोन, क्यामरा र ल्यापटप पुर्‍याएकै छन् बाहिर हुने नेपालीले। नेपालमा प्राकृतिक बिपत्ति पर्दा, आफ्ना गाउँ जिल्लामा केही आयोजना बन्दा, प्राय सबै प्रवासीले आफ्नो गच्छेले भ्याएसम्म सहयोग गरेकै छन्। आफूलाई भने यी सबभन्दा एक कदम अघि बढेर "एन.आर.एनको मान्छे भएर पनि यति जाबो पैसा सहयोग गर्न नसक्ने" भन्दै नराम्रो स्माइलीसहित म्यासेज आउँदा एकछिन खिन्न हुन्छ। 

प्रवासी नेपालीहरु एक सुत्रमा बाँधिउन्, हक अधिकार सुनिश्चित होस्, सहयोग गर्दा पनि एक ढिक्का भएर गर्न सकियोस, आफ्नो कला संस्कृति जीवन्त राख्न सकियोस भनेर गैर आवासीय नेपाली संघ (एन.आर.एन) गठन भएको हो। तर यसबारेमा आफूलाई विदेश आउनु अघि खासै थाहा थिएन। एन.आर.एन भनेका उपेन्द्र महतो र जिवा लामिछानेहरु हुन्, जोसंग गनेरै नसकिने पैसा हुन्छ भन्ने मान्यता थियो। पत्रिकामा एन.आर.एन सम्बन्धि समाचार आउँदा टाँसिएर आउने जम्मा दुर्इवटा प्रसंग हुन्थे- एउटा, लाखौँ करोडौंको सहयोगको कुरा, अर्को दोहोरो नागरिकता। दोहोरो नागरिकता किन मागिरहन्थे, सरकारले चाहिँ किन दिँदैनथ्यो, त्यो चासोको बिषय थिएन। जे होस्, करोड करोडका दरले मुलुकमा पैसो भित्रिएको छ, त्यो कुरा रमाइलो लाग्थ्यो। इन्जिनियरिङको पढाई सकिनै लाग्दा बडेमानका सपना एउटा ल्यापटपमा कोचेर साँझपख शंकमुलको मम: पसलमा बसेर हामी तर्क बितर्क गर्थ्यौं, युरोप अमेरिकामा कार्ड बनाएर बसेका मान्छे यो जाबो झुसे नेपालको नागरिकताको लागि किन रोइकराई गरेका होलान? विदेशमा कार्ड बनाएर 'सेटल' हुन छोडेर नेपाली नागरिकताको माया गर्नु त मूर्खता हो भन्ने निष्कर्ष निस्किन्थ्यो। नेपाल के कति कारणले बस्न लायक छैन भनेर हामीसंग १०१ कारणहरु थिए। मम:को अर्को बाहान तयार नहुन्जेल थियो त्यो गफ। हररर बाफ उड्ने गरी ढकनी खोलेपछि विदेशका सबै सपना मम:का डल्ला र सुपमा मिसिन्थे।  
 
केही समयअघि युरोपको सबभन्दा सिरानको देश फिनल्याण्ड आउने मौका जुर्यो। भन्नै पर्दैन, युरोपका लगभग सबै देशको अंग्रेजी भाषासंग खासै साइनो छैन। कामको लागि सबैभन्दा अप्ठ्यारो यहिँबाट सुरु हुन्छ। बस्न, खान, काम खोज्न, ठेगाना थाहा पाउन विदेशमा सबैभन्दा भरपर्दा माध्यम र सहयोगमा जुट्ने पुराना साथीभाइ हुन। नभए, साथीको साथी। त्यो पनि नभए साथीको काकाको छोराको साथी। अन्त्यमा कोही नभेटिए हामी नेपाली नाता खोज्नमा सिपालु छौं, एउटै जिल्ला, मिल्ने थर, एउटै अन्चल, जसरी पनि साइनो गाँस्छौ। यस्तो बेलामा एउटा आश संधै रहँदोरहेछ, एन.आर.एन जस्तो संस्थाले फ्याट्ट एउटा काम खोजेर लगाइदिए त हुने नि। एन.आर.एन भनेको पैसावालहरुको क्लब हो, नेपालका मन्त्री, सांसद समेत किन्ने हैसियत राख्छन्, आफ्नै प्राइभेट जेट चढेर नेपाल जान्छन्, आदि जस्ता कथाहरु नेपाल हुँदा सुनेको हो। तर त्यसैबखत संजोगले भेटिएका एकजना एन.आर.एन फिनल्याण्डका सदस्य आफै काम खोज्दै भौंतारिंदै रहेछन्। पढाई सकिएको रहेनछ, बस्ने ठाउँको पनि टुंगो रहेनछ। उनको कथा पनि सुनिसकेपछि लाग्यो, अहो.… बिजोग रहेछ।
 
विदेश गएपछि त कुनै नेपालीको सम्पर्कमा रहन्न, गुमनाम भएर बस्छु, सकेसम्म धेरै विदेशीको संगत गर्छु भन्ने लाग्थ्यो। असलमा आफ्नो सजातीय गुण निस्कियो। आएकै २ महिनामै दशैं कार्यक्रममा सरिक भएको थिएँ। टिकाको दिन स्काईपमा घरमा टिका लगाएको हेरेर भक्कानिएँ। अनि नेपाली खोज्दै कार्यक्रमस्थल पुगें। मादल ठोकेर झ्याउरे भाका बज्न थालेपछि आफ्नो घर गोरखा छोप्राक पारिपट्टिको गुरुङ गाउँ सालबोटको झल्को आयो,अनि मनलाई आनन्द मिल्यो। पहिलोपल्ट एन.आर.एन लाई धन्यबाद दिएको त्यही बेला थियो, घरै बिर्साउने रमाइलो कार्यक्रम गरेकोमा। 
 
अहिले आँफै एन.आर.एन फिनल्याण्डको केन्द्रीय समितिमा रहेर काम गर्न थालेको ३ बर्ष पुग्यो। समितिमा रहेका सबै पदाधिकारीलाई हेर्छु, कोही पनि नेपालमा बसेर आफूले अन्दाज गरेको पैसावालहरुको क्लबका सदस्यजस्ता लाग्दैनन्। न यिनको भुँडी छ, न पैसा र पावरका ठूला ठूला कुरा गर्छन्, न एक पक्ष र अर्को पक्ष भन्दै मारामारी गर्छन्, न कोषमा लाखौँ पैसा छ। बर्षभरिमा कोषाध्यक्षले बार्षिक आय व्यय सुनाउँछन् र भन्छन् 'एन.आर.एन फिनल्याण्डको कोषमा अब २५० युरो बाँकी छ'। नेपालमा कुनै आर्थिक सहयोग जुटाउन परेमा मात्रै चन्दा संकलन गर्ने प्रावधान छ। त्यही पनि उठाएको केही महिनाभित्रै पठाइसक्नु पर्छ। महिनामा एकपल्ट हुने साधारण मिटिङमा कालो चिया पनि आफै जुटाउनुपर्ने अवस्था आउँछ धेरैपल्ट। नेपालमा बार्षिक सम्मेलन हुँदा, युरोपियन क्षेत्रीय भेलाहरु हुँदा सम्पूर्ण खर्च आफैले ब्योहर्नु पर्ने हुन्छ। तलबबाट खर्च बचाउन सकिन्छ भने सम्मेलनमा भाग लिन जाने, नत्र 'प्राबिधिक कारण' देखाउँदै क्षमायाचना गर्नुको बिकल्प रहँदैन। अधिकांश सदस्य ३०-३५ बर्षका हुनुहुन्छ, एकाध मात्रै ५० आसपासका। रेस्टुरेन्ट ब्यवसाय प्रतिनिधित्व गर्दै केही अनुभवी र खारिएका सदस्यहरु हुनुहुन्छ। पेशागत रुपमा हेर्दा इन्जिनियर, प्रोफेसर, नर्स, निजी कम्पनीका जागिरे र केही स्वतन्त्र ब्यवसायी छन्। नेपालबाट अहिलेसम्म कुनै राजनीतिक दलका नेता निम्त्याइएका छैनन्। कहिँ कतै सहयोग जुटाउन परेको खण्डमा खेलकुद, सांस्कृतिक कार्यक्रम, साहित्यीक जमघट, आदि गरिन्छ र रकम जम्मा गरिन्छ। रमाइलो र समाजसेवा संगसंगै अघि बढ्दैछ।
 
केही वर्षअघि स्पेनको बार्सिलोनामा युरोपियन क्षेत्रीय सम्मेलन थियो। पद र प्रतिष्ठाकै लागि ठूला होटलको बसाई, जम्बो टोलीको सहभागीता र ठूलो रकम दान दिने घोषणा गर्ने चलन रहेछ। केही प्रतिनिधिले कुनामा लगेर सोधे- 'तपार्इहरुको एन.आर.एन कुन पार्टीको हो? हामी अवाक भयौं र भन्यौं- यो पनि कुनै पार्टीको हुन्छ र ? हामी त स्वतन्त्र पेशाकर्मी र ब्यवसायी छौं, राजनीतिको कुरो अहिलेसम्म निस्किएको छैन।' त्यसपछि अनेक पार्टीका अघोषित एजेन्टले संगठन खोल्न लबिङ् गर्न थाले। कसैको अफर स्वीकार नगरेपछि एक प्रतिनिधिले गायत्री मन्त्र कानमा फुकेझैं भने- 'यसरी त एन.आर.एन चल्दैन। राजनीतिक दलसंग आबद्ध हुनुपर्छ, फाइदा लिन जान्नुपर्छ, नत्र तपाइहरुलाई कसैले गन्दैन।' हामी जिल्ल परेर फर्कियौं। 
 
फिनल्याण्डमा एन.आर.एन स्थापना भएको करिब ६ बर्ष भएको छ। थोरै जनसंख्या, बजेट अभाव, समाजसेवामा आउन चाहनेहरु कमीऽ आदि कारणले अमेरिका, बेलायतहरुमा जस्तो अपेक्षाकृत हल्लाखल्ला छैन। हरेक चिजमा ग्ल्यामर चाहिँदो रहेछ, कि त पावर, कि त पैसाको। सहयोग गर्न तम्सिने सहृदयी मनहरुमात्रै बोकेको संस्थाको रंग 'ब्ल्याक एण्ड व्हाइट' हुँदो रहेछ। 'ग्ल्यामर'वालाहरुको चाहीँ रंगीन। त्यसैमाथि आम दाजुभाइहरुले यति ठूलो अपेक्षा राखिदिनुहुन्छ राजदूताबासले गर्न नसक्ने कामहरु पनि एन.आर.एन ले नै गरोस भन्ने सोचिदिनुहुन्छ। देश अनुसार नाफारहित संस्था स्थापना गर्न पाउने भिन्दाभिन्दै स्थानीय नियमहरु हुन्छन्। यसका आफ्नै अधिकार र कानुनी सीमाहरु छन्। कति साथीहरुले बुझेर, कति साथीले नबुझेर सबै संस्थालाई एउटै नराम्रो ट्याग भिराइदिन्छन्। कुनै बेला रमाइलो लाग्छ, कुनै बेला नरमाइलो। आफ्नो कला, संस्कृति र भाषाको न्यास्रो मेटियोस् भनेर बेला बेलामा नेपालका कलाकारहरु निम्त्याइन्छन्। धेरै युवा समेटिने गरी भलिबल, फुटबल, म्याराथन जस्ता खेलकुद प्रतियोगिताहरु हुने गर्दछन्। साहित्यीक  जमघट र हाजिरी जवाफजस्ता कार्यक्रमहरु हुन्छन् जसकराण फरक स्वाद होस्। रमाइलोसंगसंगै उठेको रकमले नेपालमा स्कुल बनेका छन्, अपाङ्गका लागि छात्राबास बनेका छन्, भूकम्पपीडितलाई सहयोग जुटेको छ, बिचल्लीमा परेकालाई घर फर्काइएको छ। तर पनि हामी नेपालीलाई व्यक्तिगत आक्रोश पोख्न र 'फ्रस्टेसन' उतार्न केही न केही चाहिँदो रहेछ। नेपालमा नेतालाई गाली गर्दा मन हलुङ्गो हुन्छ, बिदेशमा एन.आर.एन जस्तो संस्थालाई।
 
धेरै देशबाट समाचार आइरहन्छन्- एन.आर.एनको चुनावमा मारपिट, विवाद, घोटालाको कुरा। देशको घिनलाग्दो राजनीतिबाट आजित भएर, परिवारबाट धेरै टाढा, बडो दु:ख गरेर आर्जेको रकम, अलिकति राम्रो कामका लागि खर्चिन पनि फेरी उही घिनलाग्दो खेलको विधि? यसले एन.आर.एन मात्रै होइन, नेपाल र नेपालीका हितका लागि खोलिएका जुनसुकै सँस्थामा पनि विश्वास राख्ने ठाउँ रहँदैन। ७० भन्दा बढी देशमा फैलिएको ठूलो संस्थाको एउटा सानो इकाईको एउटा कान्छो सदस्य, जो आफ्नो पढाई र कामबाट बचेको समय, पैसा र श्रम खर्चंदै यसमा लागेको छ, केही सीमित व्यक्तिहरुको आचरणले सिङ्गै संस्थाप्रति आम मानिसको बेफ्वाँकको नकरात्मकता देख्दा निको लाग्दोरहेनछ। 

* * * 

[पौष १२ को सेतोपाटी मा प्रकाशित - http://goo.gl/DjMGVp


No comments:

Post a Comment