पोखरा ब्लुज: तुँवालोकि पूर्णिमा



'मिर्मि मुनि काली थुनेको, अन्तै मायाँ लाइछेउ रे मायाँले, साँच्चै हो कि हल्ला सुनेको'… पश्चिमाञ्चल क्याम्पसबाट 'माछापुछ्रे भ्यु-पोइन्ट' पिकनिक जाँदा यहि गीत बारम्बार बजिरह्यो। इलेक्ट्रोनिक्स इञ्जिनियरिङ्को कक्षामा जम्मा जम्मी ३५ जना बिध्यार्थी, त्यसमध्य केटिहरु जम्मा ६ जना। ६ जनामा एउटी विबाहित, एउटीको ब्वाईफ्रेण्ड, एउटी चाहिं केटा देख्यो कि कुटौलाझैँ गर्ने। गाडीमा राम्रो गीत बज्दा यसो राम्री केटितिर फर्केर गाउन पनि थोरै 'अप्सन' बाँकी थियो। बसभरिका जम्मै तोर्पे केटाहरु तिनै बाँकी रहेकातिर फर्केर गला खोलि खोलि गाउने। कसको सुनुन, कसको नसुनुन! जम्मै केटाहरुलाई आफ्नो इम्प्रेसन तिनै तिर देखाउनु छ। कता हेरुन, कता नहेरुन! खैर, यो प्रसङ्ग अहिलेलाई यत्ति। सबै इञ्जिनियरिङ् कलेजको यहि हविगत हो।  
*  *  *
पोखरा पहिलोपल्ट छिर्दा म निरास भएँ। कोत्रे काट्ने बित्तिकै जम्मै बाटो मलाई पोखरा-पोखरा लाग्न थालेको थियो। हरेक मोड काटेपछि 'अब फेवाताल देखिन्छ' भनेर आँखा तन्काउँथें। बसले बिजयपुर खोला तर्यो, तैपनि फेवाताल आएन। पर परसम्म डाँडातिर आँखा लगाएँ, माछापुछ्रे पनि छैन। त्यो दिन तुँवालोले ढाकेको रहेछ। मेरो आँखाभरि टिभीमा देख्ने गरेको फेवाताल र माछापुछ्रे, म स्वयम् पोखरामा पदार्पण गर्दा देखिएनन। तैपनि सबै दृश्य आँखाभरि खिचीरहें। मोबाइल भन्ने आएकै थिएन, रिल-वाला क्यामरा पिकनिक र दशैँमा मात्र हुन्थे। एक जोडी आँखाले खिचिरहें। पोखरा आएपछि त माछापुछ्रे देखिनुपर्ने। अमरसिंह चोक आइपुग्दा सम्म मलाई बिश्वासै लागेन, म पोखरा जाँदै छु भनेर। मैले छेउकै सिटमा रहेको एक मान्छेसंग सोधें- 'दाइ पोखरा आउन अब कति बाँकी छ?'। तिनले हाँस्दै भने- 'खै भाइ, हाम्रो पोखरा त यहि हो, तिम्रो पोखरा कहिले आउँछ कुन्नि'! धन्न अरु कसैले सुनेन त्यो, नत्र मलाई बसभरिका मान्छेले उडाउँथे। कहिल्यै पोखरा जान नपाएर अत्तालिएको मलाई पोखरामा त हरेक दिन फेवातालमा नुहाएर माछापुछ्रेमा लुगा सुकाउँछन् जस्तो लाग्थ्यो।  


भर्ना हुने म्यादको अन्तिम दिनको अन्तिम मिनेटमा मेरो इञ्जिनियरिङ्को पढाई पक्का भएको थियो। 'स्कोलरसिप'मा नाम निस्किए पनि समयमै खबर नहुँदा गोरखा छोप्राकमा मलाई ढिला गरि थाहा भयो। ४ बज्न १० मिनेट बाँकी छँदा प्रशाषन शाखाका सरले बल्लबल्ल फोटो टाँस गरि भर्ना रकम बुझेपछि मैले धेरै लामो सास फेरेको थिएँ। पैसाको जोहो कसरि गरियो, त्यता नजाउँ। बुद्धिसागरको कर्णाली ब्लुज जत्रो अर्को 'भर्ना ब्लुज' बन्छ मेरो। भर्ना गरेर फर्किंदा औध्योगिक क्षेत्रमा रहनुभएका मामाले खल्तीमा ५०-५० का सातवटा नोट हालिदिनु भयो, बाटोखर्च भनेर। त्यति धेरै 'बाटोखर्च' मैले अहिलेसम्म पाएको थिईन। जिन्सको खल्तीभित्रको सानो गहिरो खल्तीको भित्रपट्टि पट्याएर राखें। त्यो दिन, न गाडीको कन्डक्टरसंग भाडामा दोहोरि खेलें, न बाटोमा सबभन्दा सस्तो खाजा रोजें।

त्यसको केहि महिनापछि पातला ओढ्ने ओछ्याउने, केहि थान खेस्रा कापी, राम्रा बलपेन, मनपर्ने गीतका २ वटा चक्का, केहि जोर लुगाकपडा, र अन्य त्यस्तै चिजबिज पोको पारेर दोस्रो पल्ट लामाचौर उत्रिएँ। खुट्टामा सजिला जुत्ता थिए। ‘गोल्डस्टार’ लगाउँदा हेप्छन भनेर, उही मुल्यमा आउने कुनै ब्राण्ड थियो, गोल्डस्टार नलेखेको। इञ्जिनियरिङ् अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस (बोलीचालीको भाषामा डब्लु.आर.सी) को गेटबाट झन्डै पाँच मिनेट भित्र सेती खोलाको डिलनेरै भएको होस्टेल देख्दा सुरुमा त हराउँछु कि जस्तो लाग्यो। पाँचवटा ब्लक थिए, हरेकमा ३ वटा तला, हरेक तलामा २८ वटा कोठा। मान्छे नहुने हो भने त सबै भूतबङ्गला जस्ता देखिन्थे। तर बिद्यार्थीको चहलपहल यति हुन्थ्यो कि २४ सै घण्टा कोहि न कोहि पढाईको प्रेसरले भट्किरहेका हुन्थे। त्यहाँको होस्टेल बसाईको लगभग सबै कथा हिन्दि फिल्म 'थ्री इडियट्स' जस्तै छ। बाथरुमको पालो, पानीको दुख, लुकेर बाल्ने हिटर, कौसीमा चल्ने 'स्टिम इन्जिन', एक्जामको चटारो, साथीहरुको प्रतिस्पर्धा, रिजल्ट आउने दिनको रौनक, केटिको निहुँमा हुने मारमुंग्री, आदि इत्यादि। झण्डै ३ वर्षको होस्टेल बसाई समग्रमा ३ घण्टाको रोमान्चक फिल्मझैं रह्यो।

पि.एन क्याम्पस वा बिन्दबासिनीतिर झरेको दिन बगरबाट धेरैजसो हामी हिंडेरै लामाचौर पुग्थ्यौं। कि त हाम्रो खल्तीमा पैसा हुन्थेन, कि त गाडीको पुरानो खलासीसंग हाम्रो लफडा परिसकेको हुन्थ्यो। के.आइ.सिंह पुल हुँदै उकालोमा लेफ्ट-राइट-लेफ्ट राम्रै चल्थ्यो। ५ रुपैयाँ साधारण भाडामा बिध्यार्थी कार्ड देखाउँदा ३ रुपैयाँ तिर्नुपर्थ्यो। त्यहि ३ रुपैयाँ तिर्दा पनि कार्ड सक्कली/नक्कली छुट्याउँदै र बाझाबाझ गर्दै हामी उपल्लो दीप पुग्थ्यौं। त्यहाँसम्म पुगेपछि हिंडेर क्याम्पस पुग्न धेरै लाग्दैनथ्यो। "साला, भोलि ‘डब्लु.आर.सि’कै बाटो आउँछस होइन, पख टायर बल्छ ह्याँ ह्वारह्वार", यो बाक्य त्यो रुटमा हिंड्ने हरेक जसो गाडीका कन्डक्टरले सुनिसकेका हुन्थे। अरु सबै बेलामा ज्ञानी र 'हल्का पढन्ते' टाईपमा गनिए पनि भाडा तिर्ने बेलामा चाहिँ कलेजका हुल्लडबाजकै ग्यांङ्मा मिसिन्थें। ‘पाखुरा सुर्किने’ दलमा मिसिए पछि ज्ञानी भएर पछाडी उभिए पनि भाडा छुट पाइन्थ्यो।  
*  *  *
पहिलो सेमेस्टर म गाउँबाट पहिलोपल्ट सहर पसेको केटोझैं जिल्ल परेर हराएँ। पढाईमा अब्बल नभए पनि ७५ % कटाएँ, राम्रै बिद्यार्थीमा गनिन्थें। दोस्रो सेमेस्टरमा म पूर्णिमाको साथी भईसकेको थिएँ। कसरि भएँ, मलाई याद छैन। इन्ट्री खासै फिल्मी रहेन। पूर्ण चन्द्र जस्तै उज्याली पूर्णिमाका अक्षर सुन्दर थिए। उसको अनुहार दुरुस्तै अक्षर जस्तै थिए, बान्की परेका। उ सुन्दर थिई। हामी धेरै प्राक्टिकलहरुमा संगै हुन्थ्यौं। ग्रुप् वर्कमा, कक्षामा, पिकनिकमा, क्याफेमा संगै हुन थालेपछि एकाएक 'नोटिस' हुन थालें। पूर्णिमा भन्दा झन्डै दोब्बर हाइटको त्यो लम्बु केटा को हो भनेर अरु डिपार्टमेन्टका केटाहरु गम्भीर 'इन्क्वाइरि'मा लागे। एक्लै दुक्लै बाटो हिंड्दा घुरेर हेर्न थाले। ह्या... मलाई बाल! म उसको कोइ न कोइ। कागलाई बेल पाक्यो, हर्ष न बिस्मात। म वास्ता नगरी हिंड्न थालें।
पूर्णिमा र म मिलेर पुरानो उखानलाई अलिकति मिलायौं। म काग पनि थिईन, उ बेल पनि थिईन।
“हन?”- यो चाहिँ उसको थेगो। “हैन?” भन्न कहिले जानिन।  
उसका र मेरा अक्षर मिल्थे। नपत्याउने गरि दुरुस्तै मिल्थे। गोला गोला सर्लक्क परेका अक्षर कक्षामा सबभन्दा फरक थिए। लेक्चररले एकपल्ट त दुवैजनालाई अफिसकोठामा बोलाएर झाँको झारे- "जाँचमा किन तैले उसको नाम लेखेको? दुबैजनाको उत्तर एउटाले लेख्ने? दुबैको पेपरमा जिरो हाल्दिन्छु"। हामी ट्वाँ पर्यौं। उनकै अगाडी अफिस कोठामा दुवैजनाले लेखेर नदेखाएसम्म मानेनन्। दुवैजनाको अक्षर एउटै ढाँचाका भए। उनको चित्त बुझ्यो।

पूर्णिमा मलाई नयाँनयाँ कुरा सुनाउँथि। साथीहरुका बारेमा, सम्बन्धका बारेमा, उसको परिवारको बारेमा, उसको पोखराको बारेमा। बेलाबेलामा उसको ब्वाईफ्रेण्डको बारेमा पनि सुनाउँथि। म सबै कुरा ज्ञानी भएर सुनिरहन्थें। कहिलेकाहिँ भन्थी- "तँ अरुभन्दा फरक छस"। त्यसो त सबैजना एक अर्का भन्दा फरक हुन्छन। "हैन क्या, तँ अरुभन्दा फरक छस। अहिले बुझ्दैनस, पछि बुझ्छस"। म जिल्ल पर्थें। एउटै उमेर, एउटै पढाई, उस्तै भोगाई, फेरी किन उसले धेरै कुरा थाहा पाई, मैले पाइन?
म पनि पत्रपत्रिकामा झुन्डिने मान्छे। म उसलाई अन्तर्राष्ट्रिय राजनीति, बिज्ञान, माओबादि युद्ध, आदि बारे सुनाउन थालें। अब ज्ञानी भएर सुन्ने पालो उसको थियो। बिशेषगरि गोरखाका प्रसंग उसको लागि नयाँ थिए। अब एक अर्काको लागि सुनाउने नयाँनयाँ बिषय निस्किन थाले। गफ त कहिल्यै नसकिएला जस्तो हुन लाग्यो। पहिलो बर्षको जाँच सकिएपछि जाडो बिदा भयो। सबैजना घर जान तम्सिन थाले। मलाई भने झोला बाँध्ने जाँगरै चलेन। उद्घोषण तालिम सिक्ने भनेर बसें। यता पूर्णिमासंग गफ नै सकिएको छैन, यत्तिकै छोडेर कता जाउँ। फर्केर आउँदा मैले भन्दा धेरै कुरा जानेकी रहिछ भने? बर्बादै हुन्छ। मसंगै होस्टेलका अन्य ५-७ जना साथीहरु पनि सिक्ने भए। हामी हुल बाँधेर हरेक दिन उद्घोषण तालिम दिने ठाउँ न्युरोड पुग्थ्यौं।  
कलेजको बिदा सुरु भयो। तर पूर्णिमा र मेरो व्यस्तता सुरु भयो। हामी दिनभर कलेजमा बिताउन थाल्यौं। कहिले कुनै ल्याबको अगाडी, कहिले कुनै ल्याबको। ३१२ रोपनी क्षेत्रफलमा फैलिएको ठुलो क्याम्पसको महत्व हामीले बल्ल बुझ्यौं। उसले पटकपटक मलाई उसको ब्वाईफ्रेण्डसंग भेटाउँछु भनि। तर त्यो दिन कहिल्यै आएन। उ घरबाट जहिले पनि जाडो महिनामा ‘एक्स्ट्रा कोर्स’ छ भनेर आउँथि। हरेक दिन ट्याक्क १० बजे। म खाना खाएर तयार भएर बस्थें। कलेज परिसरका सबै सिंढी र चौरमा अड्डा जमाएर बसियो। मित्रता- रबरमा बाँधेको डल्लो जस्तो थियो। कहिले एकदम नजिक, कहिले हुत्तिएर कहाँ हो कहाँ टाढा।
धर्म, राजनीति, युद्ध, पढाई, फिल्म, गीत, प्रेम, परिवार, साथीभाइ, लगभग सबै कुरामा बहस हुन्थ्यो। तर अन्त्यमा उ र म एउटै टिममा हुन्थ्यौं, प्रतिपक्षका को हुन्थ्यो, अहिले याद छैन। केहि दिनमा ति सकिएपछि हाम्रो अड्डा बाटुलेचौर बन्यो। त्यहाँ पनि अलि अफ्ठ्यारो लागेपछि हामी कालीखोलाको जिर्ण झोलुङ्गे पुलमा झर्यौं। एउटा चिप्स, दुई वटा चाउचाउ, एउटा कोक लिएर कालीखोला झरेपछि हामी साँझ ४ बज्ने बेलामा उठ्थ्यौं। कुरा सुनेरै महान बन्ने भए बिचका केहि फक्लेटा झरेका त्यो थोते झोलुङ्गे पुल सबैभन्दा ज्ञानी हुन्थ्यो होला। जाडो बिदा सकियो। अहँ, गफ सकिएन।
*  *  *
"…. अन्तै मायाँ लाइछेउ रे मायाँले, साँच्चै हो कि हल्ला सुनेको"।
माछापुछ्रे भ्यु प्वाइन्ट पिकनिक जाँदा बसमा कुन चाहिँलाई औधि मनपरेछ क्यारे, घुमाई घुमाई १७ चोटी बजायो। धेरै जना केटाहरुले भाका मिलाउँदै पूर्णिमा तिरै हात सोझ्याएर आफ्नो कला देखाए। तर उ मलाई पुलुक्क हेर्थी। मैले अरु केटीहरुसंग बोले भनेर उसलाई बेलाबेलामा रिस उठ्थ्यो। आँफुलाई पछिल्लो पल्ट एउटी पहिलो बर्षकि केटीले दिएकी प्रेमपत्र जस्ताको तस्तै पूर्णिमालाई लगेर बुझाएको थिएँ। संगै खोलेर पढ्दै हाँसियो। एकपल्ट झर्किएर भनि- "जस्तो पायो त्यस्तो केटिसंग संगत नगर्नु, तिम्रो लागि केटि म छानिदिन्छु"। मैले ज्ञानी भएर टाउको हल्लाएँ - “हस”।
“छेउको सिटमा आउ न"! नबोलीकनै उसले बोलाई। मैले पनि कसैले नसुन्ने गरि सुनें। धेरै नजिक भएपछि २० हर्ज देखि २० किलोहर्ज बिचको ‘फ्रिक्वेन्सी रेन्ज’नै नचाहिने। हातमा रबर बाँधेर डल्लो घुमाएजस्तो हाम्रो मित्रता, यो बेला खुम्चिएर एकदम नजिक थियो। पिकनिक सार्है रमाइलो रह्यो। धेरैका लागि अविस्मरणिय। त्यो दिनको पिकनिकको कथा आफ्नो ब्याचका साथीहरु अहिले पनि हाल्छन।
एकदिन होस्टेलमा धोएर सुकाएको सर्ट चिसोले नसुकेर साथीको कालो सर्ट लगाएर गएको थिएँ। त्यो दिन पूर्णिमा मेरो प्रशंसा गरेको गर्यै भई। "भोलिपल्ट नि यहि सर्ट लगाउ है, म क्यामरा लिएर आउँछु, तिम्रो फोटो खिचेर म घरमा राख्छु। सधैंलाई सम्झना हुन्छ"। म मक्ख परें। बेलुका आफ्नो सुक्न लागेको सेतो सर्ट फेरी पानीमा भिजाएँ। साथीसंग बहाना बनाएर उही सर्ट ढल्काएर गएँ। तर पूर्णिमाले क्यामरा नै ल्याईनछ। अँझ उसलाई त हिजो भनेको कुरा यादनै रहेनछ। मेरो उत्साहको मिटर जिरोमा झर्यो। मैले केहि प्रसंग नै नझिकी चुपचाप फर्किएँ। उसले फेरी एकपल्ट रबरको डल्लो टाढा हुत्त्याई।

पहिलो सेमेस्टर देखिने मेरो नम्बर बढ्ने क्रममा रह्यो। दोस्रो बर्षदेखि सबै सेमेस्टरमा लगभग ८०% को हाराहारीमा रह्यो। उत्तरार्दतिर पढाईमा मजा आउन थाल्यो। संगैका साथीहरु सार्है मिहेनती र मिलनसार थिए। मित्रता र प्रेम बिचको फरक मार्कशिटले स्पष्ट देखाउँदै थियो। अन्तिम बर्षमा एउटा एफ.एम. मा कार्यक्रम चलाउन थालेको थिएँ। साथीहरु मिलेर आफ्नै पहलमा रोबोट पनि निर्माण गर्न लागेका थियौं। अब उसको र मेरो गफ पनि लगभग सबै सकीइसकेका थिए। कालीखोलाको बुढो झोलुङ्गे पुल खोलाले लग्यो कि के भयो, वास्ता भएन। भविष्यका नयाँ पुलहरु बन्दै थिए। एकदिन महेन्द्रपुलको सस्तो बजारबाट प्लास्टिकका जुन र तारा ल्याएँ। आँफु सुत्ने ठिक मथिल्लोपट्टि टाँसेको थिएँ। बत्ति निभाएपछि पिलिक्क हरियो बलेका जस्ता देखिन्थे। एउटा चन्द्रमा मेरो सिरानी माथितिर बस्यो, भित्ताभरि ताराहरु। मलाई अचम्मसंग रमाइलो लाग्यो।    
पढाई सकिनेबित्तिकै उ आफ्नो ब्वाईफ्रेण्डसंग बिहे गर्ने योजना सुनाउँथि। म त्यो पनि रमाइलै मानेर सुनीरहन्थें। उ आफ्नो नयाँ जीवनको रमाइला योजना सप्रसंग व्याख्या गरिरहन्थी। त्यो पनि ज्ञानी भएर सुनें। साथीसंग माग्न नपरोस भनेर मैले पैसा जोगाएर कालो सर्ट किनेको थिएँ। तर त्यसमा उसको कुनै चासो हुन्नथ्यो। चासो नदेखाएकोमा मेरो गुनासो पनि रहेन। कुनै अपेक्षा नराखिकनै नजिक रहनु काइदाको चिज रहेछ। जतिखेर पनि सजिलै ‘बाई’ भन्न सकिने!  
पोखरा बसाईको अन्तिम दिन झोला मिलाउँदै गर्दा प्लास्टिकका जुन उप्काउन मनलाग्यो, तर अँह, त्यसै छाडीदिएँ। त्यो ठाउँमा म जस्तै अर्को कोहि पुग्दा, त्यहि टिलपिल गर्ने जुन र तारा देखोस। पोखरा छोडेर बिजयपुर खोला तरिसक्दा पहिलोपल्ट पोखरा आउँदाजस्तै तुँवालो थियो। तर त्यसबेला माछापुछ्रे र फेवाताल खोज्न जरुरि रहेन। मलाई थाहा थियो, माछापुछ्रे र फेवाताल कहाँकहाँ बस्छन भनेर।

*  *  *

1 comment: